कोरोना भाइरस संक्रमित तीन जना पुरुषको मृत्यु भएको छ। मोरङको विराटनगरका २ जनासहित रतुवामाईका १ पुरुष संक्रमितको मृत्यु भएको हो।
कोरोना भाइरस पुष्टि भएपछि अस्पतालले डिस्चार्ज गरिदिएका रतुवामाईका १ पुरुषको बिहीबार साँझ ७ः४० बजे घर नपुग्दै बाटोमा मृत्यु भएको छ।
विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल)ले बिहीबार डिस्चार्ज दिएपछि घर लैजाँदै गर्दा रतुवामाई–७ सिजुवाका ४८ वर्षीय पुरुषको बीच बाटैमा मृत्यु भएको रतुवामाई नगरपालिकाका मेयर रविन राईले बताए। बुधबार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि पुरुषलाई उपचारका लागि नर्सिङ होममा भर्ना गरिएको परिवारले जनाएको छ।
‘मृतक पुरुषको पिसिआर परीक्षणको रिपोर्ट बिहीबार बिहान नै पोजेटिभ आएको रहेछ,’ मेयर राईले भने, ‘कोरोना पुष्टि भएकालाई उपचार गर्दा ठीक नहुने भन्दै घर लैजान अनुमति दिनु अस्पतालको गम्भीर लापरबाही हो।’ ‘मृतक पुरुषको दुवै मिर्गौलाले काम गर्न छाडेको, मधुमेह र दमको पुरानै समस्या रहेको तथा भेन्टिलेटरमा राखेर उपचार भइरहँदा अस्पतालले डिस्चार्ज गरिदिए छ,’ मेयर राईले भने, ‘संक्रमित पुरुषको घरमा शव हेर्न ठूलो भीड जम्मा भएपछि मात्रै रिपोर्ट पोजिटभ आएको सबैले थाहा पायौं।’
परिवारका अन्य सदस्य र मृतकको शव हेर्न घरमा पुगेका मानिसमा संक्रमण फैलनसक्ने सम्भावना भएकाले बजार क्षेत्र असुरक्षित भयो। ‘यसरी अस्पतालले संक्रमितलाई घर पठाएर अरुमा संक्रमण फैलिनसक्ने सम्भावना भएकाले बजार क्षेत्र र परिवार नै असुरक्षित हुनुमा अस्पताल जिम्मेवार रहेको छ,’ मेयर राईले भने। मृतकका एक आफन्तले भने उपचार ठीक नहुनेभन्दै अस्पतालले डिस्चार्ज दिएपछि घर ल्याउन बाध्य भयौं। ‘साँझ ६ बजेतिर अस्पतालले बिरामी जिम्मा दिँदै लैजानुस् भन्यो,’ उनले भने, ‘घर ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भयो।’
‘बिरामीकै आफन्तले जबरजस्ती डिस्चार्ज गरिदिन भनेपछि डिस्चार्ज गरेका हौं,’ अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीले भने, ‘विराट शिक्षण अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गरिएको र बिरामीलाई अस्पतालबाट लगेपछि कोरोनाको रिपोर्ट पोजेटिभ आयो। संक्रमित पुष्टि भएपछि बिरामीलाई घर जान नदिई थप उपचारका लागि कोभिड अस्पताल लैजाने गरेका छौं।’ इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार संक्रमितको घरलाई सिल गर्दै शव व्यवस्थापनका लागि सेनालाई जिम्मा दिइने छ।
त्यस्तै विराटनगर–१० का ५१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ। असोज २० गते रिपोर्ट पोजेटिभ आए पनि २३ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए। मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको आचार्यले बताए।
त्यसैगरी, विराटनगर–३ का ६५ वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ। बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको र श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रबन्धक नारायण दाहालले जानकारी दिए। मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ।
३० असोज २०७७
•
२ मिनेट पाठ