'सुरक्षा कमजोरी र सूचना चुहियो'
२५ मंसिर २०७०
•
१७ मिनेट पाठ
'सुरक्षा कमजोरी र सूचना चुहियो'
काठमाडौं-हतियार र सुरक्षा सर्तकताबिना स्थलमार्गबाट ४२ किलोमिटर पार गर्ने जोखिम उठाउँदा नबिल बैंक महेन्द्रनगर शाखाको २ करोड ३० लाख रुपैयाँ मंगलबार लुटियो।




प्रहरीको प्रारम्भिक छानबिनअनुसार सुरक्षा निकायलाई सुइँकै नदिई सामान्य तालिम पाएका सुरक्षागार्डको भरमा यति ठूलो रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्न पठाउँदा सहजै लुटिएको देखिन्छ। हतियारविहीन चारजनाले हतियारसहितका लुटेराको सामान्य प्रतिकारसमेत गर्न नसक्दा यति ठूलो घटना सम्भव भयो। आधुनिक सुरक्षा प्रणालीबिनाको महिन्द्रा जिपभित्र प्रवेश गरेर सामान्य प्रकृतिको ब्रिफकेस नियन्त्रणमा लिन लुटेराले कुनै सकस गर्नुपरेन। लुटेरा समूहले कर्मचारीलाई धम्क्याएर सहजै करोडौं रुपैयाँ भएको ब्रिफकेस नियन्त्रणमा लिए र जंगलमा बेपत्ता भए।

महेन्द्रनगरबाट धनगढी हिँड्दा बैंकले प्रहरीलाई जानकारीसमेत गराएको थिएन। बैंकको रकम लुटिएको एक घन्टामा कर्मचारी सम्पर्कमा आएपछि मात्रै प्रहरीले घटनाबारे थाहा पायो। प्रहरीले घटनास्थल पुगेर जंगल सर्च गरे पनि रित्तो हात फर्किनुको विकल्प थिएन। र, भयो पनि त्यही।

'लामो दुरीमा रकम लिएर जाने भए पनि प्रहरीसँग समन्वय गरेको देखिएन,' केन्द्रीय प्रहरी प्रवक्ता गणेश केसीले नागरिकसँग भने, 'घटनाको प्रकृतिले समेत आन्तरिक सूचना चुहिएको देखिन्छ।'

प्रारम्भिक अनुसन्धानमा आएका तथ्य र घटनाक्रम शंकास्पद रहेको अनुसन्धान अधिकारीहरू बताउँछन्। अनुसन्धानरत प्रहरी लुटिएको रकम खोजी गर्नुका साथै आपसी मिलेमतोमा घटना भएको आशंकामा त्यही कोणबाट अनुसन्धान अघि बढाइरहेका छन्।

रकम लैजाँदा कुनै सुरक्षा सतर्कता नअपनाउनु, प्रहरीलाई खबर नहुनु र घटनाक्रमले लुटेरा समूह बैंकको सबै गतिविधिबारे जानकार हुनुका आधारमा प्रहरी मिलेमतोमा घटना भएको निष्कर्ष निकट पुगेको देखिन्छ।

लुटेरालाई कुन दिन पैसा धनगढी जाँदैछ, कतिजना हुन्छन्, सुरक्षा प्रबन्ध कस्तो हुन्छ, कुन समय निस्कियो र कुन समय कुन स्थानमा पुग्यो भन्नेबारे जानकार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। त्यसकै आधारमा बैंकभित्रै लुटेरा समूहको सहयोगी रहेको प्रहरीको आशंका छ।

नबिल बैंकका सिइओ अनिल ज्ञवालीले रकम ओसारपसारमा सामान्य गाडी र सामान्य सुटकेसकै प्रयोग हुने गरेको स्वीकार गरे। अन्य बैंकहरूले जुन सुरक्षा प्रणाली अपनाएका छन्, आफ्नो बैंकले पनि त्यसकै अनुशरण गरेको बताउँदै उनले भने, ...अहिलेसम्म नर्मल गाडी र नर्मल ब्रिफकेसबाटै ओसार्ने हो, विशेष सुरक्षा प्रबन्ध हुन्न।'

