काठमाडौं– गृहमन्त्री वामदेव गौतमले तीन महिनाभन्दा लामो समयदेखि रोकिएको डिआइजीहरूको बढुवा छिट्टै हुने बताएका छन्। प्रहरी प्रधान कार्यालयको निरीक्षण क्रममा उनले मगलबार सम्भावित बढुवाको रुचीमा रहेका डिआइजीहरूलाई बधाइसमेत दिए।
कात्तिक अन्तिमदेखि नेपाल प्रहरीमा सात एआइजी पद रिक्त छ। संविधानसभा नतिजापछि नयाँ सरकारले बढुवा गर्नुपर्ने भन्दै दबाब आएपछि तत्कालीन सरकारले डिआइजीहरूको बढुवा गर्न सकेको थिएन। जसले गर्दा एआइजी प्रमुख रहने महनगरीय प्रहरी आयुक्त कार्यालय, अपराध अनुसन्धान विभाग, मानवस्रोत विभाग, प्रशासन विभागलगायत स्थानमा लामो समयदेखि डिआइजीले काम चलाइरहेका छन्। नेपाल प्रहरीमा सात एआइजीका लागि १३ दाबेदार छन्।
आफ्नो इच्छा गृह मन्त्रालयभन्दा माथिल्लो तहमा जाने भए पनि बाध्यताले गृहमन्त्रीमै सीमित हुनुपरेको उल्लेख गर्दै उनले अघिल्ला गृहमन्त्रीको कार्यकालसँग जोडेर विश्लेषण नगर्न आग्रहसमेत गरे। अहिलेका प्रहरी महानिरीक्षकसँगको आफ्नो सम्बन्ध दुईतर्फी नै सुमधूर रहेको स्पष्टीकरणसमेत उनले दिन भ्याए।
प्रहरी परिचालन र शान्ति सुरक्षाको प्रबन्धमा अहिले केही सुधार भए पनि आफू पूर्ण सन्तुष्ट नभएको जनाउँदै गृहमन्त्री गौतमले सुधारका लागि प्रहरी अधिकारीहरूलाई निर्देशन दिए। अपराधमा संलग्न व्यक्तिलाई पार्टीगत संलग्नता वा व्यक्तिसँगको संलग्नता नहेरी अपराधका आधारमा पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा बिना हिच्किचाहट ल्याउन पनि सचेत गराए।