कपिलवस्तु– बीरपुर–८ पिपरीमा मंगलबार आगलागीबाट आधा बस्ती सखाप भएको छ। आगलागीमा सट्टु भर ६ वर्षे छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जागेश्वर भण्डारीका अनुसार आगलागी उनकै घरबाट सुरु भएको थियो। आगलागीबाट गाउँको पूर्वतिर रहेका ४८ घर जलेको छ। स्थानीयका अन्नपात, लत्ताकपडा, गरगहना, नगदलगायत सबै सामान जलेका छन्। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
हावाहुरीले गर्दा आगो नियन्त्रणमा कठिनाइको सामना गर्नुपरेको भण्डारीले बताए। सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा तौलिहवा र बुटवलबाट गएको दमकलले करिब तीन घन्टापछि आगो नियन्त्रणमा लिएको थियो। यसअघि शनिवार जहदी–७ मा आगलागी हुँदा २९ घर जलेका थिए।