खोटाङ– बाहुनीडाँडा–१, बयाक्तामा शुक्रबार जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। सात घाइते छन्। बा८च १६११ नम्बरको जिप सडकबाट ६० फिट तल खस्दा मोरङ, कसेनी–६ की ७१ वर्षीया कमला बस्नेतको मृत्यु भएको हो।
दुर्घटनामा बस्नेतका पति लोकबहादुर बस्नेत, सन्देश खत्री, सुजा खत्री, इटहरी–५ का लक्ष्मी परियार, रमा खड्का, वर्षीया सुनीता श्रेष्ठ र धरान–१५ की जानुका निरौला घाइते भएको प्रहरीले जनाएको छ। उनीहरू सबै शिवरात्रिका अवसरमा हलेसी महादेवमा लागेको मेला भरेर फर्कंदै थिए।लोकबहादुरको अवस्था चिन्ताजनक रहेको प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए। स्थानीय स्वास्थ्यसंस्थामा उपचार हुन नसकेपछि घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
सडकमा झरेको पहिरोमाथिबाट पार गराउने क्रममा असन्तुलित भई जिप भिरमा खसेको अनुमान छ। टाउकोमा सामान्य चोट लागेका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बतायो।