चितवन– माडीमा गैंडाले आक्रमण गर्दा शुक्रबार एक वृद्धको ज्यान गएको छ। चितवन प्रहरीका अनुसार माडीको गर्दी ४ घर भएका ७० वर्षीय चैते बोटेको गैंडाको आक्रमणमा मृत्यु भएको हो।
चिया खान गाउँको पसलमा आउँदै गर्दा दिउँसो चार बजे गैंडाले उनलाई आक्रमण गरेको थियो। गम्भीर घाइते बोटेलाई उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ।
माडीमा चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरले दुःख दिने गर्छन्। यो आर्थिक वर्ष सुरु भएपछि जंगली जनावरको आक्रमणमा परेर योसहित दुईजनाको ज्यान गइसकेको छ। यसअघि साउन पहिलो साता माडी अयोध्यापुरीको बगइमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको थियो। निकुञ्जका जनावर निकुञ्जबाहिर मध्यवर्ती क्षेत्रमा आएर स्थानीयको ज्यान लिएमा मृतकका आफन्तले राहतस्वरूप तीन लाख रुपैयाँ पाउने कानुनी व्यवस्था छ।
बाघ, गैंडासँगै जंगली हात्तीले पनि माडीवासीको जन धनको क्षति गराउँदै आएको छ। गत आर्थिक वर्षमा चितवन निकुञ्ज आसपासको क्षेत्रमा जंगली जनावरको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो। माडीलाई जंगली जनावरको आक्रमणबाट मुक्त गराउन निकुञ्ज प्रशासन, मध्यवर्ती समिति र संरक्षणमा क्रियाशील विभिन्न अन्तर्राष्ट्रिय राष्ट्रिय तहमा गैरसरकारी संघ संस्थाले लाखौं खर्च गरेर विभिन्न योजना सञ्चालन गरेका छन्। तर धनजनको क्षति रोकिएको छैन।