यसले जोखिम बढायो नि भन्ने जिज्ञासामा उनले भने, ...अन्य बैंकले जे गर्दै आएको हो, त्यही गर्दै आएका छौं।' उनले अन्य विषय भने अनुसन्धान प्रक्रियामा रहेको भन्दै जानकारी दिन चाहेनन्।

बहुमूल्य धातु र ठूलो परिमाणको नगद ओसारपसारलाई सुरक्षित बनाउन छुट्टै सुरक्षा प्रोटोकल अपनाइन्छ। सुरक्षा प्रणालीबारे जानकारका अनुसार यस्तो प्रोटोकलमा सामान्य रूपमा बाहिरबाट तोडफोड गर्न नसक्ने सेमीआर्म्ड सुविधा भएको सवारीसाधन, गाडीभित्र पैसा राख्न कोड लक भएको छुट्टै च्याम्बर र तालिमप्राप्त सुरक्षा गार्डसहित अगाडि–पछाडि स्कर्टिङ भएको सुरक्षा प्रबन्ध पर्छ। नेपालमा समेत यस्तो प्रकृतिको सुरक्षा प्रबन्ध उपलब्ध भए पनि अझै बैंकहरूले सामान्य रूपमा बहुमूल्य धातु र ठूलो परिमाणको रकम ओसारपसार गरेर जोखिम उठाउँदै आएका छन्।

अन्तर्राष्ट्रिय रूपमै बैंकहरूलाई यस्तै सुरक्षा प्रणाली उपलब्ध गराउँदै आएको ग्रुप फोरका नेपाल प्रमुख महेश श्रेष्ठ लुटपाटका घटनाको वृद्धिसँगै केही बैंक गम्भीर देखिए पनि धेरैले यस्तो सुरक्षालाई बेवास्ता गर्ने गरेको अनुभव सुनाए।

उनी रकमको बिमा हुने भएकाले हेलचेक्र्याइँ गरिएको निष्कर्ष सुनाउँछन्। 'लुटिएको रकम त बिमाबाट फर्किएला, तर यस्तो घटनापछि खस्किने बैंकको साख जोखिममा पर्छ,' उनले नागरिकसँग भने।

बैंक डकैतीको शृंखला

बैंकमा हुने सर्वसाधारणको निक्षेपमाथि अपराधीको आँखा लागेको यो पहिलो घटना हैन। कहिले बैंक लुटिने त कहिले बैंकको नगद ओसारपसार क्रममा मौका छोपेर डकैती हुने दर्जनौं घटना भइसकेका छन्।

संयोगले यस्तो डकैतीको सुरुवात ९ वर्षअघि नबिल बैंकबाटै भएको थियो, राजधानीको कान्तिपथस्थित प्रधान कार्यालयमा। २०६१ मंसिर २९ मा हतियारसहित आएका एक व्यक्तिले कान्तिपथमा रहेको नबिल बैंकबाट ६० लाख लुटेर हिँडेका थिए। घटनाको अनुसन्धान गर्दा लुटेराका मुख्य नाइके निस्किए, १६ वर्षीय किशोर निरञ्जन खनाल।

त्यतिबेला उनी एक्लैले नबिल लुटेका थिए। उक्त घटनामा प्रहरीले छ घन्टापछि हेपाली हाइटमा रहेको निरज खनालको डेराबाट रकम र पेस्तोल फेला पारेको थियो। लुटिएको रकममध्ये २० हजार रुपैयाँ भने फेला परेन। अनुसन्धानमा उक्त रकम निरजका भाइ निरञ्जनले ल्याएको खुल्यो, जो भर्खर एसएलसी दिएर बसेका थिए।

निरञ्जनले बैंकको ग्राहक सेवा विभागका कर्मचारीलाई कम्मरमा भिरेको पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर 'म माओवादी हुँ, मेरा साथीहरूले बैंक घेरिसकेका छन्, २ करोड नदिए जे पनि हुनसक्छ' भन्दै बैंकका कर्मचारीलाई धम्क्याएर ६० लाख रकम हात पारेका थिए। उनले ४५ मिनेट बैंकभित्रै बिताएका थिए। बैंकका कर्मचारीले महिला कर्मचारीलाई साथ लगाएर ६० लाख रुपैयाँसहितको ब्रिफकेस ट्याक्सीमा पुर्‍याएर फर्केका थिए।

