मनकारी डाक्टर, जसले तिरिदिए किसानको दुई लाख ऋण
०१ साउन २०७७
•
८ मिनेट पाठ
मनकारी डाक्टर, जसले तिरिदिए किसानको दुई लाख ऋण
डा. केसीले ऋण तिरिदिएपछि खुशी हुँदै कृष्णबहादुर खत्री । दुर्गममा पुगेर बालबालिको चेकजाँच गर्दै डा. केसी ।
आर्थिक वर्षको अन्तिम दिन । वीरेन्द्रनगर–२ का कृष्ण खत्री सहकारी संस्थाबाट लिएको चार लाख ऋण तिर्न नसकेर भौतारिरहेका थिए । सहकारीले पटक–पटक ताकेता गरिरहेपछि उनले आफूसँग रहेका तीन मध्ये एक भैंसी बिक्री गरे । त्यसले पनि सहकारीको ऋण तिर्न पुगेन । ऋण तिर्न नसकेका उनी व्यवसायबाटै पलायन हुने अवस्थामा पुगिसकेका थिए । ‘कि पैसा तिर्नुहोस्, नभए भैंसी लिएर जान्छौं भन्दै सहकारीका मान्छेहरु दैनिक आउँथे,’ कृष्णले भने, ‘चार जनाको परिवार पाल्दै आएको व्यवसायनै छोड्नुपर्ने अवस्थामा पुगिसकेको थिएँ ।’




सहकारी संस्थाको ऋण तिर्न नसकेर व्यवसायबाटै पलायन हुन लागेको थाहा पाएपछि कर्णाली प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसी उनको भैंसी गोठमै पुगेर दुई लाख रुपैयाँ दिए । ‘सम्पत्तीको नाममा यिनै भैंसी हुन्, कोरोना कहरले दूध बिक्री नभएपछि ऋण तिर्न सकिरहेको थिइन,’ खत्रीले भने, ‘डाक्टर’सापले ऋण तिरिदिनुभयो, व्यवसायले निरन्तरता पाउने भयो ।’

डा. नवराज केसीलाई बाल रोग विशेषज्ञका रुपमा भन्दापनि कर्णालीबासीले समाजसेवीका रुपमा बढी चिन्छन् । यो वर्ष कर्णाली प्रदेश सरकारले प्रदेशमा कार्यरत चिकित्सकहरुलाई ‘दुर्गम विशेष भत्ता’को व्यवस्था गरेको थियो । उनले सरकारबाट प्राप्त दुर्गम भत्ताले कृष्णको ऋण तिरिदिए । ‘कर्णाली मेरो लागि दुर्गम वा सुगम होइन, मेरो घर हो,’ डा. केसीले भने, ‘त्यसैले प्रदेश सरकारले दिएको ‘दुर्गम विशेष भत्ता’ लिन अलिकति गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिँदै कृषक कृष्णबहादुरको ऋण तिरिदिएँ ।’

लाखौं रुपैयाँ खर्च गरेर डाक्टर पढेकाहरु सकेसम्म दुर्गममा सेवा गर्न चाहँदैनन् । विकट भूगोलमा गएर सेवा गर्नुभन्दा उनीहरु सुगममै रमाउँछन् । समाजमा केही यस्ता डाक्टरहरु पनि छन्, जो सुगमको सुखसयल र अवसर छोडेर दुर्गममा सेवा गर्छन् । आफूले पाउने पारिश्रमिक सामाजिक सेवामा खर्चिन्छन् । आलाले विरामी मात्रै जाँच्दैनन्, बेल्चा र झाडुले समाजको दुर्गन्ध पनि सफा गर्छन् । तिनै मध्येका एक हुन्, डा. केसी ।

कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञका रुपमा कार्यरत डा. केसीले फिलिपिन्सबाट एमडी पूरा गरेका छन् । उनका लागि स्वदेशका सुगम क्षेत्र मात्रै होइन, विदेशमा पनि रोजगारीका ढोकाहरु खुल्लै थिए । उनले आफ्नै क्षेत्रमा सेवा गर्ने निधो गरे र छ वर्षअघि सुर्खेत आइपुगे । डा. केसीले छोटो समयमै चिकित्सा क्षेत्रसँगै सामाजिक अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । बालरोग विशेषज्ञ डा. केसी पछिल्लो समय सामाजिक अभियन्ताका रुपमा बढी परिचित छन् ।  

सुर्खेत आएको छोटो समयमै उनले विभिन्न सामाजिक अभियानहरु सञ्चालन गरे । देशकै दुर्गम प्रदेश कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेर निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरे । प्रदेश राजधानीलाई स्वच्छ र हरियाली बनाउनका लागि ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान चलाएका छन् । आफ्नो मासिक तलवमार्फत बाल स्वास्थ्य सुधारका लागि विङ्स फाउन्डेसनमार्फत अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार गराउँछन् ।

‘एउटा चिकित्सकले व्यक्तिमा लागेको रोगको पहिचान गरेर निदान गर्नु ठूलो कुरा होइन, समग्र समाजभित्रको रोगको पहिचान गरेर निदान गर्नु महत्वपूर्ण कुरा हो’ डा. केसी भन्छन्, ‘त्यहीँ सोच र भावनाका कारण आफ्नै ठाउँमा आएर चिकित्सकीय सेवाका साथै सामाजिक काममा सक्रिय छु ।’  

विङ्स फाउण्डेशनमार्फत उनी सामाजिक काममा सक्रिय छन् । यो नितान्त स्वयम्सेवी संस्था हो । डा. केसीले मासिक तलव फाउण्डेशनमा जम्मा गर्छन् । त्यसैमार्फत अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार, विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर, सरसफाई अभियान र अन्य सामाजिक कार्य गर्छन् । पछिल्लो समय फाउन्डेसनमा समाजसेवाको भावना भएका स्वास्थ्यकर्मी र अन्य पेसाकर्मीले पनि आफ्नोे आम्दानीको निश्चित रकम जम्मा गर्ने गरेका छन् । ‘मैले स्वास्थ्य सेवालाई जागिरका रुपमा कहिल्यै लिइँन, यसलाई सामाजिक सेवा र धर्मका रुपमा लिएर काम गरिरहेको छु,’ डा. केसीले भने, ‘त्यसैले जागिरबाट पाउने पुरै तलव फाउण्डेशनमा जम्मा गरेर सेवामा खर्चिने गर्छु ।’ डा. केसी सुर्खेत आएको छ वर्ष भयो । यो अवधिमा कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लामा पुगेर ५४ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । निःशुल्क औषधि वितरण गरेका छन् । उनी गाउँमा उपचार हुन नसक्ने विरामीहरुलाई सुगमका अस्पतालमा पु¥याएर पनि सेवा दिन्छन् ।

फाउण्डेशनमार्फत उनले वीरेन्द्रनगरमा अपाङ्गता भएका बालबालिकाका लागि पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएका छन् । हिँडडुल गर्न नसक्ने र विशेष क्षमता भएका बालबालिकाहरुको यहाँ निःशुल्क उपचार हुन्छ । ‘आफनो  बच्चा स्वस्थ, तन्दुरुस्त होस् भन्ने चाहना सबै अभिभावकको हुन्छ,’ उनले भने, ‘विभिन्न कारणले उमेर पुगेर पनि हिँडडुल गर्न नसक्ने त्यस्ता बालबालिकाको निःशुल्क उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको हुँ ।’  

चार वर्षअघि स्थापित केन्द्रबाट हालसम्म पाँच सय भन्दा धेरै बालबालिकाले निःशुल्क उपचार पाएका छन् । पुनःस्थापना केन्द्रमा हिँडडुल गर्न नसक्ने बालबालिकाका लागि विभिन्न उपकरणमार्फत अभ्यास गराउने, आवश्यक परेको खण्डमा औषधि दिने गरिन्छ । शारिरिक अपाङ्गता भएका यस्ता बालबालिकाका आमाहरुमा इन्जाइटिस र डिप्रेसनको समस्या देखिन्छ । उपचारपछि भने त्यस्ता आमाहरु सन्तानसँगै खुशी बोकेर घर फर्किने गरेको उनले बताए ।  

