काठमाडौं– नेकपा एमाले केन्द्रीय कार्यालयको फोटोकपि मेसिन बिग्रिएकाले केन्द्रीय समिति बैठक अबरुद्ध भएको छ। मंगलबारबाट सुरु भएको बैठकको निरन्तरतामै बुधबार एक बजे बैठक सुचारु हुने कार्यक्रम थियो।
बैठकका लागि केन्द्रीय सदस्यहरू एमाले मुख्यालय बल्खुमा पुगेका थिए। आजको बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनबारे छलफल हुने कार्यक्रम थियो। तर हिजो फोटोकपि मेसिन बिग्रिएकाले यी दस्तावेज सबै सदस्यले पाउन सकेका थिएनन्। उनीहरूले दस्तावेज अध्ययन गरेपछि आजको बैठकमा आ–आफ्नो धारणा राख्ने तय थियो।
आज बैठकको सुरुमै महासचिव ईश्वर पोखरेलले फोटोकपि मेसिन बिग्रिएकाले सबै केन्द्रीय सदस्यलाई दस्तावेजहरू उपलब्ध गराउन नसकिएको जनाउँदै बैठक भोलिसम्मका लागि स्थगित भएको सूचना सुनाएका थिए।