जुम्लामा कोरोना भाइरस संक्रमणको परीक्षणमा संक्रमितको दर ९० प्रतिशत भन्दा बढि पुष्टि भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ। बुधवार राति १२ बजेदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको हो। नोबेल कोरोना भाइरस कोभिड –१९ नया भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मुलुकमा मृत्यु हुने संख्या दिनानुदिन तीव्ररुपमा बढिरहेकोले जुम्लामा वैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैशाख २१ गते बसेको बैठकले निषेधाज्ञा गर्न सिफारीस गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो। संक्रामक रोग ऐन, २०२० को दफा २(२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५(३) बमोजिम वैैशाख २२ गते राति १२ बजे देखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
अनिर्वाय रूपमा मास्क लगाउने, बेला बेलामा साबुन पानी वा सेनिटाइजर प्रयोग गर्ने र कम्तिमा २ मिटर सामाजिक दुरी कायम गर्ने, अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन जुम्लाबासीलाई आग्रह गरिएको छ। अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई जिल्ला भित्रका औषधी, उपकरण र उपचारका सामाग्री उत्पादन, बिक्री वितरण तथा दुवानी सेवा,खाद्यवस्तु होम डेलिभरी गर्ने सेवा, बैकिङ, दरसञ्चार, विद्युत सेवा, फोहोर मैला व्यवस्थापन सेवा, एम्बुलेन्स सेवा लगायतका अत्यावश्यक सेवाहरू नियमित रूपमा तथा खाद्यवस्तु, ईन्धन (म्यास, पेट्रोल, डिजेल,मट्टितेल), खानेपानी, दुध फलफूल तरकारी लगायतका अत्यावश्यक व्यवसायहरू दिनमा १ पटक बिहान ६ बजे देखि १ बजेसम्म सुरक्षाका मापदण्ड पालना गरि मात्र खुला गर्ने र अन्य पसल, व्यवसाय, सेवाहरु पूर्णरूपमा बन्द गर्ने गरि निषेधाज्ञा गरिएको छ। जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भित्र रही बढीमा १० जनासम्म कामदार परिचालन गरी कामदारहरूलाई परियोजना निमार्ण स्थलभित्र बसोबासको व्यवस्था मिलाएर विकास निर्माण कार्य संचालन गर्ने, गराउने, व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने ।
कृत्रिम अभाव देखाई मूल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूले कार्यालयको काम बाधा नपर्ने गरी आवश्यक संख्यामा कर्मचारीहरुलाई मात्र बोलाई कार्य संचालनगर्ने व्यवस्था मिलाउने,सामाजिक परम्पराका कार्यक्रमहरू विवाह, पुजापाठ गर्दा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पूर्ण पालना गरी बढीमा १० जना पर परिवार भित्रका मात्र उपस्थितमा मात्र संचालन गर्ने, गराउने, जिल्ला भित्रका कुनैपनि स्थानमा कुनैपनि किसिमको सभा , समारोह, भेला कार्यक्रम जमघट भई भिडभाड हुने गतिविधि संचालन गर्ने गराउन नपाइने भएको छ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।