चितवन– भरतपुर कारागारभित्रै भएको आक्रमणमा परेर ज्यान गुमाएका नेपाल तरुण दलका तत्कालीन जिल्ला सभापति शिव पौडेल हत्या प्रकरणमा जिल्ला अदालतले बिहीबार आठ जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। ६ जनालाई पाँच वर्ष कैद फैसला भएको छ भने घटनामा नाम मुछिएका २७ मध्ये १४ जनाले सफाइ पाएका छन्।
२०५८* २०६८ साल मंसिर २० गते पौडेलमाथि कारागारभित्रै आक्रमण भएको थियो। उपचार क्रममा केही दिनपछि उनको मृत्यु भएको थियो। ५८ साल भदौ १० मा सञ्जय लामाको हत्या भएपछि पौडेलविरुद्ध उजुरी दायर भएको थियो। सोही हत्या अभियोगमा पौडेल पुर्पक्षका लागि भरतपुर कारगारको थुनामा थिए।
लामाको हत्या हुनुभन्दा दुई वर्षअघि २०६६ साल जेठमा शिवका भाइ गोपीको हत्या भएको थियो। गोपी हत्याको अभियोगमा कारागारमा थुनामा रहेकाहरूले नै शिवमाथि आक्रमण गरेर ज्यानै लिएका थिए। धाराको ह्यान्डिलले टाउकोमा हिर्काउदा गम्भीर घाइते पौडेलको सुरुमा भरतपुरमा र पछि काठमाडौंमा उपचार भएको थियो। उनको पुस २ गते मृत्यु भएको थियो।
जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको इजलासले बिहीबार सो मुद्दामा फैसला सुनाएको हो। जसअनुसार सुनील गुरुङ, शरण गुरुङ, सुनिल केसी, फणिन्द्र श्रेष्ठ, सुरज श्रेष्ठ ‘छोइला', दिलबहादुर लामा, सुजेन्द्र राई र अमिर गुरुङलाई जन्मकैद भएको छ। यसैगरी पाँच वर्ष कैद सजाय तोकिएकाहरूमा प्रकाश तमाङ, अमित लामा, चन्द्रबहादुर थापा, राजकुमार घलान, विक्रम लामा र भीम पाख्रिन छन्।
त्यस्तै जन्मकैद माग भएका सूर्यबहादुर पुन, सानु भन्ने सुजेन्द्र तमाङ र दिपक शाहले सफाइ पाएका छन्। घटनामा २७ जनाविरुद्ध मुद्दा दायर भएको थियो। १७ जनालाई हत्या र १० जनालाई योजनाकारको अभियोग थियो।
हत्यामा संलग्न भएको आरोप लागेका सबै १७ जना शिवका भाइ गोपीको हत्या अभियोगमा भरतपुर कारागारमा रहेका त्यो बेलाका थुनुवाहरू नै हुन्। कारागारबाहिर रहेका १० जना व्यक्तिहरू प्रकाश रेग्मी, सुरजकुमार शाही, विनोद तामाङ, कुमार देउजा, बाबुराम भण्डारी, सुशील केसी, नितिश राई, हितमान गुरुङ, विवेक राई र विष्णु पाण्डेलाई योजनाकारको अभियोग लागेको थियो।