पोखरा-लेखनाथ नगरपालिकाको विजयपुरनजिकै चुरोट गोदाममा बुधबार बिहान भएको आगजनीबाट करोडौंको धनमाल नोक्सान भएको छ। सूर्य टोबाको कम्पनीको गोदाम रहेको ५ तले घरमा रातिको २ बजे अचानक आगो लागेको थियो।
सयभन्दा बढी संख्यामा परिचालित सेना र प्रहरीले बिहान १० बजेसम्म पनि आगो पूर्ण रुपमा निभाउन सकेका थिएनन्। धुवाँको मुस्लो निस्केको देखेर सुरक्षा गार्डले आगजनी थाहा पाएलगत्तै प्रहरी डाकेर राति साढे २ बजेबाटै निभाउन प्रयास गरिएको थियो।
स्थानीय शालिकराम घिमिरेले ५ वर्षअघि बनाएको घरको पहिलो तलामा चुरोट गोदाम थियो। २२ कोठा बराबर अर्थात ९ हजार वर्गमिटरको तलाका सबै चुरोट जलेर नस्ट भएका छन्। कति चुरोट थियो भन्ने यकिन नरहेको सूर्य नेपालका प्रतिनिधि विदुर अधिकारीले नागरिकलाई बताए।
घरधनी घिमिरेका अनुसार ५ वर्षअघि साढे ४ करोड रुपैयाँ लगानी गरी घर निर्माण गरिएको थियो। विशाल आकारको घर २ रोपनी क्षेत्रफल पूरै ओगट्ने गरी बनाएको घिमिरेले जानकारी दिए। पहिलो फ्लोरमा लागेको आगोले छतसमेत झरेकाले पूरै घर काम नलाग्ने बनाएको उनले बताए।