काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलको सरुवाका लागि गृह मन्त्रालयको पत्रबारे निर्वाचन आयोगको आचारसंहिता समितिले कुनै निर्णय गर्न सकेन।
आयुक्त अयोधीप्रसाद यादवको संयोजकत्वमा रहेको समितिको बुधबार बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावबारे आयोगको पूर्ण बैठकबाट छलफल गरी निर्णय हुनुपर्ने भन्दै निर्णयार्थ पूर्ण बैठकमा पठाउने निर्णय गरेको हो।
'अब आयोगको पूर्ण बैठकले मात्रै गृह मन्त्रालयको प्रस्तावबारे निर्णय गर्छ,' निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले नागरिकन्युजसँग भने।
बढुवाकालागि डिआइजीहरू ब्रिफकेस बोकेर नेता र शक्तिकेन्द्रको ढोका धाइरहेकोसार्वजनिक अभिव्यक्त दिएर विवादमा आएपछि गृहले काठमाडौं परिसरका प्रमुख रमेश खरेलको सरुवाको प्रक्रिया अगाडि बढाएको थियो। प्रहरी प्रधान कार्यालयले उनको अभिव्यक्तिको अनुसन्धानका लागि डिआइजी विज्ञानराज शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। एक साताको म्याद पाएको समितिले काम सुरु गरे पनि निष्कर्ष आउनुअघि नै खरेललाई प्रहरी प्रधान कार्यालयमा तानेर गृहले उनको ठाउँमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी उत्तम कार्कीलाई ल्याउने निर्णय सोमबारै गरिसकेको छ।
आजै खरेललाई प्रधान कार्यालयमा तानेर कार्कीलाई काठमाडौं प्रहरी प्रमुखको पत्र दिने गृहले तयारी गरे पनि निर्वाचन आयोगको निर्णय नआएकाले प्रक्रिया रोकिएको छ।