३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जाडोमा पनि खालीखुट्टा विद्यालय जान बाध्य चेपाङ बालबालिका

तनहुँको व्यास नगरपालिका-९ बडहरेमा बस्दै आएका बालबालिका मंसिरको जाडोमा खालीखुट्टा विद्यालय जान बाध्य छन्।  

चितवनको काउलेबाट बसाइसराई गरि गत फागुनमा व्यास ९ बडहरेमा परिवारसंगै बस्दै आएका बालबालिकाहरु जाडोमा काप्दै विद्यालय जाने गरेका छन्। बडहरेमा ५ परिवार चेपाङ समुदाय गत फागुनमा आएको व्यास ९ का स्थानीय बावुराम खनालले जानकारी दिए। ‘५ परिवारका ११ जना बालबालिका विद्यालय जाने उमेरका छन् तर परिवारसंग जुत्ता लत्ताकपडा किन्दिने पैसा नुहँदा काप्दै खालीखुट्टा विद्यालय जानुपर्ने बाध्यता छ,’ उनले भने।  

काम पाउने आशामा काउलेबाट बसाइसरी बडहरे आएको धनमाया चेपाङले बताइन्। ‘कोभिडका कारण काम पाउन सकिएन, विहान काम गर्‍यो बेलुका के खाउँ भन्ने समस्या छ,’ उनले भने। बालबालिकालाई चिसो मौसममा चप्पल किन्दिने पैसा नभएर खाली खुट्टा विद्यालय जानुपरेको चेपाङको भनाइ छ। बालबालिका मात्रै नभई उनीहरुका बुबाआमा पनि सुइटर, पछौराविहीन बनेका छन्।  

व्यास ९ को लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक रमेशचन्द्र आचार्यले चेपाङ बालबालिकालाई विद्यालयको आम्दानी नभएको कारणले पोशाक दिन नसकिएको बताए। ‘अहिले विद्यालयमा दुई जना शिक्षकलाई निजी स्रोतमा राखेर विद्यालयले तलव खुवाउँदै आएको छ,’ उनले भने। स्थानीय स्रोतमा शिक्षक पाल्नुपरेको कारण बालबालिकालाई सहयोग गर्न समेत नसकिएको प्रधानाध्यापक आर्चायको भनाइ छ।  

पाँच परिवारका ११ जना बालबालिका लक्ष्मी आधारभूत विद्यालयमा पढ्दै आएका छन्। खुट्टामा चप्पल हुदैन, विद्यालय पोशाक सुइटर पाउन त परकै कुरा भएको कलेस्ती संरक्षण अभियानका संयोजक बावुराम खनालले जानकारी दिए।

चितवनको काउलेबाट तनहुँमा काम पाइन्छ भनेर आएपनि कोरोनाको असरले समस्या भएको पवित्रा चेपाङले बताइन्। ‘काम गरेर खाने भएपनि कोरोनाका कारण काम पाउन समेत मुस्किल भएको कारणले केटाकेटीलाई कपडा समेत किन्न सकेको छैन,’ उनले भनिन्। २४ वर्षीय पवित्रा चेपाङका दुई छोरा छन्। जाडोमा कपडा नभएको कारणले विद्यालय पठाउन समेत समस्या भएको उनको भनाइ छ।  

कोरोनाका कारण काम पाउन समेत समस्या भएको कारणले बाहिर काम पाउन मुस्किल भएको कारणले परिवार चलाउन समस्या भएको उनले बताइन्। कसैले सहयोग गरिदिए जाडो कटाउन सहज हुने चेपाङको भनाइ छ।

प्रकाशित: १५ मंसिर २०७७ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App