काठमाडौं-राजनीतिक भागबन्डाले संकटग्रस्त बनेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा फेरि राजनीतिक भागबन्डाकै आधारमा पदाधिकारी नियुक्ति भएको छ।
रिक्त पदाधिकारी नियुक्ति, उपकरण व्यवस्थालगायत मागसहित वीर अस्पतालका रेजिडेन्ट चिकित्सक एसोसियसन (र्याकन) ले सेवा अवरुद्ध गरेको १५ औं दिन आइतबार सत्तासाझेदार दुई दलबीच पदाधिकारी आधा–आधा बाँड्ने सहमति भएको हो।
राजनीतिक भागबन्डामा आएका पदाधिकारीको झगडाकै कारण वीरको व्यवस्थापन चार वर्ष झमेलामा गुजि्रएकाले यसपटक भागबन्डा नगर्न प्राध्यापकहरूले आग्रह गर्दै आएका थिए। सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेले सबैको आग्रह लत्याउँदै प्रतिष्ठान कार्यकारी परिषदका प्रमुख ६ पदमा बाँडिचुँडी नियुक्ति गर्ने सहमति गरेका हुन्।
उपकुलपतिसहित डिन र रेक्टर एमालेको भागमा परेको छ भने रजिस्ट्रार, अस्पताल निर्देशक र कार्यकारी सदस्य पद कांग्रेसको भागमा परेको छ। तेस्रो ठूलो दल एकीकृत माओवादीले कुनै भाग नपाएपछि नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाएको छ।
न्याम्स ऐनअनुसार सहकुलपति एवं स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री सुशील कोइरालाले सहप्राध्यापक डा. गणेश गुरूङलाई शुक्रबारै उपकुलपतिमा नियुक्ति गरेका थिए। उपकुलपतिको सिफारिसमा सहकुलपतिबाट आइतबार अन्य पदाधिकारी नियुक्ति भएको हो। एमाले कोटामा परेका डा. गुरुङ पार्टीको स्वास्थ्य विभागका सदस्यसमेत हुन्।
उपकुलपति डा. गुरुङसहित रेक्टर डा. रंगबहादुर बस्नेत र डिन डा. यौवनचन्द्र सिवाकोटी एमालेका हुन्। त्यस्तै, रजिस्ट्रार डा. किरण मानन्धर, अस्पताल निर्देशक डा. स्वयमप्रकाश पण्डित र कार्यकारी सदस्य डा. भुपेन्द्रकुमार बस्नेत कांग्रेस कोटामा नियुक्त भएका छन्।
डा. भुपेन्द्रबाहेकका पदाधिकारीले आइतबार सपथग्रहण गरिसके। सपथग्रहणपछि स्वास्थ्यमन्त्री अधिकारीले 'जुन जुन राजनीतिक दलको सिफारिसमा आए पनि एक भएर काम गर्न' निर्देशन दिएका थिए।
मुख्य पदमात्रै होइन, अस्पतालका बढी कमाइ हुने शाखाहरू खरिद इकाई, स्टोर, ओटी इन्चार्ज, सेवा आयोगमा समेत भागबन्डामै नियुक्ति गर्ने सहमति दुई दलबीच भएको स्रोतले बतायो। यी शाखामध्ये खरिद इकाईले अस्पतालमा खरिद हुने उपकरण एवं दैनिक प्रयोगका सामग्री खरिद गर्छ। स्टोरले पनि विभिन्न सामग्रीको माग र दाखिलाको काम गर्छ। ओटी, स्टोर सबै राम्रो कमाइ हुने ठाउँ मानिन्छ।
नवनियुक्त उपकुलपति डा. गुरुङले नियुक्तिलाई राजनीतिक रङ दिन खोजिए पनि जुनसुकै पार्टीको सिफारिसबाट आएका सबैजना संस्थाकै हितमा लाग्ने दाबी गरे।