उनले बैंक लुट्न प्रयोग गरेको पेस्तोल प्रहरी संगठनमै कार्यरत आफ्नै भिनाजुको रहेको खुल्यो। रकम फेला पर्‍यो तर खनाल बेपत्तै थिए। घटनाको नवौं दिन अपराह्न प्रहरीलाई सूचना आयो, बैंक लुट्ने खनालले पुल्चोकमा सेनासँग आत्मसर्मपण गरे।

बैक लुटेर बेपत्ता भएका उनले प्रहरी कार्यालय नआएर पुल्चोकमा सुरक्षा जाँच गरिरहेका सेनाको टोलीलाई परिचय दिँदै आत्मसमर्पण गरेका थिए। सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएर बेलुका ६ बजेतिर प्रहरीलाइ बुझायो।

अनुसन्धानमा बैंक लुटेर खनाल भारतको नयाँदिल्ली राजस्थान घुमेर विमानबाट नेपाल फर्किएको खुल्यो। पक्राउ परेपछि उनले बैंक लुटेको स्विकार गर्दै सञ्चारकर्मीलाई 'नाम कमाएर ठूलो मान्छे बन्न बैंक लुटेको' बताए। काँचो उमेरमा बहकिएर अपराधमा संलग्न भएको भन्दै करिब ३ वर्षमै उनी कारागारबाट मुक्त भए। तर, सुधि्रएनन्। पाँच वर्षदेखि उनी अपहरणको योजनाकार पुष्टि भएर डिल्लीबजार कारागारमा छन्।

नौ वर्षअघि काठमाडौं प्रहरी प्रमुखको रूपमा नबिल लुटपाटको अुनसन्धान गरिरहेका नारायण बस्ताकोटी अहिले क्षेत्रीय प्रहरी प्रमुखका रूपमा महेन्द्रनगर लुटपाट घटनाको अनुसन्धानको नेतृत्व गरिरहेका छन्।

...

२०६३ जेठमा क्षेत्रपाटीको नेपाल बैंक शाखा लुटियो। मोटरसाइकलमा आएका पाचजनाको समूहले दिउँसै हतियार देखाएर करिब ११ लाख डकैती गरेर फरार भए।

बैंकको सुरक्षागार्डको पेस्तोल खोसेर त्यही देखाउँदै भित्र प्रवेश गरेका उनीहरूले बैंकको काउन्टरबाट १० लाख ९७ हजार लुटेका थिए। रकम हात पारेपछि उनीहरू सुरक्षा गार्डबाट खोसेको हतियार बैंक काउन्टरमै छाडेर भागेका थिए।

बैंक डकैतीको शृंखला यतिमै रोकिएन, थप बढ्यो। २०६४ मंसिरमा एक समूहले कमलादीमा रहेको बैंक अफ काठमाडौंबाट ४ करोड रुपैयाँ लुट्यो। हतियारसहित आएका करिब १० जनाको समूहले बैंक कब्जामा लिएर रकम लुटेर फरार भएका थिए।

कमलादीस्थित बैंक अफ काठमाडौं लुट्नेमध्येका थप सात जनालाई प्रहरीले पक्राउ गरेेको थियो। रकम लुटिएकै दिन सातजना पक्राउ परेका थिए। पछि बाँकी रहेका अन्य पनि पक्राउ पर्दै गए।

अनुसन्धानमा पूर्व सुरक्षाकर्मीको योजनामा बैंक डकैती भएको खुलेको थियो। बैंक लुटेर उनीहरूले शान्तिनगरस्थित सिद्धार्थ होटल गएर रकम बाँडफाँड गरेका थिए।

२०६५ वैशाख ८ मा सिनामगंलमा रहेको बैंक अफ काठमाडौंको शाखाबाट बैंकका गार्डलाई खुकुरी हानेर ८ लाख ५५ हजार रुपैयाँ लुटिएको थियो। रकम ल्याएर शाखा खोल्ने प्रयासकै क्रममा आक्रमण गरेर रकम रहेको ब्रिफकेस लुटिएको थियो।

