काठमाडौं– सिनामंगलस्थित सुकुम्बासी बस्तीमा आइतबार भएको आगलागीले ५० टहरा नष्ट भएका छन्। भारतको आन्द्रप्रदेशका मानिसको बाहुल्य रहेको उक्त बस्तीमा विद्युत सर्ट भई आगो लाग्दा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। मानवीय क्षति भने भएको छैन।
आइतबार दिउँसो बस्ती बीचमा रहेको लक्ष्मी गिरीको टहरामा विद्युत सर्ट भई आगलागी भएको थियो। आगलागीका कारण ५० परिवारको बासस्थान खोसिएको छ। गिरीको टहराबाट सवा एक बजे लागेको आगोले आसपासका ५० वटै टहरा जलेर नष्ट भएको गौशाला प्रहरी वृत्तका डिएसपी अभिनारायण काफ्लेले बताए।
डिएसपी काफ्लेका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र दमकलको सहायतामा एक घन्टाभित्र आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि पाँचवटा दमकल र दुई ट्यांकर पानी प्रयोग भएको थियो।
‘बस्तीका टहरा बाँस र काठबाट बनेकाले त्यहाँ रहेका ५० वटै टहरा जलेर नष्ट भए,' उनले भने, ‘आसपासका अन्य घर भने जोगाउन सफल भयौं।' उनका अनुसार आगलागीका कारण बस्तीसँगै जोडिएको कल्पना भण्डारीको तीनतले पक्की घरमा सामान्य क्षति भएको छ।
सिनामंगल वडा नम्बर ९ स्थित नोबल कलेजपछाडि बागमती किनारामा रहेको उक्त बस्ती निजी जग्गामा बसेको हो। सुशील विजयानन्द र गोपाल जगलुको नाममा रहेको जग्गामा बनाइएको टहरमा ५० परिवारले मासिक भाडा तिरेर टहराको बस्ती बसालेका थिए।
कबाडी व्यवसायमा संलग्न गिरीको घरबाट आगलागी सुरु भएलगत्तै कलेजका केही विद्यार्थीले पीडितहरूको उद्धार गरेका थिए। उद्धार क्रममा कलेजका केही विद्यार्थी सामान्य घाइते भएका छन्। घाइते विद्यार्थीलाई सिनामंगलस्थित नोबल अस्पतालमा उपचारपछि घर फर्काइएको छ।
बस्तीमा भारतबाट १२ वर्षअघि आएर कबाडी व्यवसायमा लाग्दै आएका एकै गाउँका ८ परिवारसहित भारतकै अन्य स्थानका परिवारको बसोबास थियो। ‘आगलागीलगत्तै सबैले केही कपडा र ओछ्यान निकाल्न भ्याए, तर मैले केही निकाल्न भ्याइनँ,' आगलागीपीडित सम्पत गिरीले भने, ‘लगाएको एक सरो लुगाबाहेक केही बाँकी रहेन।'
आगलागीका कारण १० दिनअघि मात्र सुत्केरी भएकी अञ्जली गिरी र २० दिनअघि सुत्केरी भएकी एलवा गिरी पनि घरबारविहीन बनेका छन्। खोला किनारमा काखमा १० दिने छोरा च्यापेर बसेकी अञ्जलीले भनिन्, ‘हामी त जसोतसो रात काट्न सकौंला, बच्चालाई राति कसरी सुरक्षित राख्ने?' उनले घरसँगै भएको सम्पत्ति समेत नष्ट भएको सुनाइन्।