काठमाण्डौ, फागुन १३, (नागरिक) - भगवान् तिरुपति बालाजीको विवाह महोत्सवको अन्तिम तयारी राजधानीको खुलामञ्चमा पूरा भएको छ। आज दिउँसो १२ बजेबाट सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिँदैछ । वैवाहिक कार्यक्रम बेलुका साढे पाँच बजेबाट हुने जानकारी आयोजकले दिएका छन्। बालाजीको विवाह भूदेवी र श्रीदेवीसँग हुने छ। बालाजीको सुरक्षा व्यवस्था भारतमै डिआइजीको नेतृत्वमा हुने गरेको छ भने प्रशासनिक व्यवस्था आइपिएस अफिसरको नेतृत्वमा मिलाइएको छ। सुरक्षा र प्रशासनिक व्यवस्थामा सँलग्न सबै भारतबाट आएको भए पनि बालाजी नेपालमा विराजमान हुँदासम्म सबै व्यवस्था नेपालले हेरिरहेको एक सुरक्षा अधिकृतले बताए।
तिरुपति बालाजीको विवाह महोत्सवमा भाग लिन हजारौं नेपाली उहीँ पुग्ने भएकाले नेपालमै दर्शन गर्ने व्यवस्था मिलाउन यसरी नेपालमा महोत्सव गर्ने व्यवस्था मिलाइएको जानकारी विवाह महोत्सव समितिका संयोजक उपेन्द्र महतोले दिएका छन्। बालाजीको दैनिक दिव्य पूजा सञ्चालन गर्न बालाजीसँगै पुजारीसमेत नेपाल आएका छन्।
तिरुपति बालाजी संसारमै सबैभन्दा धेरै तीर्थात्रु ओइरिने तीर्थस्थल हो। भारतकै विभिन्न सहरमा सर्वसाधारणका लागि तिरुपति बालाजीको मूर्ति लगिए पनि भारतबाहिर ल्याउन लागिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ। ३० देखि ३५ हजार दर्शनार्थी यो महोत्सवका लागि भेला हुने आयोजकको अनुमान छ।
सर्वसाधारणको दर्शनपछि मूर्ति राति नै भारत फिर्ता पठाइनेछ। निःशुल्क दर्शन गर्न पाइने बालाजी र दर्शनार्थीको सुरक्षाका लागि सबै व्यवस्था मिलाइएको छ। महोत्सवबारे विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारणसमेत गरिने जानकारी आयोजकले दिएका छन्।
यो मन्दिरमा सामान्य अवस्थामा दैनिक ५० हजारभन्दा बढीले दर्शन गर्छन्। दिनकै २ करोड २५ लाख रुपियाँसम्म आम्दानी हुने यो मन्दिरमा चढाइने सुनमात्र वर्षमा ३ हजार किलोग्राम नाघ्छ। यहाँ आउने दर्शनार्थी सबैले चिया, कफी, खाना आदि विना झन्झट निशुल्क खान पाउँछन्। न ठेलमठेल, न घन्टौंको लाइन नै। वृद्ध र एक वर्षभन्दा कम उमेरका लागि त झन् सहज व्यवस्था मिलाइएको छ।