२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पुल उद्घाटन प्रतिष्ठाको विषय

तनहुँमा विहीबार पुल उद्घाटन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिरः श्रीहरि पौडेल/नागरिक

यतिबेलातनहुँमा एउटा मोटरेवल पुल उद्घाटनको विषयले सबैतिर चर्चा पाएको छ। केही समय अघि निर्माण सम्पन्न भएको उक्त पुल कुन दलको को नेताबाट उद्घाटन गराउने भनेर दलहरुले हत्ते नै हाले। आ–आफ्ना नेताबाट पुल उद्घाटन गराउनुलाई कांग्रेस र नेकपाले प्रतिष्ठाको विषय सम्झिए।  

सदरमुकाम दमौलीस्थित ब्यास नगरपालिका–१ लाई वडानम्बर १० र १० सँग जोड्नेगरि तालघरेको बुल्दीखोलामाथिको उक्त मोटरेवल पुल कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलबाट गराउन चाहन्थ्यो भने नेकपाले आफ्ना निर्वाचित सांसद वा मन्त्री झिकाएर उक्त पुलको उद्घाटन गराउन चाहन्थ्यो। दुवै दलले पुल उद्घाटन आफ्ना नेताबाट गराएर राजनीतिक पहुँच र विकासको हिस्सा ओगट्दै जस लिन चाहेका थिए।  

विकासमा ‘जस’ लिन दुवै दल एकअर्काप्रति आक्रोशित हुँदै विरोधमा उत्रिए। विरोधले यतिसम्म उग्र रुप लियो की बुधबार पुल उद्घाटन गर्न भनेर गएका कांग्रेसका वरिष्ठ नेता पौडेललाई अवरोध नै गरियो। नेकपा र कांग्रेसबीच झडपको अवस्था आउने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले ६ घण्टासम्म दमौली क्षेत्रमा निषेधाज्ञा नै लगायो। निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले धरपकड गर्दै तीनघण्टासम्म नियन्त्रणमा राख्यो। पौडेललाई नियन्त्रणमा लिएको विरोधमा कांग्रेसले उत्ति नै बेला देशभर विरोधका कार्यक्रम ग¥यो।

 विवाद थाती रहेकै अवस्थामा पौडेल नै विहीबार पुलको उद्घाटन गर्न सफल भए। आफ्नो पहलमा पुल बनेकोले उद्घाटनको अधिकार आफुलाई नै रहेको पौडेलले बताएका थिए। नेकपाले भने निर्वाचित सांसदबाट पुल उद्घाटन हुनुपर्ने अडान राखेको थियो। दुवै दलको अडानका कारण पुल उद्घाटन विवादास्पद बनेको थियो।  

२ करोड ५४ लाख रुपैयाँमा बुल्दी खोलामाथि उक्त पुल बनेको थियो। त्यसअघि मंगलबार पनि ब्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ जोड्नेगरि सोंढेमा सेतीनदि माथि बनेको पक्कि मोटरेवल पुल पौडेलले नै उद्घाटन गरेका थिए। त्यसपछि दुईवटा दलबीच तिक्तता सुरु भएको थियो। त्यो विवाद चर्कदै गइरहेको बेला बुधबार फेरि सदरमुकामभित्रैकै अर्काे पुल पौडेलले नै उद्घाटन गर्न खोज्दा विवादले झनै उग्ररुप लिएको थियो।

विहीबार पुल उद्घाटनमा पौडेललाई साथ दिन काठमाडौंबाट कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, गोबिन्द भट्टराई र प्रदीप पौडेल समेत आएका थिए। त्यस्तै कांग्रेसका जिल्ला नेता धु्रव वाग्ले, कांग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र (नेपाली) पनि कार्यक्रममा सहभागि भएका छन्। उद्घाटनमा जानु अघि पार्टी कार्यालयबाट नाराबाजी सहितको जुलुस उद्घाटनस्थलमा पुगेको थियो। सुरक्षा व्यवस्था निकै नै कडा पारिएको थियो।  

कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने भन्छन, ‘नेकपाले पौडेलको विरोध गरेर गर्नै नहुने काम गरेको थियो। त्यही भएर ब्याक भयो,। पौडेललाई अवरोध गर्नुलाई नेकपाले हल्का रुपमा सोचेको थियो। तर, परिस्थिति त्यो भन्दा फरक थियो। पौडेललाई अवरोध सहज हुने ठानिएको हुनसक्छ। त्यसको परिणाम सहज थिएन।’ ती पुर्वाधार बनाउनेगरि लगानी भिœयाउन मेहनत गरेकोले उद्घाटनको अधिकार पनि पौडेललाई रहेको न्यौपानेको भनाई छ।  

नेकपाका नेताहरु भने निर्वाचित सांसदको कार्यक्षेत्रमा पुगेर चुनावमा पराजित व्यक्तिले विकास आयोजना उद्घाटन गर्दा शोभनीय नदेखिएको बताउँछन्। नेकपा ब्यास नगर कमिटि अध्यक्ष श्रीराम कार्कीले भने, ‘उनीहरु (कांग्रेस)ले आफ्नो तरिकाले पुल उद्घाटन गर्न खोजेको हो। पार्टीको नाममा पुल उद्घाटन गरिएको छ।’ निर्वाचित सांसदको कार्यक्षेत्रमा पुगेर चुनावमा पराजित भएका व्यक्तिले उद्घाटनका कार्यक्रम गर्नु उपयुक्त नभएको उनले बताए। ‘जितेका व्यक्तिले विकास निर्माणका कामको शुभारम्भ गर्नुपर्छ। राजनीतिक सहमति भन्दा पनि भईरहेको अंगबाट ती काम हुनुपर्छ,’ उनले भने, ‘त्यसमा सम्बन्धित कार्यालय, प्रशासनको पनि सहमति चाहिन्छ। तर ती सहमति मानिएको छैन। कांग्रेसले एकतर्फी रुपमा उद्घाटन गरेको छ।’

विकास निर्माणमा दलहरुले जस लिन खोज्दा यो अवस्था आउने विश्लेषकको भनाई छ। नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन, ‘पुर्वाधार शिलान्यास र उद्घाटन गर्न हानथाप गनु नै राजनीतिक संस्कार बनेको छ, यो पुर्णतया गलत हो। आफुले काम गरेको ठहरिन्छ की भनेर जनतालाई देखाउनका लागि यस्तो प्रयास हुने गरेको छ, तर अब त्यो आधारमा मात्र जनताले पत्याउने अवस्था छैन।’ म वर्तमान सांसद हुँ, मैले उद्घाटन गर्न पाउनुपर्छ भनेर भन्नुलाई आफुलाई ठुलो मान्छे बनाउन खोज्नु रहेको उनको भनाई छ। ‘उद्घाटन र शिलान्यास ठुलो होईन, ती नेताले कस्तो आचरण देखाए भन्ने हो,’ उनले भने। त्यस्तै पुर्वाधार उद्घाटन गर्दैमा पनि राजनीतिक उचाँइ नबढ्ने उनले बताए। 

‘उच्च व्यक्ति यस्ता कामका पछाडि लाग्दा झनै उचाई घट्छ। ती नेताले अब अरुलाई सिकाउनु पर्छ,’ मुल्मीले भने, ‘केही काम नगरी सरकारमा बस्ने, अनि काम गरेको देखाउन खोज्दा यो अवस्था आएको हो।’ उद्घाटनका पछाडि लागेर उपलब्धि नै नहुने ठाउँमा प्रतिष्ठा बनाउन खोजिएको उनले बताए। ‘केही नभएको ठाउँमा सानो काम भयो भने त्यसलाई प्रतिष्ठा बनाइन्छ,’ उनले भने, ‘मेरो पार्टी र सरकारले गरेको भनेर प्रचार गर्नु गलत हो। यसले राजनीतिक संस्कार कमजोर बनाउँछ।’ 

प्रकाशित: १८ मंसिर २०७७ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App