काठमाडौं– भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी इन्डिगो एयरको जहाजको दायाँ चक्कामा आगलागी भएको छ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक ऋषिकेश शर्माका अनुसार मध्याह्न १२:३३ बजे इन्डिगोको एयरबस ए३२० जहाजको चक्कामा आगलागी भएको हो। उडान नम्बर आइजिओ ०३१ को जहाजमा चालक दलका ६ सहित एकसय ८२ यात्रु थिए।
'जहाज अवतरण गरेपछि पार्किङ बे मा ल्याउने क्रममा पछाडिको दायाँ चक्कामा आगलागी भएको थियो,' शर्माले भने, ‘सबै यात्रुलाई सकुशल उद्धार गर्न सकिए पनि एक भारतीय यात्रुलाई भने सामान्य चोट लागेको छ।'
जहाजमा कुनै क्षति नभएको उनले बताए। आगलागीको कारण खुल्न सकेको छैन। आगो लागेपछि विमानस्थलमा तैनाथ नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार तथा अग्नि नियन्त्रक टोलीले तत्काल आगो निभाउन सफल भएको शर्माले जनाए। जहाज विमानस्थलमै ग्राउन्डेड छ।