भक्तपुरको ताथलीका युवाहरुले कोरोनाको जोखिम घटाउन ‘मास्क, साबुन र सेनिटाइजर’ अभियान सुरु गरेका छन्।
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा गठन भएको ताथली कोरोना रोकथाम अभियान समितिले उक्त अभियान सुरु गरेको हो। नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि युवाहरुले घरघरमा पुगेर मास्क, साबुन र सेनिटाइजर वितरण गर्दै स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेका छन्।
विभिन्न व्यक्ति, संघ, संस्था, समूहहरुबाट प्राप्त सहयोगलाई सदुपयोग गर्दै स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेको अभियानमा सहभागी युवाहरुले बताएका छन्। ‘स्वास्थ्य सचेतना आवश्यक छ, यसका लागि हामीले सानो प्रयास गरेका छौं, अभियानमा सहभागी युवा जयकृष्ण न्हेम्हाफुकीले भने’, ‘हामीले घरघरमा पुगेर स्वास्थ्य जोखिम कम गर्न सघाउने सामग्री दिएका छौं।’
उनीहरुले प्रत्येक घरलाई १५ वटा मास्क, एकवटा सेनिटाइजर र एउटा साबुन वितरण गरेका थिए। ‘अहिलेको समयमा मास्क लगाउने, साबुन पानीले मिचीमिची हात मात्र धुँदा पनि कोरोनालगायत अरु रोगहरुको जोखिम समेत कम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन्’, स्थानीय बिमल न्हेम्हाफुकीले भने, ‘त्यो जोखिम कम होस् भनी हामीले विभिन्न व्यक्ति, संघसंस्थाहरुबाट सामग्री जुटाएर ताथलीका स्थानीयलाई वितरण गर्न सुरु गरेका हौं।’
स्वास्थ्य सामग्री वितरण गर्दै अभियानमा सहभागी युवाअभियानअन्तर्गत शनिबार २ सय घरधुरीलाई ती सामग्रीहरु वितरण गरिएको अभियान समितिका शिवप्रसाद छुकांले बताए। सो अभियानमा प्रगति समूह, ताथलीले सहयोग गरेको छ।
‘बच्ने र बचाउने उपाय नै अहिलेको राम्रो उपाय हो, ‘अभियानमा सहभागी प्रगति समूहका सदस्य धनराज श्रेष्ठले भने’, ‘यसैले भौतिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सहयोग गर्नुको विकल्प छैन।
अभियानअन्तर्गत सौडोलबाट सुरु भएको स्वास्थ्य सामग्रीलाई ताथलीका विभिन्न टोल, बस्तीमा विस्तारै अघि बढाउने योजना रहेको उत्तम साखकर्मीले बताए। सो सामािजक अभियानलाई ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सोहन मेडिहेल्थ, सरस्वती इँटा उद्योग, भक्तपुर इँटा उद्योग व्यवसायी संघलगायतले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
‘समाजका लागि सचेतना आवश्यक छ, समाजलाई स्वस्थ राख्नका लागि युवाहरुको पनि सामाजिक उत्तरदायित्व हुन्छ, हामीले अहिलेको चुनौतिका बाबजुद पनि केही गर्ने प्रयास गरेका छौं’ उनले भने।
चाँगुनारायण नगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवालका अनुसार हाल चाँगुनारायण नगरपालिकामा २ हजार ४ सय ३२ संक्रमित छन् भने ताथलीमा १ सय ८३ जना संक्रमित छन्। तिनीहरुमध्ये ८१ महिला र १ सय २ पुरुष छन्।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।