पोखरा– फेवातालको जलाशय क्षेत्रमा लगाइएको पर्खाल हटाउन जिल्ला प्रशासनले डुंगा व्यवसायीलाई निर्देशन दिएको छ। तत्काल पर्खाल नहटाए कानुनी कारबाही गरिने प्रशासनको चेतावनी छ।
‘मनलागी तरिकाले पर्खाल लगाएकाले पाँच दिनभित्र भत्काएर थुपारिएका ढुंगा बाहिर निकाल्न निर्देशन दिएका छौं,' प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने, ‘ताललाई पूर्ववत् अवस्थामै ल्याउनुपर्छ। अटेर गरे कारबाही हुन्छ।'
हाल सञ्चालित डुंगाघाट साँघुरो भएकोले विस्तार गर्ने भन्दै डुंगा व्यवसायीले फेवातालको जलाशय क्षेत्र मिचेर पर्खाल निर्माण गरेका थिए। पानी घटेको मौका छोपी व्यवसायीले ताल अतिक्रमण गरेपछि सर्वत्र विरोध भएको थियो।
व्यवसायीले अनुमतिबेगर पर्खाल लगाएपछि जिल्ला विकास समितिले चासो देखाएको छ। जिविसले पर्खाल तत्काल भत्काउन प्रशासनलाई अनुरोधसहति पत्र लेखेको थियो। स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक सम्पत्तिमाथि कसैले धावा बोल्न नपाउने बताए। ‘सार्वजनिक सम्पत्तिमाथि कसैले हस्तक्षेप गर्न पाउँदैन,' उनले भने, ‘त्यसैले डुंगा व्यवसायीलाई कारबाही गर्न प्रशासनलाई पत्राचार गरेका हौं। यसै गरी पर्खाल लगाउँदै जाने हो भने भोलि तालक्षेत्र झन् सानो हुँदै जानेछ।' व्यवसायीले अहिलेसम्म ४० मिटर लामो र दुई मिटर चौडाइको पर्खाल निर्माण गरिसकेका छन्। तीन मिटर अग्लो पर्खाल लगाउने उनीहरूको तयारी थियो। उनीहरूले ताल क्षेत्र छुट्याएर यसअघि बनाइएको पक्की तटबन्धभन्दा करिब २० मिटरभित्र नयाँ पर्खालको जग उठाएका हुन्।
प्रशासनले रोक लगाएपछि व्यवसायीले पनि काम रोकेका छन्। ‘डुंगाघाट साँघुरो भएकाले विस्तार गर्न खोजेका थियौं,' फेवा डुंगा व्यवसायी समिति सचिव कृष्ण गिरीले भने, ‘तर, प्रशासनले रोक लगाएको छ। पाँच दिनभित्र पर्खाल हटाइसक्छौं।' ताल मिच्न नभएर यात्रुको सुविधाका लागि डुंगाघाट विस्तार गर्न खोजिएको उनले बताए।