२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक संक्रमित डाक्टरको छटपटाहट

अक्षर

दैनिक आउने यस्ता अनेकौँ फोनको उपचारमा व्यस्त भइरहने डा. प्रेमराज वैद्य अहिले भने कुनै फोनको जवाफ समेत दिन नसक्ने अवस्थामा छन्। कारण, यतिबेला उनी आफैँ कोरोना संक्रमित भई उपचार गराइरहेका छन्। उनी स्वयं उपचारमा रहे पनि फोन आउन बन्द भएको छैन। बिरामी र बिरामीका आफन्त उनलाई तारन्तार फोन गरेर सहयोग मागिरहेका छन्। अस्पतालमा पालो कुरिरहेका बिरामी उनको समय मागिरहेका छन्। यस्तो अवस्थामा बिरामीको सेवा गर्न जाने हुटहुटी भएर पनि जाने अवस्था नहुँदा एक सेवाप्रिय डाक्टरको मन कस्तो भयो होला ?  

दैनिक १२ घन्टा बिरामीको अपरेसनमा बिताउने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले गएको दुई साता यसरी घरमै बिताए, सेल्फ आइसोलेसनमा। यस्तो अवस्थामा पनि बिरामीका आफन्तबाट उनलाई दैनिक १० भन्दा बढी फोन आइरहन्छन्। उनले आएका सबै फोन उठाउँछन्। बिरामीलाई भौतिक रूपमा उपस्थित भएर सेवा गर्न नपाएको र उनीहरूले दुःख व्यहोर्नुपरेको सुन्दा निकै तनाव हुने गरेको डा. वैद्य बताउँछन्। उनी भन्छन्, ‘म आफूलाई कोरोना भएको भन्दा पनि बिरामी र बिरामीका आफन्तको चित्कारले पो मलाई बढी तनाव हुन थालेको छ। मलाई पोजेटिभ मात्र देखिएको हो, गाह्रो भएको थिएन। आफैँ चिकित्सक र त्यसमा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनार्ई होसियारी साथ घरमै छुट्टै बसेकाले मलाई डर थिएन। बिरामी र तिनका आफन्तबाट फोन आउँदा उनीहरूको चिन्ता हुन्छ।’

–  डाक्टर साब, मेरो आमालाई कोरोना पोजेटिभ देखियो। उहाँ किड्नीको पनि बिरामी हुनुहुन्छ। डायलासिस गर्नुपर्ने भयो, म के गरौँ ?  

–  डाक्टर साब, आमाको नियमित डायलासिस गरिरहेको तर अहिले नसा ब्लक भएर सुन्नियो। के गर्ने ?  

–  डाक्टर साब मलाई अचानक ज्वरो र रुघाखोकी लाग्यो, कुन औषधि खाउँ ?

–  डाक्टर साब, कोरोना लागेर श्वास फेर्न गाह्रो भयो, कतै आइसियू बेड मिलाइदिनुहुन्छ कि ?  

आफूले सहयोग गर्न नपाएर आफ्ना बिरामीको ज्यान जाने हो कि भन्ने त्रासमा दिन गुजार्नुपरेको छ उनलाई। त्यसैले आफूलाई अप्ठेरो भए पनि कसैको फोन आउनेबित्तिकै उठाइहाल्छन्। र, फोनबाटै सकिने जति सल्लाह दिन्छन्। त्यस्तै, गम्भीर प्रकृतिको बिरामी भएमा सम्बन्धित डाक्टरलाई आफैँले फोन गरेर बिरामीका लागि समय मिलाउने प्रयास गर्छन्।  

