सिल्दजुरे (कास्की)-श्रीप्रसाद गुरुङको निद्रा दिनदिनैजसो खलबलिन्छ। राति सुतिसकेपछि चर्को आवाज आउँछ र उनलाई ब्युँझाउँछ। घर भत्कन्छ कि भन्ने डरले उनी सुत्नै सक्दैनन्। घरमुन्तिरको बारीमा ठूल्ठूला प्वाल परेको देख्दा के रात के दिन, जतिखेर पनि उनलाई चिन्ताको आगोले पोलिरहन्छ।गुरुङको दैलोमुन्तिरै सुरुङ खनिँदैछ। माथिल्लो मादी जलविद्युत आयोजनाका लागि पानी लैजाने सुरुङमार्ग बनाउँदा दिनरात बम पड्काइन्छ र त्यसको आवाजले श्रीको मुटु थर्काउँछ। ‘घरै चिरिइसक्यो,’ उनी भन्छन्, ‘कुन दिन ढल्ने हो, थाहा छैन।’
लक्ष्मी बराल १० वर्षदेखि हात्तीपाइले रोगले थलिएकी छन्। राम्ररी हिँड्न सक्दिनन्। उनका लोग्ने धेरै नै वृद्ध भएकाले कुनै इलमधन्दा गर्ने बल छैन। केटाकेटी भने साना छन्। श्रीप्रसादको जस्तै उनको घर पनि बमको आवाजले थर्किन्छ र चर्कन थालेको छ। ‘हामी बूढाबूढीको त मुटु चर्कियो,’ उनले बिलौनाको भावमा भनिन्, ‘त्यही घर पनि भत्कियो भने हामी कहाँ जाने, के गर्ने?’
उनीहरुको घरछेउ एक सयदेखि दुई सय मिटरमुन्तिर सुरुङ निर्माण भइरहेको छ। आयोजनाले ४२ सय मिटर सुरुङ खन्न विस्फोट पनि गराउँदै आएको छ। त्यही बिस्फोटले जमिन थर्किंदा सिल्दजुरे चासुका १४ घर जोखिममा छन्। ‘बाहिर काम गर्दा पनि ढुंगा उछिट्टिएर घरको टिन प्वाल पारेको छ,’ आफ्नो घरको छानाका ठाउँ–ठाउँमा परेका भ्वाङ देखाउँदै सुवास गुरुङले भने।
आयोजनासँग क्षतिपूर्ति र राहत माग्दा पनि केही नपाएको धनबहादुर गुरुङले बताए। ‘पूरै घर भत्क्यो भने दिन्छौं पो भन्छ त,’ आयोजना निर्माता चिनियाँ कम्पनीका अधिकारीको भनाइ उद्धृत गर्दै सुवास भन्छन्, ‘हाम्रो मर्काबारे चिनियाँ भाषामै भन्दा पनि उनीहरु बुझेनौं भन्छन्, आफूलाई फाइदा हुने कुरा भए नेपालीमै भने पनि बुझ्छ।’ स्थानीय बासिन्दा जोखिम व्यवस्थापन नगरी सुरुङ खनेकै कारण पोहोर आयोजनाकै कर्मचारी शुकदेव भट्टराईको ज्यान गएको बताउँछन्। वैशाख दोस्रो साता पनि सुरुङभित्र १६ जना कर्मचारी तथा मजदुर थुनिएका थिए। तीमध्ये ३ जनाले ज्यान गुमाए।
२५ मेगावाट क्षमताको जलविद्युत आयोजना चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) र नेपाली लगानीकर्ताले निर्माण गरिरहेका हुन्। नेपालीले २० र चिनियाँले ८० प्रतिशत लगानी गरेका छन्। २०६९ पुसमा निर्माण थालिएको आयोजना ६ अर्ब रुपैयाँ खर्चमा बन्दैछ। अहिलेसम्म आधा काम सकिएको अधिकारीहरु बताउँछन्।
स्थानीयको गुनासोबारे चिनियाँ अधिकारी लि जुउनले आफूहरुको केन्द्रीय कार्यालयबाटै निर्णय हुनुपर्ने जानकारी दिए। वास्तविक समस्या भए–नभएको हेरेर उतैबाट निर्णय लिइने उनले बताए। तर, स्थानीय भने त्यो प्रक्रिया लामो हुने भएकाले आफूहरुलाई सुरक्षित ठाउँमा पुनर्स्थापित गरिनुपर्ने बताउँछन्।
जोखिममा परेका घरधनी सबैजसो निम्नस्तरको जीवन गुजारा गरिरहेका छन्। ‘बोल्न नसक्ने र आन्दोलन गर्न नसक्ने भएकाले कसैले पनि सुनेनन्,’ यसै साता सांसद यज्ञबहादुर थापा उनीहरुको पीडा बुझ्न पुगेका बेला स्थानीय रामबहादुर गुरुङले भने।
चेतनाथ बराल कान कम सुन्छन् तर सुस्तरी बोल्छन्। उनले गाउँमा आएका गन्यमान्यसामु धेरैपटक आफ्नो घर भत्किन लागेको समस्या बताइसके। तर, सुनुवाइ भएको छैन। बरालको घरमा नगद आम्दानीको बाटो केही छैन। आयोजना बनेपछि मजदुरी नै भए पनि गर्न पाइने आशा उनले गरेका थिए। ‘काम त पाइएन–पाइएन, आफ्नै घरमा बस्न पनि नपाइलाजस्तो भा’छ,’ उनले नागरिकसँग भने।