'वीरलाई साँच्चिकै केन्द्रीय अस्पतालका रूपमा विकास गर्ने र न्याम्सलाई स्वास्थ्य मन्त्रालयको आधिकारिक विश्वविद्यालय बनाएर क्षेत्रीय तथा उपक्षेत्रीय अस्पतालमा पनि पोस्ट–ग्र्याजुएसन तहको पढाइ सुरु गर्ने हाम्रो उद्देश्य छ,' उनले आइतबार नागरिकसँग भने, 'यसले क्षेत्रीय अस्पतालमा पनि विशेषज्ञ उत्पादन हुनुका साथै त्यहाँको सेवाको गुणस्तर पनि बढ्छ।'
यसअघि २०६६ मा माओवादीले न्याम्समा एकलौटी पदाधिकारी नियुक्ति गरेको थियो। त्यसको एक वर्ष नबित्दै कांग्रेस र एमालले अहिलेजस्तै आवासीय चिकित्सकको बलमा १९ दिनसम्म वीर अस्पतालमा सेवा ठप्प पारेर ती पदाधिकारीलाई राजीनामा दिन बाध्य पारेका थिए। राजनीतिक नियुक्तिमा आएका पदाधिकारीलाई हटाउने बहानामा भएको अर्को राजनीतिको शिकार वीरका बिरामीहरू हुनुपरेको थियो।
साढे चार वर्षअघि यी ६ पद तीन प्रमुख दलले दुई/दुई गरी भागबन्डा गरेका थिए। उपकुलपति र डिन कांग्रेसको भागमा पर्योा भने कार्यकारी सदस्य र रजिस्ट्रार एमाले तथा निर्देशक र रेक्टर माओवादीले पाए।
दलीय सहमति खोज्न वीरजस्तो निकायमा राजनीतिक भागबन्डा गर्दा त्यसले कहिल्यै राम्ररी काम गर्न सकेन। एक दलको कोटामा आएका पदाधिकारीलाई अर्कोले असहयोग र अवरोध गर्ने खेल चलिरह्यो। यसले चार वर्षसम्म देशकै ठूलो र पुरानो अस्पताल वीर तहसनहसको अवस्थामा पुगेको छ।
अस्पतालका स्वास्थ्यकर्मीमध्ये एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले एमाले कोटाका पदाधिकारी र कांग्रेसनिकट स्वास्थ्यकर्मी संघले कांग्रेस तर्फबाट पदाधिकारी हुनेको सिफारिस गरेको थियो। हाडजोर्नी विभागका प्रमुख एवं सह–प्राध्यापक डा. गुरुङलाई एमाले भ्रातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघले उपकुलपति पदको उम्मेदवारका रूपमा पार्टी र मन्त्रीलाई समेत सिफारिस गरेको थियो।
एमाओवादी निकट अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज अधिकारीले यो नियुक्तिबाट वीर र न्याम्स अझै तहसनहस हुने बताए। 'संस्था बनाउने हैन, बाँडिचुँडी खाने उद्देश्यले कार्यकर्ता भर्ती गरेर संस्था चल्दैन,' उनले भने, 'नवनियुक्त पदाधिकारी हेर्दा कोही पनि प्राज्ञिक संस्थाको छवि जोगाउन लायक देखिएनन्।' उनले यति महŒवपूर्ण प्रक्रियामा आफूहरूलाई बाहिर राख्नुको परिणाम सकारात्मक नआउने पनि चेतावनी दिए।
सुरुमै प्राज्ञिक आधारमा पदाधिकारी नियुक्तिको माग बलियो बनेपछि राजनीतिक आधारमा पद पाउन खोज्नेहरूले नै आवासीय डाक्टरहरूलाई आन्दोलन गर्न लगाएर भागबन्डाको वातावरण बनाइदिएको वरिष्ठ चिकित्सकहरूको आरोप छ। हड्ताल सुरु भएपछि वीरमा छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले 'कसैलाई पदाधिकारी बनाउने मनसायबाट चिकित्सक आन्दोलन निर्देशित भएको' बताएका थिए।