डा. केसी दैनिक दुई सयको हाराहारीमा बालबालिकाको चेकजाँच गर्छन् । ‘उपचारका लागि आउने बालबालिकाको अनुहार हेर्दा थकान मेटिन्छ,’ डा. केसी भन्छन्, ‘अझ उपचारपछि सन्चो भएर घर फर्किँदा पाइने खुशीको सीमा रहँदैन् ।’ कर्णालीमा कुपोषणको समस्या धेरै छ । एमडी पूरा गरेपछि उनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल) पुगेका थिए । अस्पतालको अवस्था दयनीय थियो । बालरोग विशेषज्ञ थिएनन् । अस्पतालको दूरावस्था देखिपछि उनले आफ्नै जिल्लामा बस्ने निर्णय गरे । ‘गाउँका दुर्गम क्षेत्रबाट आउने विपन्न जनताको उपचार गर्ने अवसर प्राप्त हुने भएकोले आफ्नै ठाउँको अस्पताल रोजेको हुँ,’ उनले भन, ‘अहिले जे गरिरहेको छु, जुन किसिमको माया पाइरहेको छु, त्यसमा पूर्णतया सन्तुष्ट छु ।’

दुई वर्षअघि वीरेन्द्रनगरका एक बयस्कको काठमाडौंको निधन भयो । उनको ब्लड कल्चर टेष्ट गर्दा किटाणुको संक्रमण देखियो । ‘यो नालीमा जमेको फोहरबाट लाग्ने रोग थियो,’ उनले भने, ‘त्यसपछि व्यक्तिको उपचार गरेर मात्रै नहुने देखिएपछि ‘ग्रिन सुर्खेत, क्लिन सुर्खेत’ अभियानको सुरुवात गरिएको हो ।’ सुर्खेतलगायतका बजार क्षेत्रका नालीहरुमा अस्पतालदेखि क्लिनिकको फोहर जम्मा हुन्छ । डा. केसीका अनुसार फोहर व्यवस्थापन गर्न सकेको खण्डमा मात्रै ५० देखि ६० प्रतिशत रोगलाई व्यवस्थापन गर्न सकिन्छ । फाउन्डेसनले वीरेन्द्रनगरमा चेतनामूलक सरसफाई कार्यक्रम गर्नुका साथै ठाउँठाउँमा फोहोर राख्ने भाँडा (डस्टबिन) र पार्क निर्माण गर्ने गरेको छ । डा. केसीले प्रत्येक शनिबार वीरेन्द्रनगरमा सरसफाई अभियान सञ्चालन गर्छन् । उनी आफै बेल्चाले नालीभित्रको फोहर उठाउँछन् । झाडुले सडक र चोकहरु सफा गर्छन् । फोहर थुप्रिएको ठाउँमा पार्कहरु निर्माण गर्छन् । उनकै अगुवाईमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले सरसफाईमा ठूलो फड्को मारेको छ ।

स्थानीय सरकार अहिले उनको अभियानमा जोडिएको छ । ‘गरे नहुने केही छैन्,’ डा. केसी भन्छन्, ‘पहिले फोहर थुपारिने ठाउँहरु अहिले सुन्दर बगैचामा परिणत भएका छन्, अभियानमा दिनदिनै विभिन्न सामाजिक संघ–संस्था मात्रै होइन्, स्थानीय र प्रदेश सरकार पनि जोडिएका छन् ।’ विरामीको सेवामा लाग्नुपर्ने चिकित्सक हातमा झाडु र बेल्चा बोकेर सडक र नाली सफा गर्न निस्केपछि आफूहरुलाई पनि जिम्मेवारीप्रति बोध गराएको उनीहरु बताउँछन् । यो अभियान अहिले कोरोना संक्रमणका कारण रोखिएको छ ।  

केसी सामाजिक सेवाका लाग्नुको प्रेरणा भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामलाई मान्छन् । ‘तिमी जिन्दगीभर जागिर खानकै पछि लाग्यौ भने जीवन सफल हुँदैन, अरुलाई जागिर दिन सक्षम भयौ भने त्यो सफलता हो,’ कलामको यही आदर्शबाट डा. केसी प्रभावित छन् । डाक्टर केसीले एमविविएसको अध्ययन सकाएका थिए । दीक्षान्त समारोहमा भारतका पूर्व राष्ट्रपति कलाम आइपुगे । त्यहाँ उनले व्यक्त गरेका विचारबाट उनी धेरै प्रभावित भए ।

