झापा– खोला बढ्नासाथ राजमार्गसँग सम्बन्धविच्छेद हुने समस्याबाट शान्तिनगरका बासिन्दा मुक्त भएका छन्। शान्तिनगरलाई धुलाबारीसँग जोड्ने टिमाई खोलामा पक्की पुल शुक्रबारबाट औपचारिक सञ्चालनमा आएको छ।
पुल उद्घाटनमा भेला भएका सयौं स्थानीयले पुल बनेकाले आफ्नो ठाउँको भविष्यप्रति आशावादी बनेको बताए। 'हामीसँगैका अरु गाउँका सडक कालोपत्रे भए, खानेपानी पुगेका छन्,' शान्तिनगर–३ का ७७ वर्षे बुद्धिमान राईले भने, 'आफ्नोचाहिँ खोलैमा पुल नदेखी उमेर गयो। ढिलै भए पनि पुल आयो, अब कालोपत्रे होला। बाटो हिँड्दा अब खोलाले बगाउने डर भएन।'
सरकारले शान्तिनगर तथा आसपासका गाउँका सर्वसाधारणको आउजाउ गर्ने मुख्य बाटोमा पर्ने खोलामा पुल बनाइदिएपछि पूर्वोत्तर झापाका शान्तिनगरसहित मेचीनगर, बाहुनडाँगी तथा दक्षिण इलामका इरौंटार, जिर्मले क्षेत्रका हजारौं सर्वसाधारणलाई सहज भएको छ। 'बर्खा लागेपछि राजमार्ग र बजार पुग्नै समस्या हुन्थ्यो,' पूर्व प्रधानमन्त्री झलनाथ खनालले पुल उद्घाटन गरेपछि स्थानीय बृहस्पति खतिवडाले भने, 'अब त्यो चिन्ता हटेको छ। हामी निर्धक्क आउजाउ गर्न सक्ने भएका छौं।'
२०६८ मा निर्माण कार्य सुरु भएको टिमाई पुल ७० मिटर लामो छ। दुवैतिर पक्की तटबन्ध गरेर बनाएका कारण पुल बलियो बनेको डिभिजन सडक कार्यालय दमकका प्रमुख रामहरि पोखरेलले बताए। उनका अनुसार २ करोड ४५ लाख लागतमा पुल बनेको हो। सबै स्रोत सरकारले नै व्यहोरेको हो।
स्थानीयका अनुसार दक्षिण इलाम र पूर्वोत्तर झापाका विभिन्न गाविस बर्खे तरकारी उत्पादनका लागि पकेट क्षेत्र हुन्। फर्सी, इस्कुस, गोलभेडा, रुख टमाटर, निगुरो लगायतका तरकारी प्रशस्त हुने ती गाउँबाट नजिक पर्ने बजार धुलाबारी हो। तर टिमाई खोलामा पुल नहुँदा तरकारी गाउँमै कुहिने समस्या थियो। 'अब करेसाबारीका उत्पादन सोझै बजार पुर्यााउन सजिलो भएको छ,' स्थानीय लेखनाथ खतिवडाले भने, 'बल्ल गाउँमा एउटा बलियो पूर्वाधार बन्यो। यसले गाउँको जीवनस्तर उकास्न सघाउँछ।'
उद्घाटनमा कार्यक्रममा उपस्थित सर्वसाधारणले विभिन्न दलका नेता तथा सरकारी अधिकारीलाई अब गाउँमा रहेको हात्ती आतंक न्यूनीकरणका लागि पनि भूमिका खेलिदिन आग्रह गरे। स्थानीयका तर्फबाट सभासद् रविन कोइराला, कांग्रेस नेता विश्वप्रकाश शर्मा, एमाओवादी नेता बोधराज दाहाललगायतले गाउँको हात्ती समस्यालाई भारतसँग कुटनीतिक पहलमार्फत समाधान खोज्न आग्रह गरे।
त्यसको जवाफमा वर्तमान सत्ता गठबन्धनका एक नेता झलनाथ खनालले हात्ती र मान्छे दुवैको सुरक्षाको उपाय खोज्ने आश्वासन दिए। कांग्रेस र एमालेको अहिलेको गठबन्धन लोकतान्त्रिक र संघीयतासहितको संविधान समयमै निर्माण गर्न इमान्दार रहेको दाबी गर्दै उनले संविधान बनेपछि मात्रै दिगो विकासको आधार तयार हुने उल्लेख गरे। 'संविधान बनाउन कांग्रेस र हामी इमान्दार छौं', उनले भने, 'अरु दललाई पनि एकाकार गरेर माघ ८ भित्र संविधान निर्माण गर्छौं। त्यसपछि विकासको दिगो संयन्त्र पनि बन्छ।'