वरिष्ठ चिकित्सकहरूले पनि हाडजोर्नी विभागका विद्यार्थीको सक्रियतामा डा. गुरुङलाई उपकुलपति बनाउनकै लागि आन्दोलन भएको बताउँदै आएका थिए। आन्दोलनमा साथ दिने वरिष्ठ चिकित्सकहरूको साझा संस्था फ्याकल्टी डाक्टर्स एसोसियसन (एफडिए) का अध्यक्ष पनि गुरुङ नै हुन्। त्यस्तै, कार्यकारी सदस्य बनेका डा. बस्नेत एफडिएका महासचिव हुन्।
टिचिङ अस्पतालमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्ति नगरी वरिष्ठता आधारमा नियुक्ति गर्नुपर्ने माग राख्दा सघाएका न्याम्स रेजिडेन्टले वीरमा त्यही मागलाई बेवास्ता गर्दै आएका थिए।
प्रधानमन्त्रीले न्याम्स पदाधिकारी नियुक्तिका लागि गत जेठ ३० गते प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री अधिकारीको संयोजकत्वमा डा. चोपलाल भुषाल र डा. विश्वराज जोशी सदस्य रहेको समिति गठन गरेका थिए। दुवै प्रमुख दलले उपकुलपतिमा दाबी नछाडेपछि प्रक्रिया लम्बिएको थियो। सत्तासाझेदार दलहरूबीच साउन १४ गते भागबन्डाको सिफारिस भए पनि प्रधानमन्त्रीले कम्तिमा उपकुलपति प्राध्यापकलाई नै बनाउनुपर्ने भन्दै सिफारिस फाइल फर्काइदिएका थिए।
स्रोतअनुसार प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार भएको भेटपछि भागबन्डामा अन्तिम सहमति भएको हो। स्वास्थ्यमा रिक्त सचिवलगायत पदमा भागबन्डाको कुरा मिलेको स्रोत बताउँछ। भागबन्डा नमिल्दा रेक्टर पद डेढ वर्ष र कार्यकारी सदस्य पद तीन वर्षदेखि रिक्त थियो। त्यस्तै, उपकुलपति पद गत फागुनदेखि, रजिस्ट्रार वैशाखदेखि, डिन जेठदेखि, निर्देशक असारदेखि र सेवा आयोग सदस्यको पद गत पुसदेखि रिक्त थियो।
भागबन्डाको परिणाम
यसअघि राजनीतिक भागबन्डामा आएका पदाधिकारीको झगडा र बेमेलका कारण प्रतिष्ठानका अधिकांश प्राज्ञिक तथा विकासका काम अवरुद्ध छन्। अस्पतालमा आफू बलियो देखिन ती पदाधिकारीको इसारामै २६ वटा टे्रड युनियन बनेका छन्। अधिकांश युनियनका पदाधिकारी तिनै पदाधिकारीको संरक्षणमा काम गर्दैनन्। यसले वीरमा राजनीतिकरण तीव्र भएको छ।
पदाधिकारीबीचको खटपटकै कारण प्रतिष्ठान र मन्त्रालय नेतृत्वबीच सम्बन्ध बिग्रिँदा मन्त्री अध्यक्ष रहने सिनेट बैठक २०६६ साउनदेखि बस्न सकेको छैन। छ–छ महिनामा हुनुपर्ने सिनेट नबस्दा दीक्षान्तसमेत हुने सकेको छैन। चार वर्षदेखि प्रतिष्ठानको बजेटसमेत पास हुनसकेको छैन। सेवा आयोगको रिक्त पद पनि पूर्ति हुन सकेको छैन।
पदाधिकारीबीचको बेमेलकै कारण चलाउन नसकेको कारण देखाएर स्वास्थ्य मन्त्रालयले ट्रमा सेन्टर आफू मातहत लगेको थियो। यसले ट्रमा सेन्टर सञ्चालनको अन्यौल कायम छ।