काठमाडौं– कार्यक्षमता सन्तोषजनक नभएको र आर्थिक उपचलनको गुनासा बढेको भन्दै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेश चन्दलाई हेडक्वार्टरमा तानेको छ।
चन्दविरुद्ध कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको, ठमेलमा रात्रिकालीन व्यवसायीलाई असमान व्यवहार गरी कसैलाई १२ बजेभित्रै बन्द गर्न लगाएको र कसैलाई बिहानसम्म सञ्चालन गर्न दिने गरेकोजस्ता गुनासो रहेको प्रधान कार्यालय स्रोतले जनायो।
प्रहरी प्रवक्ता गणेश केसीलाई मातहतका प्रहरी परिचालन र कार्यशैली चित्तबुझ्दो नदेखिएपछि डिएसपी चन्दलाई प्रहरी कार्यालयमा झिकाइएको पुष्टि गरे। प्रहरी प्रधान कार्यालयले सोह्रखुट्टे प्रभागको स्तरोन्नति गर्दै वृत्त बनाएपछि चन्द ६ महिनाअघि वृत्त प्रमुखका रूपमा सोह्रखुट्टे खटाइएका थिए।
एक साताअघि कार्यशैली चित्तबुझ्दो नभएको भन्दै यसैगरी महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रमेश भट्टराई हेडक्वार्टर तानिएको थियो। भट्टराई तानिएपछि उनको स्थानमा अहिलेसम्म कसैलाई पठाएको छैन। दरबारमार्ग, स्वयम्भू, थानकोट र गौशालाका प्रमुखको कार्यशैलीबारे गुनासो बढेपछि उनीहरूलाई समेत केन्द्रमा तान्ने गृहकार्य सुरु भएको प्रधान कार्यालय स्रोतले बतायो।