उनलाई विशेषतः सबैभन्दा बढी रुघाखोकी र ज्वरोले समाएका बिरामी तथा तिनका आफन्तको फोन आउने गरेको छ। गन्ती नै गर्ने हो भने उनलाई आउने फोनमध्ये करिब ९० प्रतिशतको समस्या रुघाखोकी नै हुने गरेको छ। त्यसपछिको बढी फोन कोरोना लागेर श्वास फेर्न गाह्रो भइरहेका तर अस्पतालमा आइसियू बेड नपाएर छटपटिएका बिरामीको आउने गर्छ। सबैभन्दा बढी समस्या त तब हुन्छ, जब मुटुको एन्जिओप्लास्ट सर्जरी गरिसकेका बिरामी र डायलासिस गरिरहेका बिरामीलाई गाह्रो प¥यो भन्ने फोन आउन थाल्छ। त्यस्ता बिरामीलाई तत्काल उपचार गर्न सकिएन भने अवस्था जे पनि हुन सक्छ। अझ नसा ब्लक भएर अशक्त भएका बिरामीलाई तत्काल शल्यक्रिया नगरे ज्यानै जाने पनि खतरा हुन्छ। डा.वैद्यले बिरामीलाई फोनबाटै आवश्यक सल्लाह दिँदै आएका छन्।  

रुघाखोकी लगायत समस्यामा फोन गर्नेलाई उनले सबैभन्दा पहिले कोरोना टेस्ट गर्ने सल्लाह दिन्छन्। घरमै बसेर प्रतिरोधात्मक शक्ति बढाउने खाना खान तथा गाह्रो हुने अवस्था आएमा तत्काल नजिकको अस्पतालमा गएर जाँच गर्न पनि उनको सुझाव रहन्छ।  

आफ्नो अवस्था सामान्य भए पनि कोरोना पजिटिभले गर्दा अस्पताल गएर काम गर्न नपाएकामा उनलाई उकुसमुकुस भएको छ। यसले आफूलाई तनाव बढाएको पनि उनी बताउँछन्। सर्वसाधारण बिरामी हुँदा अशक्त मात्रै हुन्छन्। बिरामीको उपचार गर्नुपर्ने डाक्टर आफैँ बिरामी हुँदा चाहिँ अशक्त भन्दा पनि तनाव बढी हुने रहेछ।  

दोस्रो लकडाउन सुरु भएको दुई दिनपछि डा. वैद्यलाई कोरोनाको संक्रमण देखिएको थियो। सामान्य ज्वरो भएकाले सोही दिनदेखि उनले घरमै आइसोलेसनमा बसेर आराम गर्न थाले। १४ दिनपछि दोस्रोपटक पिसिआर जाँच गर्दा पनि रिपोर्ट पजिटिभ नै आइदियो। स्वास्थ्यका हिसाबले उनी अस्पताल जान योग्य भइसकेका थिए, रिपोर्टले रोकिदियो। अस्पताल जान नपाउँदा उनलाई पुराना बिरामीको फलोअपको चिन्ता लागेको छ। पुराना बिरामीले पनि उनलाई फलोअपका लागि फोन गरिरहेका छन्।  

कोरोना पजिटिभ देखिनु एक दिन अघिसम्म उनले प्रत्येक हप्ता पाँच वटासम्म मुटुको जटिल अपरेसन गर्थे। त्यसमध्ये एउटा अत्यन्त जटिल प्रकारको अपरेसन हुन्थ्यो। कोरोनाले उनको दैनिकी बदलिदियो। अरू बेला उनी सधैँ बिहान ७ बज्न नपाउँदै हतारहतार गाडी लिएर अस्पताल पुग्थे। र, बिरामीको सेवा गरेर नै आफ्नो दिन सुरु गर्थे। बिरामीको सेवा गर्दागर्दै उनी आफैँलाई पनि दुईपटक हृदयघात भइसकेको छ। उमेरले ६ दशक काट्दा पनि उनीमा बिरामीको उपचार गर्ने हुटहुटी कम भएको छैन।  

चलिरहेको मुटुमै बाइपास सर्जरी गर्ने उनी नेपालको पहिलो मुटुरोग विशेषज्ञ डाक्टर हुन्। सरकारी र निजी गरी थुप्रै स्वदेशी अस्पतालमा मुटुको जटिल शल्यक्रिया गरेका डा. वैद्यसँग रसिया, श्रीलंका लगायत देशका विदेशी अस्पतालमा पनि हजारौँ बिरामीको मुटु खोलेको अनुभव छ। डा. वैद्यको तीन सदस्यीय परिवारमा तीनैजना चिकित्सा पेसामा छन्। अनि अनौठो के भने यसपटक तीनै जनालाई आलोपालो कोरोना संक्रमण पनि भएको छ। 

प्रकाशित: १५ जेष्ठ २०७८ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App