काठमाडौं- स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै ननिकाली आन्तरिक निर्णयको भरमा एकैचोटि एक हजारभन्दा बढीलाई स्वास्थ्य सेवाका विभिन्न पदमा करार नियुक्ति दिएको विषयमा अख्तियारले छानविन सुरु गरेको छ।
सरकारी नियुक्तिको सर्वमान्य सिद्धान्तकै धज्जी उडाउँदै स्वास्थ्यमन्त्री खगराज अधिकारी र सचिव डा. प्रवीण मिश्रको एकल निर्णयको भरमा १ हजार ३ सय ४७ जनालाई करार नियुक्ति गरेको समाचार आए पछि आज अख्तियारले मन्त्रालयबाट फाइल जफत गरेको छ। स्रोतका अनुसार मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट तीन बजे तिर फाइल अख्तियारले लगेको थियो।
नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक, प्राविधिक लगायत पदमा आफ्ना 'राजनीतिक कार्यकर्ता' भर्ती गर्न गुपचुप करार नियुक्ति गरिएको मन्त्रालयकै अधिकारी बताउँछन्। स्रोतका अनुसार जेठ १८ गते स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठकबाट पचहत्तरै जिल्लाका लागि करार नियुक्ति गर्ने निर्णय भएको थियो। त्यसै आधारमा 'आफ्ना मान्छे' लाई धमाधम निवेदन दर्ता गर्न लगाइयो। एकैजनाले दर्जनौं निवेदन बुझाए। त्यही निवेदन भरमा बिहीबार १ हजार ३ सय ४७ जनालाई करारपत्र थमाइएको हो। केही दिनअघि यसैगरी १ सय ६० जनाको करार नियुक्ति भएको थियो।
मन्त्रालयमा बिहीबार दिनभरि करारपत्र बुझ्न आउनेको भिड थियो। भुइँतलामा रहेको प्रशासन महाशाखाको टेबुलभरि नियुक्तिपत्रको खात देखिन्थ्यो। आएका व्यक्तिका हातमा नियुक्तिपत्र थमाउन महाशाखाका कर्मचारीलाई भ्याइनभ्याइ थियो। केहीलाई 'प्रिन्टरमा टोनर सकिएको छ' भनी फिर्तासमेत पठाइयो।
नियुक्तिपत्र वितरण पनि घर बनाउने ठेकेदारलाई कामदारको जिम्मा दिएजस्तो देखिन्थ्यो। एकैजनाले २०–२५ वटासम्म बुझेर लगेका थिए। 'चिनजानका साथीभाइको नियुक्तिपत्र हो,' ११ जनाको नियुक्तिपत्र बुझेका कास्कीका एक स्वास्थ्यकर्मीले भने, 'सबैलाई लगेर बाँड्नुपर्छ।' यसरी नियुक्तिपत्रको ठेली बुझेर जानेलाई 'करारका दलाल' भनी हाँसो गरिएको थियो।
स्वास्थ्य सेवा ऐनमा 'ज्यालादारी वा करार नियुक्ति गर्न–गराउन नपाइने' स्पष्ट व्यवस्था छ। स्वास्थ्य सेवाको कुनै पदमा योग्यताप्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीलाई दुइटा सर्तमा मात्र करार सेवामा काम लगाउन सकिने ऐनको दफा ८ (ख) मा व्यवस्था छ।