त्यसपछि २०६७ पुसमा हतियारधारी समूहले ललितपुर जाउलाखेलको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १४ लाख रुपैया लुटे। मोटरसाइकलमा आएको तीनजनाको हतियारधारी समूहले अपराह्न १ बजे लुटेर फरार भएका थिए। यो घटनाको रहस्य अझै खुलेको छैन।

२०७० जेठमा जनकपुरको नेपाल राष्ट्र बैंकबाट ५० लाख रुपैया" लिएर हिँडेको सहयोगी विकास बैंकका कर्मचारी लुटिएका थिए। गौशाला बजार आउ"दै गरेका उनीहरूलाई नवराजपुरमा दुईवटा मोटरसाइकलमा आएका पाँचजना हतियारधारीले रोकेर रकम लुटेका थिए।

२०६९ पुसमा घोराहीमा रहेको बैंक आफ काठमाडौको शाखाबाट एक समूहले २ करोड रुपैयाँ लुटेको थियो। बैंकभित्र हतियारसहित छिरेका चारजनाको समूहले कर्मचारीलाई नियन्त्रणमा लिएर नगद लिएर फरार भएका थिए।

२०७० असोजमा ठमेलमा रहेको किष्ट बैंकको शाखाबाट ८० लाख लुटियो। प्रहरीले लुटपाटमा संलग्न सबैलाई रकमसहित पक्राउ गर्‍यो। कलंकी शाखाको कर्मचारी बनेर आएको समूहले ठमेल शाखाका कर्मचारीलाई जिल्याउँदै ८० लाख चप्काएर भागेका थिए।

...

बैंक लुटपाटको अधिकांश घटनामा बैंकको कर्मचारीको कुनै न कुनै रूपमा संलग्न हुन्छन्। यसअघि लुटपाटका अधिकांश घटनाको मुख्य योजनाकार नै कर्मचारी देखिएका छन्।

अनुसन्धान क्रममा नेपाल बैंकको ११ लाख लुटपाटको घटनाको योजनाकार बैंककै सुरक्षागार्ड रहेको पुष्टि भयो। उनले भाइसँग मिलेर लुटपाटको योजना बनाएको अनुसन्धानमा खुलेको थियो।

२०६४ मा कमलादीमा भएको बैंक अफ काठमाडौं डकैतीको योजनाकार बैंककै सुरक्षागार्ड रहेको खुलेको थियो। घोराही शाखामा भएको २ करोड डकैतीको मुख्य योजनाकार त त्यही बैंकका हेड क्यासियर खगेन्द्र बस्नेत रहेको खुलेको थियो।

लामो समयदेखि बैंकको पैसा चलाएर अनियमितता गरेपछि उक्त रकम मिलान गर्न आफैं काठमाडौं आई समूह बनाएर शाखा डकैती गराएको अनुसन्धानमा खुलेको थियो। डकैती क्रममा लुटेराले बस्नेतलाई गरेको अनौठो व्यवहार पछ्याउँदै केन्द्रीय अनुसन्धान ब्युरोले उनी र उनको टोलीलाई पक्राउ गरेको थियो।

ठमेलको किष्ट बैंक शाखामा भएको अनौठो प्रकृतिको लुटपाटको अनुसन्धान क्रममा मुख्य योजनाकार बैंककै हेड टेलर रोहितलाल श्रेष्ठ हुन् भन्ने खुल्यो। महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा श्रेष्ठले चलाखीपूर्ण लुटपाटका लागि किष्टकै कलंकी शाखाको नक्कली समूह बनाएर रकम लुटेको खुलेको थियो। समूहमा उनले गु्रपफोरको नक्कली सुरक्षागार्डसमेत समावेश गरेका थिए।

२०६४ मा बिओकेमा भएको लुटपाटको अनुसन्धान गरेका एसएसपी सर्वेन्द्र खनालले प्रायः भित्रैबाट सूचना चुहाएर बैंक लुटिने गरेको अनुभव सुनाए। हाल अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख रहेका उनले भने, 'त्यो बेलाको अनुसन्धानमा बैंककै गार्डको मिलेमतो देखिएको थियो।'

...
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस