राजबिराज नगरपालिकाका कोरोना संक्रमित संदेश गजेन्द्रनारायण सिंह अस्पताल अन्तर्गतको साईकृष्ण आइसोलेसन केन्द्रमा भर्ना भएको चार दिन भएको छ । उनी मंगलबार यस केन्द्रमा अर्का साथीसहित भर्ना भएका हुन । भर्ना भएकै दिनदेखि उनी आइसोलेसन केन्द्रको बेहाल अवस्था सहन नसकेर सरकार खोज्दै छन् । तर, उनी सरकार भेट्न सकेका छैनन् ।
साउन १२ गत्ते प्रदेश सरकार(मुख्यमन्त्रीसहित) राजबिराजमा घण्टौ बिताएर अस्थाय मुख्यालय जनकपुरधाम फर्के । कोरोना संक्रमितको उपचारको अवस्था बुझ्न सामाजिक विकास मन्त्रीलाई साथमा लिएर आएका मुख्य मन्त्री लालबाबु राउतले उपचारमा कुनै कसर बाकी नराख्ने दोहाेर्याए । उनी उपचार अस्पतालको अवस्था पनि अवलोकन गर्न भ्याए । तर, संदेशको सन्देशमा उनले नजर दौडाउन भ्याएनन् । फलतः उनी आफ्नो अनुहार मास्कले छोपेर प्रदेशकै सबैभन्दा ठूलो आइसोलेसन केन्द्रको दर्दनाक भोगाई सार्वजनिक गर्न बाध्य भएका छन् । सामाजिक संजालमा यो सम्वाददाताले उनलाई पछ्याउँदै आइसोलेसन केन्द्रसम्म पुग्दा आइसोलेसनमा नभई ‘खोर’ मा मान्छेलाई खादेर राखेको पाइयो ।
जस्तापाताले छाएको खण्डहर जस्तो भवनमा लहरै बेड लगाइएको छ । बेडमाथि म्याट्रेस, तकिया र पातलो ओड्ने राखिएको छ । बेडमुनी डस्टबीन राखिएको छ । तीन वटा बल्कमा करिब डेढ सय जना आटिनेगरी बेड राखिएको छ । प्रत्येक बल्कमा ८/८ वटा शौचालय र स्नान घर छ । खानेपानीका लागि पनि समस्या खेप्नु परेको छ । बेड र सफाई छैन । आइसोलेसन कक्ष भित्र छिर्दा फोहर छरपस्टै हेर्न सकिन्छ । डस्टबीनको फोहोर फाल्ने व्यवस्थीत स्थान छैन । कक्ष बाहिरको प्रवेशद्वारमा फोहोर छरपस्ट देखिन्छ । नामका लागि २४ वटा शौलाचलय र स्नान घर भएपछि प्रयोग गर्न लायक एउटै छैन । कति फोहोरले जाम भैसकेका त कित फोहोर पानी निकास नहुँदा भरिएका छन । मुस्किलले छ वटा शौचालयमा जसोतसो डेढ सय जना पालैपालो शौच गर्छन् ।
सन्देश भन्छन्,‘चार दिनदेखि घरबाटै खानादेखि पानीसम्म मगाएर बसेको छु । यहाँ चिया दिन्छ त्यो पनि चिसो । पानी दिन्छ त्यो पनि चिसो । ‘यहाँ कोरोना निको हुन भर्ना भएको हुँ कि अर्को संक्रमण थप्न’ उनले नागरिकन्यूजसँग भने,‘बरु बाहिर सेफ, यहाँ अनसेफ अनुभूति भैरहेको छ ।’ ‘पहुँचबालालाई होम आइसोलेसन पहुँच नहुने भारतबाट मजदूरी गरेर फर्केकाहरुलाई आइसोलेसन नामको खोरमा कैद गरिएको छ’ उनी भन्छन,‘खोरलाई बिरामी बस्ने लायक बनाइयोस सरकार । यहाँ डरले कोहि बोल्दैनन्, सबै घर जाने दिन गनेर बसेका छन् ।’ यहाँको बेहाल यथार्थ बयान गर्दा अझ बढी दिन बस्नुपर्ने पो हो कि भने डरले कष्ट सहेरै भएपनि संक्रमितहरु बसिरहेको उनले बताए ।
राजबिराजकै क्याम्पसमा स्नातक अध्यनरत्त सन्देशसहित दश जना काठमाडौं जान पिसिआर परीक्षणका लागि स्वाब संकलन गराएका थिए । सोमबार साँझ उनीहरुमध्ये दुई जनामा परीक्षण रिपोटअनुसार कोरोना पोजेटिभ पुष्टि भयो । सोमबार साँझ नै उनीहरु भर्ना हुन आईसोलेसन केन्द्र आए । तर, त्यो दिन उनीहरुलाई भर्ना लिएनन् । हामी फर्केर गयौं उनले भने,‘मंगलबार दिउँसो एम्बुलेन्स चढेर हामी आइसोलेसन केन्द्रमा भर्ना हुन आयौं । बेडमा ओछ्याउन दिएको तन्ना हेर्दै फोहोर थियो । हामी लिन मानेनौ । घरबाटै मगायौं ।’ आइसोलेसन केन्द्र त क्वारेन्टिन भन्दा सुविधायुक्त होला भनेर उनीहरु हौसिदै भित्र प्रवेश गरे । तर, कोठामा पुग्दा चारैतिर फोहोरै फोहोर थियो । ‘शौचालय थियो, फोहोर पानीले भरिएको थियो, उनले भने,‘कोरोना भाइरस भन्दा पहिला अर्को संक्रमणबाट मरिएला जस्तो लाग्न थाल्यो ।’ ‘भित्रको बेहाल अवस्था छ, हामी थुनिएका छौं, उनले भने‘ कसलाई कसरी गुहार्ने ।’
‘न ज्वारो आएको छ न सास फेर्न गाह्रो भएको छ’ उनले भने,‘कोराेना भाइरस पोजेटिभ भएपछि आफैं आएर थुनिदिएका छौं । हात धुने ठाउँमा फोहोरै फोहोर छ । कोठाभरी लामखुट्टेको प्रकोप छ उनले गुनासो पोखे ,‘यहाँ कोरोनाले भन्दा पनि अव्यवस्थाले मरिन्छ जस्तो लाग्छ ।’ डाक्टर हेर्न पनि आउँदैनन् । सबै जना रोएर बसेका छन् ।’
सन्देशलाई कोरोना संक्रमण भएको पत्याउन गाह्रो भैरहेको छ । रुघा, खोकी, ज्वरो सास फेर्न गाह्रो लगायतका अन्य लक्षण नदेखिएका उनी आफू संक्रमित र सँगै बस्ने ८ जना साथी नेगेटिभ कसरी भयो ? प्रश्नले अत्याएको छ । उनको मनोबल बढउने परामर्श कसैले दिएको छैन । चार दिनदेखि कोही भेट्न पनि आएका छैनन् । ‘डाक्टर, जनप्रतिनिधि, क्वारेन्टिनका कर्मचारी कोहि पनि हाम्रो डर दूर गर्ने बचन दिएनन् ’उनले भने ‘हामी सबै जनालाई यहाँको बेहाल अवस्थाले डराएको छ ।’ हाम्रो परिवारका सदस्य अतालिएका छन् । हामीजस्ता बेसाहारा संक्रमितले डाक्टरको अनुहार पनि हेर्न नपाइने भयो, उनी बाध्यता सुनाए ।’
‘१ सय ७८ बेड क्षमता भएको आइसोलेसन केन्द्रमा तीन सय जनासम्म राख्दा कसैले कहिल्यै गुनासो गरेनन्’ गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका निमित प्रमुख डा. रन्जीत झाले भने,‘अहिले राजबिराजका दुई चार जना उपदरबी(बदमास)हरु आएर झुठ प्रचार गर्दैछन् । आइसोलेसन केन्द्रमा शौचालयको समस्या उनले स्वीकारे ।’ सरसफाईका लागि कुचो, झारु, फोहोर राख्ने भाडो सबै व्यवस्था गरिदिएका छौं उनले भने,‘बदमासहरु फोहोर व्यवस्थापन होइन छरेर बदनामी फैलाउँदैछन् ।’ लक्षण नै नभएका संक्रमितसँग डाक्टर के सोध्ने उनले भने,‘कसैलाई लक्षण नै छैन भने औषधि पनि दिने कुरा हुँदैन ।
तातो पानी खाएपछि कोरोना निको हुन्छ भनेर कसले उडाइदिएछन् उनीहरु तातो पानी मागेर हैरान बनाएका छन् । खानामा यो चाहियो त्यो परिकार चाहियो भन्छन् उनले भने,‘हामीले होटल संचालन गरेको त होइन नि, अर्डरअनुसारको खाना दिने कुरा आउदैन ।’
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।