काठमाडौं-महानगरीय प्रहरी वृत्त स्वयम्भुको सुराकीले बाफलको एक घरमा चितुवाको छाला रहेको सूचना ल्याएपछि मंगलबार बिहान ८ बजे प्रहरी टोली बाफलस्थित छिरिङ जिम्बाको डेरामा पुग्यो।
चितवनतिर मारिएको चितुवाको छाला उनको डेरामा रहेको सुराकीको दाबी थियो। चितवन गैंडाकोट–७ का उनको डेरामा खानतलासी गर्दा प्रहरीले खाटमुनि बोरामा लुकाएर राखेको दाँत, पुच्छरसहितको चितुवाको छाला फेला पार्यो। वन्यजन्तुको अवैध कारोबार गरेको आरोपमा छिरिङसँगै शारदा जिम्बा र धादिङका विवश घलान पक्राउ परे।
उपत्यकामा पछिल्लो ६ महिनामा चितुवा, रेडपान्डा, अजिंगरको छाला, हात्तीको दाह्राबाट बनेका सामग्री र ज्युँदो हुँचिलसहित कारोबारी पक्राउ पर्ने क्रम बढेको छ। चितुवाको छाला र हड्डी सबैभन्दा धेरै फेला परेको छ।
असारमा चितुवाको छालासहित कारोबारी पक्राउ परेको यो दोस्रो घटना हो। साताअघि मात्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सात फिट लामो चितुवाको छालासहित चारजनालाई पक्रेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकअनुसार वैशाखयता चारवटा चितुवाको छाला र डेढ किलो हड्डी काठमाडौंमा फेला परेको छ। काठमाडौंमै तीनवटा रेडपान्डाको छालासहित कारोबारी पक्राउ परेका छन्।
दुर्लभ वन्यजन्तुको चोरीसिकारी तथा वन्यजन्तुका अंगप्रत्यंगको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि १९७५ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरÔण ऐनअनुसार चितुवा मार्नु र यसका अंग कारोबार गर्नु दण्डनीय हुन्छ। ब्युरोको तथ्यांकअनुसार असार २ गते काठमाडौं– १५ को लखतिर्थ मन्दिरमा टाउकोदेखि पुच्छरसम्मै भएको ६ फिट लामो र एक फिट चौडाइ भएको चितुवाको छाला फेला परेको थियो। प्रहरीले चितुवाको अंग कारोबार गरेको अभियोगमा रामबहादुर तामाङ, केशवनारायण श्रेष्ठ, अर्जुन मगर र सुलभ घिसिङलाई पक्राउ गर्यो। चार दिन अघिमात्र ब्युरोकै टोलीले काभ्रे खनालथोकबाट ध्वा"से चितुवाको छाला र दाह्रासहित लक्ष्मण बल र रामबहादुर तामाङलाई पक्रेको थियो।
जेठ २९ गते चितुवाको सात फिट छालासहित ललितपुर नखिपोटस्थित सापिद किचेन होटलबाट भुवन थापा, नवीन राई, नवराज थापा र भरतकुमार सुनार पक्राउ परेका थिए। चैत १० मा पुरानो बानेश्वर चोकमा चितुवाको छालासहित डम्बरबहादुर तामाङ पक्राउ परे। सोही दिन प्रहरीले चितुवाको हड्डी र अजिंगरको छालासहित राजु लोप्चनलाई पक्राउ गर्यो।
चितुवाको छालापछि उपत्यकामा फेला पर्ने वन्यजन्तु अंगमा दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत रेडपान्डाको छालाको संख्यासमेत उल्लेख्य छ।
