काठमाडौं– सरकारले शिक्षा र स्वास्थ्यमा बढी बजेट विनियोजन गर्दै सामाजिक सुरक्षाका नयाँ कार्यक्रम सुरु गरेको छ। स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि गर्दै मातृ र बाल मृत्युदर घटाएर औसत आयु बढाउने समग्र लक्ष्य पहिल्याउन ३३ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरिएको छ।
थुप्रै नयाँ कार्यक्रम सुरु भए पनि स्वास्थ्यमा गत वर्षभन्दा कम प्रतिशत बजेट छुट्टिएको छ। सरकारले अन्तर्राष्ट्रिय रूपमा स्वास्थ्यमा १० प्रतिशत बजेट विनियोजन गर्न प्रतिबद्धता गरे पनि साढे ५ प्रतिशत हाराहारी मात्रै विनियोजन भएको छ।गत वर्ष करिब ६ प्रतिशत बजेट स्वास्थ्यमा छुट्ट्याएको थियो। बजेटमा २२ वर्ष पुरानो स्वास्थ्य नीति विस्थापन गरी नयाँ लागु गर्ने प्रमुख प्रतिबद्धता छ।
मन्त्रालयमा मस्यौदा तयार भएको स्वास्थ्य नीतिले स्वास्थ्य क्षेत्रका नयाँ आवश्यकतालाई समेट्ने मन्त्रालयका प्रवक्ता डा. पदमबहादुर चन्दले बताए।
सरकारले बजेट कार्यक्रममार्फत स्वास्थ्य संस्थाको पूर्वाधार आधुनिकीकरण गर्न, अस्पतालको क्षमता अभिवृद्धि गर्न सरकारी–निजी साझेदारी अवधारणा अगाडि सारेको छ। उपचारका लागि बिदेसिने प्रवृत्ति रोक्न सरकारले वीर अस्पतालमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखलगायत अति विशिष्ट र विशिष्ट पदाधिकारीका लागि सुविधासम्पन्न वार्ड व्यवस्था गर्ने कार्यक्रम ल्याएको छ। यसले उपचारका लागि विदेश जाने क्रम घट्ने बजेट प्रस्तुतिका क्रममा अर्थमन्त्री रामशरण महतले दाबी गरे।
बजेटले स्थानीय अवश्यकताअनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा चौबिसै घन्टा तोकिएका निःशुल्क औषधि उपलब्ध गराउने जनाएको छ। यसअघि यस्तो सेवा कार्यालय समयमा मात्रै उपलब्ध हुन्थ्यो। बजेटमा नयाँ कार्यक्रमका रूपमा पाँच अञ्चल अस्पतालमा आइसियु र सबै अञ्चल अस्पतालमा जेडियाटिक (ज्येष्ठ नागरिक) वार्ड स्थापना गर्ने घोषणा गरेको छ।
सरकारले स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक दरबन्दी बढाउने घोषणा गरेको छ। त्यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक संख्या थप गर्ने, दुर्गम र ग्रामीण क्षेत्रमा काम गर्ने चिकित्सक मापदण्ड बनाएर भत्ता व्यवस्था गर्ने नयाँ कार्यक्रम पनि बजेटमा छ। रोग रोकथाम, नियन्त्रण, निवारण र उन्मूलन गरी शिशु मृत्युदर घटाएर नागरिकको स्वास्थ्य स्तर बढाउन खोप सेवा विस्तार र त्यसको दिगो व्यवस्थापनका लागि खोप स्थापना कार्यक्रम समेत ल्याइएको छ।
सरकारले आगामी वर्ष ५ सय स्वास्थ्य चौकी र ३ सय प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल, मिर्गौला रोगको पूर्वपरीक्षण, दक्ष स्वास्थ्यकर्मीको प्रसूति सेवा प्रवर्द्धन गर्न मिडवाइफरी शिक्षा निःशुल्क गर्ने कार्यक्रमसमेत ल्याएको छ।
समुदायमा खटिएका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च दोब्बर पार्नुका साथै पोसाकभत्ता बढाएर प्रतिव्यक्ति ५ हजार पुर्याकइएको छ। सामाजिक सुरक्षातर्फ चालु वर्षदेखि सुरु भएको ३९ रोगको बिमा कार्यक्रम १५ जिल्लामा पुर्याछइने भएको छ।
त्यसैगरी, शिक्षातर्फ विद्यालय शिक्षालाई प्रभावकारी र जीवनउपयोगी तथा शिक्षामा पहुँच बढाउन ऐन संशोधन गरिने भएको छ। सामुदायिकबाट प्रथम श्रेणीमा एसएलसी पास गर्ने दलित, चेपाङ, राउटेलाई १५ सयदेखि ३ हजार रुपैयाँ मासिक छात्रवृत्ति र दलितमा पनि डोम, वादी, चमार र मुसहरलाई डाक्टर, इन्जिनियर शिक्षा निःशुल्क गर्ने नयाँ कार्यक्रम छ।
सबैका लागि शिक्षाअन्तर्गत आगामी आर्थिक वर्षदेखि उच्च शिक्षामा पहुँच बढाउने, साक्षर नेपाल अभियानलाई सफल पार्न आगामी वर्ष निरक्षरता उन्मूलन र यो वर्ष मनाइने साक्षरता कार्यक्रमका लागि १ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ।
विद्यालय शिक्षा विद्यालय गाभ्ने र दरबन्दी मिलान, विद्यालयमा निजी तथा सरकारी साझेदारी अवधारणा र उपलब्ध पूर्वाधार स्रोत नै साझेदारीमा सञ्चालन गरे सरकारले सुविधा दिने, प्रयोगशाला र पुस्तकालय व्यवस्था गर्ने बजेटमा उल्लेख छ। शिक्षामा ८६ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।