काठमाडौं– ६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको जानकारी दिएको छ।
ब्युरोका अनुसार छाला बिक्री गर्न लागेको भन्ने विशेषसूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले सोमबार लखतीर्थ मन्दिरअगाडिबाट रामबहादुर तामाङ, केशवनारायण श्रेष्ठ, अर्जुन मगर र सुलभ घिसिङलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्मको लम्बाइ ६ फिट र चौडाइ १ फिट ४ इन्चको चितुवाको छाला फेला परेपछि वन्यजन्तु संरक्षण ऐन अनुसार उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। ब्युरोले उनीहरुलाई थप अनुसन्धानका लागि सोमबारै जिल्ला वन कार्यालय हात्तीसार बुझाएको जनाएको छ।