पोखरा-वेदलाई धेरैले धार्मिक ग्रन्थमात्रै मान्छन्। पृथ्वीनारायण क्याम्पस पोखराका अध्यापक शुक्रराज अधिकारीले भने यसलाई आजभन्दा झन्डै ४ हजार वर्ष पहिलेको समाज बुझ्ने माध्यम बनाए।
समाजशास्त्रीय लेन्सबाट हेरेर उनले खासगरी ऊ बेलाको समाजमा पुरुष र नारीको स्थानलाई केलाएका छन्। आफूले अध्ययन अनुसन्धान र विश्लेषण गरी खोजेका तथ्यलाई शनिबार उनले पोखरामा पाठकहरुमाझ पस्किए।
किताब पढ्नेहरुको संस्था र्यान्डम रिडर्स सोसाइटी अफ नेपालले मिलाएको चाँजोको सदुपयोग गर्दै अधिकारीले भने, 'वेदकालीन समाज पुरुषप्रधान थियो।' ग्रामीण परिवेशको जनजीवन र पशुपालनमा आश्रित जीविकाको बेला युद्धबाट गुज्रने समाजले पुरुषलाई महत्व दिएको उनले बताए। 'तर नारीलाई त्यतिबेलाको समाजले घृणा गरेको छैन। बरु सम्मान नै गरेको छ,' उनले भने, 'युद्ध भइरहने हुनाले लडाइँमा जाने पुरुषको आवश्यकता समाजले धेरै महसुस गरे पनि त्यतिबेलाको समाजमा समेत महिला पनि युद्धमा गएको देखिन्छ।'
अध्येता अधिकारीले वेद र महाभारत तथा रामायणकालीन समयका बीचमा निकै ठूलो अन्तर रहेको पनि जानकारी दिए। वेदकालीन समय विज्ञानसम्मत भए पनि त्यसपछि धर्म र अध्यात्मको विकासले समाजलाई अन्धविश्वासी बनाउँदै लगेको उनको भनाइ थियो।
महिला पनि मलामी जाने र परिवारको हरेक पर्व, उत्सव र कर्ममा महिलाको सहअस्तित्वलाई वेदकालीन समाजले अनिवार्य ठानेको अधिकारीले बताए। 'त्यो समाजमा न सतीप्रथा थियो न त सम्बन्धविच्छेद नै ,' उनले भने, 'यी कुरा पछिको समयमा आए होलान्। त्यतिबेलाचाहिँ भएको पाइएन।'
थुप्रै ऋषि/ऋषिकाले रचेका मन्त्र तथा श्लोकको संकलन नै वेद भएको जानकारी अधिकारीले दिए। वेदमाथि नै विद्यावारिरिध गरेका उनका अनुसार १२/१३ सय वर्षसम्म श्रृतिपरम्परामा रहेका मन्त्रलाई संकलन गरी पछि वेद तयार गरिएको हो।
अहिलेका हिन्दु ब्राह्मण क्षत्री समुदायमा प्रचलित विवाह पद्धति वेदकालीन सभ्यता भएको जानकारी अधिकारीले दिए। 'यज्ञ ब्राह्मण क्षत्रीको सामाजिक संगठन हो,' उनले भने, 'यसलाई धार्मिक नजरले मात्रै हेरिनुहुँदैन।' माक्र्सवादी नजर लगाएर समेत वेद अध्ययन गरेको बताउँदै अधिकारीले यज्ञले आर्थिक र सामाजिक संगठनको काम गर्ने बताए। 'कार्ल माक्र्सले वेद पढेको भए उनको माक्र्सवाद त्यसरी लेखिदैनथ्यो,' उनले दाबी गरे, 'बेलायत , फ्रान्स र जर्मनको समाजमात्रै अध्ययन गरेका उनले पूर्वीय दर्शन अध्ययन गर्न छुटाए।' अधिकारीका अनुसार वेदकालीन समाजले जातिपातिको कल्पना गरेको छैन। हुने र नहुने वर्गभन्दा पनि सबैको आफ्नोआफ्नो कर्म वेदकालमा रहेको उनले बताए। 'वैचारिक शक्तिका आधारमा पुरोहित वर्ग प्रभुत्वशाली बन्दै विधि विधान निर्माता बनेको देखिन्छ,' उनले भने।
सोसाइटीका अध्यक्ष गनेस पौडेलले पाश्चात्य साहित्य र दर्शनसँगसँगै पूर्वीयलाई चिन्नुपर्ने, जान्नुपर्ने आवश्यकता बोध गर्दै वेदकालीन समाजको समाजशास्त्रीय दृष्टिकोणमाथि छलफल चलाइएको जानकारी दिए।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावीले जानकारी दिए ।