समाजसेवी डाक्टरको पहिचान बनाएका केसीको चाहना भने संगीतकार बन्ने थियो । उनले आफ्नो सपनाको बाटो हिँड्न पाएनन् । ‘बुवाले डाक्टर बनेर दुर्गमका विरामीको सेवा गर्नुपर्छ भन्नुभयो’ उनले भने, ‘बुवाको चाहना पूरा गर्न आफ्नो सपनालाई मनमै राखेँ ।’ डाक्टर भइसकेपछि भने उनले सपनालाई साकार पारे । २०६५ सालमा उनले ‘अंगाली देउ’ नामको एल्वम बजारमा ल्याए । आफैले रचना तथा संगीत भरेको एल्वमबाट भएको आम्दानी उनले त्यतिबेलाका द्वन्द्वपीडित बालबालिकाको पढाईमा खर्चिएका थिए । थोरै भएपनि अधुरो संगीतको यात्रालाई पूरा गरेको उनी बताउँछन् । उनी चिकित्सकीय र सामाजिक सेवाबाट बचेको समय अहिले पनि गीत सृजना र संगीत भर्नमै व्यस्त हुन्छन् ।  

अबको लक्ष्य
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतबाट २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका उनले ललितपुरको निष्ट कलेजमा आइएस्सी अध्ययन गरे । बाँकेको कोहलपुरबाट आंशिक छात्रवृत्तिमा एमबीवीएस पूरा गरेका डा. केसीले फिलिपिन्स सरकारको छात्रवृत्तीमा नेशनल चिल्ड्रेन अस्पतालबाट एमडी गरे । डा. केसीको अवको लक्ष्य कर्णाली प्रदेशमा बालबालिका र महिलाका लागि विशेषज्ञ सेवासहितको अस्पतालका साथै अपाङ्गता भएका वालवालिकाहरुका लागि विद्यालय सञ्चालनमा ल्याउने हो । ‘राज्यले स्वास्थ्यमा लगानी गर्नुपर्छ भन्ने मेरो मान्यता हो, सरकारी स्तरबाटै बालबालिका र महिलाका लागि छुट्टै विशेषज्ञ सेवासहितको अस्पताल कर्णालीमा आवश्यक छ’ उनले भने, ‘राज्यका तर्फबाट नभए आफै अस्पताल सञ्चालन गर्ने तयारीमा छु ।’  

उनले कर्णालीमा बालबालिकाको स्वास्थ्य समस्या अधिक रहेको देखेका छन् । ‘कर्णालीका १० मध्ये आठ जिल्लामा पुगेको छु, यहाँका अपाङ्गता भएका बालबालिकाको उपचारमा धेरै समस्या देखें’ उनले भने, ‘त्यसैले उनीहरुको पुनःस्थापना र उपचारका लागि काम गर्ने तयारीमा छु ।’ डा. केसीका अनुसार पुन:स्थापना केन्द्रमार्फत उपचार र अर्थोटिक्स सेवा दिइने छ । कर्णाली प्रदेश पर्यापरणीय जोखिममा छ । अहिले साना बालबालिकामै दमको समस्या देखिएको छ । यसका लागि कर्णालीका विद्यालयहरुमा इको क्लव गठन गर्ने तयारी उनको छ । 
अर्को समाचार
सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण
०१ फागुन २०७९
•
२ मिनेट पाठ
सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा ५६ अर्ब ४६ करोड ऋण उठाएको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन्।




अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ।

चालु आवका लागि सरकारले दुई खर्ब ५६ अर्ब बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो। जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो। तर गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब बराबर मात्रै आन्तरिक ऋण उठाएको छ। यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये १५ अर्बको एक वर्षे ट्रेजरी बिल, आठ अर्बको दुई वर्षे विकास ऋणपत्र, दुई अर्बको तीनवर्षे विकास ऋणपत्र र पाँच अर्बको चारवर्षे ऋणपत्र जारी भएका छन्। सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने ८३ अर्ब तीन करोड बराबर छ।

चालु आवका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर अनुदान र दुई खर्ब ४२ अर्ब बराबर बाह्य ऋण लिने सरकारको योजना थियो।

गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने आठ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड बराबर छ। तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ  एक खर्ब १४ अर्ब बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ।

'कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वनयमा सुस्तता आई पुँजीगत खर्च न्यून हुन गएकाले त्यसको प्रभाव विकास साझेदारले गर्ने सोझै भर्ना तथा शोधभर्ना रकममा पर्न गएको रसमीक्षा अवधिमा वैदेशिक सहायता परिचालन न्यून भएको हो', बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ।

चालु आवको पहिलो तीन महिनासम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड बराबर छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो तीन महिनाको प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको देखिन्छ। गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड थियो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो तीन महिनामा नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ। यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण  २९ अर्ब ८३ करोडले घटेको हो।रासस
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस