
मनोज अधिकारी, खारापानी, बैशाख २४- अन्नपूर्ण हिमश्रृंखलामा पहिरोले थुनिएको सेती नदी एक्कासी फुटेर आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या १७ पुगेको छ। प्रहरीले आइतबार थप दुई शव फेला परेपछि मृतकको संख्या १७ पुगेको हो।
शनिबार बिहानको भीषण बाढीले बगाएर कास्कीको उत्तरी गाउँ खारापानी बजार, तातोपानी कुण्ड, पिकनिकस्थल र केही घर बगाउँदा १७ जनाको मृत्यु भएको हो। यसबाहेक एक सयभन्दा बढी बेपत्ता भएको स्थानीयले बताएका छन्। प्रहरीले भने बाढीमा बगेर हराउनेको संख्या धेरै भनिए पनि ४७ जनाको विवरण आएको जनाएको छ।
उक्त क्षेत्रमा पिकनिक, तातोपानी कुण्डमा नुहाउन र खारापानी बजारमा माछा खान बाहिरी मानिस धेरै जाने गरेकाले शनिबारको उक्त घटनामा एक सयभन्दा बढी बगेर बेपत्ता भएको केही प्रत्यक्षदर्शीले दावी गरेका छन्। उनीहरुका अनुसार खारापानी वरपर र त्यसभन्दा माथि सेती नदीमा गिटी-बालुवा छान्नेहरु धेरै बाढीले बगेका छन्। बाढीले दुई ट्याक्टर र दुई ट्रक सहित केही मजदुरलाई समेत बगाएको उनीहरुले बताएका छन्।
काम नभएको भन्दै प्रधान मन्त्री भट्टराईले हकारे कास्कीका प्रजिअलाई
मनोज अधिकारी,पोखरा, वैशाख २४- प्रधान मन्त्री बाबुराम भट्टराईले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्दार कार्यमा निर्देशनअनुसार काम नभएको भन्दै कास्कीका प्रजिअ चेतनाथ भट्टराइलाई झपारेका छन्। उनले राहत कार्य प्रभावकारी ढङ्गबाट अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन पनि दिएका छन्।

आइतबार हेलिकोप्टरबाट प्रभावित क्षेत्रको भ्रमणपछि फर्केका प्रधान मन्त्रीले उद्दार कार्यमा परी मृत्यु भएकाका परिवारलाई तत्काल १ लाख रुपियाँ राहतस्वरुप प्रदान गर्ने बताएका छन्। त्यस्तै मृतकको कृयाखर्चका लागि जनही २५ हजार रुपियाँ दिने घोषणा पनि उनले गरेका छन्।
आइतबार बिहान हेलिकोप्टरबाट घटनास्थल पुगेका प्रमले घरवारविहीनलाई २५ हजार रुपियाँ दिने घोषणा गर्नुका साथै घाइतेहरूको निशुल्क उपचारको गर्ने विश्वास दिलाएका छन्।
शनिबार बिहान अन्नपूर्ण हिम शृङ्खलामा गएको पहिरोका कारण सेती नदीमा आएको बाढीले सर्दीखोलाको खारापानी तथा माछापुच्छ्रेको सादलमा ठूलो धनजन क्षति भएको थियो। उक्त घटनामा अहिलेसम्म १३ जनाको मृत्यु हुनुका साथै तीन विदेशीसहित ३६ जना हराइरहेका छन्। जसमध्ये ३१ बेपत्ताको नाम सार्वजनिक गरिएको छ।
पत्नी हिसिया यमी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारसहित घटनास्थल खारापानी पुगेका भट्टराईले उक्त प्राकृतिक विपदाबाट भएको धनजनको क्षतिबारे जानकारी लिएका थिए।
आधा घण्टासम्म आकासबाट निरीक्षण गरेका प्रम हेलिकोप्टरबाट ओर्लेर घटनास्थलमा पैदल घुमेर जानकारी लिएका थिए। उनले हेलिकोप्टरबाट पहिरो गएको अन्नपूर्ण हिमशृङ्खलाको निरीक्षण पनि गरेका थिए।
घटनास्थलबाट फर्केर आएपछि प्रमले पीडित परिवारलाई सम्बोधन गर्नुका साथै राहत र उद्दारमा कमी नहुने आश्वासन दिएका थिए।
प्रमले १८/२० एक्साभेटर ल्याएर पुरिएकालाई तुरुन्त निकाल्न निर्देशन दिएका थिए। बाढीले खानेपानीको पाइप बगाएपछि शनिबारदेखि उक्त क्षेत्रमा खानेपानी वितरण अवरुद्ध हुन पुगेको छ।
बेपत्ताको सूची : बाढीमा परि मृत्यु भएका तथा बेपत्ताको सूची सुरक्षाकर्मीद्वारा सार्वजनिक। 
प्रधानमन्त्री हेलिकप्टरमा बाढी पीडितलाई सम्बोधन गर्न खारापानीमा उत्रँदै।


प्रधानमन्त्री बाढी पीडितको गुनासो सुन्दै।



प्रधानमन्त्री, दाहाल र गच्छदार बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्दै।

प्रधानमन्त्री बाढी पीडितलाई राहत घोषणा सहित सम्बोधन गर्दै। सबै तस्बिर : मनोज अधिकारी
थुनिएको सेती फुट्दा भीषण बाढीकास्कीको माछापुच्छे्र गाविसस्थित अन्नपूर्ण हिमश्रृंखला क्षेत्रमा थुनिएको सेती नदी शनिबार बिहान एक्कासी फुटेर आएको भीषण बाढीले बगाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ पुरुष र ५ महिला छन्। बाढीले बगाएर तीन दर्जनभन्दा बढी बेपत्ता छन्। अन्नपूर्ण हिमश्रृंखलाको करिब ४ हजार ६ सय मिटर उचाइमा केही दिनअघि परेको पानीले त्यस क्षेत्रमा पहिरो गई सेती थुनिएको थियो। विस्तृत समाचार :