पोखरा- स्कुल नजाने बालबालिका अत्यन्तै न्यून रहेको र साक्षरता दर अति बढी भएको कास्कीमा यस वर्षको एसएलसी नतिजाले खासै सुखद सञ्चार गर्न सकेन। केही वर्षयता ओरालो दिशामा आइरहेको एसएलसी उत्तीर्णको प्रतिशत गत बर्ष भन्दा यसपालि १ प्रतिशत बिन्दुले मात्रै बढेको छ।
पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लाका २५ विद्यालयबाट एकजना विद्यार्थीले पनि परीक्षा उत्तीर्ण गरेनन्। पोहोर यो क्षेत्रका १८ विद्यालयको नजिता शून्य थियो। त्यसबाट पाठ सिकेर शैक्षिक स्तर उकास्न प्रयत्न हुनुको साटो नतिजा झन् निराशाजक आएको छ।
बालबालिका स्कुलबाहिर खासै नभएको र साक्षरता बढी भएको कास्कीका २ विद्यालयले आफ्ना कुनै पनि विद्यार्थीलाई पास गराउन सकेनन्। पोहोर भने कास्कीका सबै विद्यालयले एक न एक विद्यार्थी पास गराउन सफल भएका थिए। कास्कीका ३ प्रतिशत बालबालिकामात्रै स्कुलबाहिर रहेको जिल्ला शिक्षाका अधिकारी बताउँछन्। जिल्लाको साक्षरता दर ८२ प्रतिशत छ।
कास्कीमा एसएलसीको नियमित परीक्षा दिएकामध्ये ६ हजार ३ सय ५२ विद्यार्थी उर्तीण भएका छन्। जुन ६८ दशमलव ६१ प्रतिशत हो। अघिल्लो वर्षको तुलनामा सामुदायिक विद्यालयको नतिजा आरोलो लागेको छ भने निजीको बढ्दै गएको छ। कास्कीको अन्नपूर्ण मावि अर्मला र दूधपोखरी मावि पार्चेको नतिजा शून्य आएको हो। कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीका अनुसार शून्य नजिता ल्याएका विद्यालयका शिक्षकको अनुदान सरकारले कटौती गर्नेछ।
क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका अनुसार २ सय ६० विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए। यो क्षेत्रबाट ४९ दशमलव ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको कार्यालयको परीक्षा शाखाका अधिकृत बद्री सुवेदीले जानकारी दिए। २०६९ मा ४९ दशमलव ८६ प्रतिशत उत्तीर्ण भएका थिए।
'पोहोरको दाँजोमा केही सन्तोषजक रिजल्ट आयो,' सुवेदीले भने, 'सामुदायिक विद्यालयको नजिता भने ओरालो लागेको छ।' सामुदायिक विद्यालयको नजिता २ प्रतिशत जतिले पोहोरभन्दा कम भएको जानकारी उनले दिए। सबैभन्दा बढी मुस्ताङको ७२ दशमलव ५७ प्रतिशत उत्तीर्ण भएका छन्। उत्कृष्टतामा म्याग्दीले मुस्ताङलाई पछ्याएको छ भने कपिलवस्तु सबैभन्दा पछाडि छ। कपिलवस्तुको नतिजा जम्मा २४ दशमलव ६६ प्रतिशत आएको छ।
कास्कीमा एउटामात्रै विद्यालय महेन्द्र मावि लामाचौरले शतप्रतिशत विद्यार्थी उर्त्तीण गराउन सफल भएको छ। अनुत्तीर्ण भएका धेरैजसो विद्यार्थीलाई सामाजिक शिक्षा र ऐच्छिक गणित लागेको छ। सिकेको सिपलाई व्यवहारमा लागु नगराउँदा विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेको निमित्त जिशिअ सुवेदी बताउँछन्।