काठमाडौं– पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना बिहीबारदेखि साँखुस्थित शालीनदीमा सुरु भएको छ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानी व्रतकथा सुरु भई माघ शुक्लपूर्णिमाका दिन समापन हुने गर्दछ।
माघदेखि फागुनसम्म एक महिना लाग्ने यो मेलामा हजारौं भक्तजनले दर्शन गर्ने गर्दछन्। यो समयमा व्रतालु तथा भक्तजनले श्रद्धापूर्वक श्री स्वस्थानीको कथा वाचन र श्रवण गर्ने गर्छन्। व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास सदियौंदेखि चल्दै आएको छ।
एक महिनाभर प्रत्येक दिन बेलुका हिन्दूधर्मावलम्बीहरुले घर घरमा श्री स्वस्थानीको कथा वाचन तथा श्रवण गर्ने गर्दछन्। यो कथा महादेव र पार्वतीका साथै तपस्याबाट प्राप्त भएको गुणको व्याख्यामा केन्द्रित छ।
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ।
यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।
एकतीस अध्याय रहेको स्वस्थानी व्रतकथाको बाह्रौं अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट स्वस्थानीमा देखाउन खोजिएको छ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको आजैदेखि व्रत प्रारम्भ गर्ने गर्दछन्।
शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ। स्कन्दपुराणको केदारखण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लिखित छ।