चैत ११ मा दुईवटा रेडपान्डाको छालासहित पासाङ शेर्पा र ईश्वर बस्नेत पक्राउ परेका थिए भने चैत २४ मा सोल्टीमोडमा रेडपान्डाको अर्को छालासहित राहुल तामाङ, मधुसुदन लामा, पेम्बा दोर्जे लामा र कुमार कार्की पक्राउ परेका थिए।
जानकारका अनुसार वैशाख–जेठ चितुवा पोथीको खोजीमा निस्कने समय हो। बासस्थानबाहिर साथी खोज्दै आउने यही मौसममा सिकारी सक्रिय हुँदा चितुवाको सिकार बढ्ने वन्यजन्तु अपराधको अनुसन्धानमा संलग्न ब्युरोका डिएसपी सविन प्रधानले जानकारी दिए।
चितुवा र रेडपान्डाको छाला घरमा सजावट र कपडा बनाउन प्रयोग हुँदै आएको छ। कोठामा सजावटका लागि चितुवाको छालाको माग हुने भएकाले सिकारीले सकेसम्म टाउकोसहितको छाला राख्छन्। हड्डी प्राचीन औषधि बनाउन उपयोग हुने जानकार बताउँछन्।
हात्तीको दाह्राको मूर्ति
उपत्यकामा अजिंगरको छाला र हात्तीको दाह्राबाट बनेका विभिन्न सामग्रीसमेत कारोबार हुने गरेको छ। वैशाख ७ मा ललितपुर कुपण्डोलमा निजी हस्तकला संकलन केन्द्रमा हात्तीको दाह्राबाट बनेको ११ वटा मूर्ति फेला परेपछि कारोबारीले विभिन्न मूर्ति बनाएर हात्तीको दाह्राको कारोबार गर्ने गरेको ब्युरोको अनुसन्धानमा खुलेको थियो।
चैत २५ गते भक्तपुरको ख्वप गार्डेन रेस्टुरेन्टमा छापा मार्दासमेत हात्तीको दाह्राबाट बनेको तीनवटा मूर्ति कारोबार हुँदै गरेको फेला परेको थियो। चैत १० गते जोरपाटी नया"बस्तीमा ज्युँदो हँुचिलसँगै सुनिल तामाङ र खेमराज तामाङ पक्राउ परेका थिए।
ट्रान्जिट काठमाडौं
डिएसपी प्रधानका अनुसार नेपालमा सिकार गरिने वन्यजन्तु अंगको लक्षित बजार चीन नै हो। काठमाडौंबाट स्थलमार्ग प्रयोग गरी वन्यजन्तुका अंग चीनको खासा पुर्याउन कारोबारी काठमाडौंमा सक्रिय रहेको प्रहरीको निष्कर्ष छ।
'काठमाडौं–खासा स्थलमार्ग उपयोगका लागि वन्यजन्तु अंग काठमाडौं आइपुग्छन्,' डिएसपी प्रधानले भने, 'उपत्यकाबाहिरका सहयोगीमार्फत यस्ता अंग काठमाडौं भित्रने गरेको अनुसन्धानमा देखिन्छ।'
प्रहरीले काठमाडौंमा पटक–पटक वन्यजन्तुका अंगसहित कारोबारी पक्राउ गरे पनि अधिकांश सहयोगीमात्र पक्राउ पर्ने गरेका छन्। मुख्य सहयोगी प्रहरी पकडबाहिर छन्। प्रहरी अधिकारी वन्यजन्तु अपराधमा आरोपी पक्राउ परेलगत्तै वनलाई बुझाउनुपर्ने कानुनी व्यवस्थाले अनुसन्धानको समय नै नपाउने तर्क गर्छन्। कानुनी प्रावधानअनुसार वन्यजन्तुको अंगसहित पक्राउ परेको व्यक्तिलाई २४ घन्टाभित्र बरामद सामग्रीसहित वन कार्यालयलाई बुझाउनुपर्छ। बाँकी अनुसन्धान र कारबाही प्रक्रिया वनले अगाडि बढाउने कानुनी प्रावधान छ।
उपत्यकाका तीन जिल्लामध्ये पनि काठमाडौंमा वन्यजन्तुका कारोबारी बढी सक्रिय देखिन्छन्। प्रहरी अनुसन्धानमा काठमाडौंमा तिब्बतीमूलका मानिसको बाक्लो बसोबास रहेको बौद्ध, टुसाल, स्वयम्भू क्षेत्रमा कारोबारी सक्रिय रहेको देखिन्छ।