काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहिबारवाटै मादक पदार्थ सेवन( मापसे) गरेर सवारी चलाउने चालकलाई दुरुत्साहित गर्न वर्ल्डकप केन्द्रीत मादक पदार्थ सेवन जाँच तालिका लागु गरेको छ।
महाशाखाले यस अगाडि १२ वजेसम्म मापसे जाँचका लागी चेकिङपोस्ट राख्दै आएको थियो। ट्राफिक महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीका अनुसार विश्वकपको खेल शुरु भएपछि वल्डकपको खेल तालीका अनुसार चेक प्वाइन्टहरु राखेर जाँच हुनेछ।
अधिकारीले वर्ल्डकपको समय तालिका अनुसार ट्राफिक प्रहरी परिचालनका लागी मातहतका सबै ट्राफीक कार्यालयहरुलाई निर्देशन दिइसकेको बताए। महाशाखाका अनुसार महाशाखाको नेतृत्वमा ३ वटा टोली खटिने छन् भने प्रहरी निरिक्षकको कमान्डमा १४ वटा प्वाइन्टमा प्रहरी खटिने छन्। सरप्राइज चेकिङका लागी छड्के हान्ने टोली समेत परिचालीत हुने डिआइजी अधिकारीले जानकारी दिए।
'हाम्रो लक्ष वर्ल्डकप हेर्नेहरुलाई निरुत्साहित गर्ने हैन, दुघर्टना नियन्त्रण गर्ने हो ' उनले भने' तर वल्डकपको जोशमा परिवारका सदस्यले रुनु नपरोस् भनेर विशेष नियन्त्रण अभियान राखेका हौं।'