काठमाडौं-वीर अस्पतालमा कार्यलय समयअघि र पछि सेवा विस्तार गरिने भएको छ। अस्पताल प्रशासनले अतिरिक्त शुल्क लिएर बिहान ९ बजेअघि र ५ बजेपछि पनि सेवा दिन लागेको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको सेवा विस्तार गर्ने निर्णयमा अस्पतालको विभागीय प्रमुखको बैठकले समेत सहमति जनाइसकेको छ। अस्पतालका निर्देशक डा. स्वयम्प्रकाश पण्डितले अस्पतालले तत्काल बहिरंग, प्रयोगशाला र अन्य परीक्षण सेवा विस्तार गरिहाल्ने बताए।
उनले शल्यक्रिया सेवासमेत विस्तारका आधारसँगै चिकित्सक एवं कर्मचारीको अतिरिक्त सेवा–सुविधाबारे सुझाव दिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको संयोजकत्वमा समिति गठन भएको जानकारी दिए। 'बिरामीले सुलभ सेवा पाऊन्, कर्मचारीले केही इन्सेन्टिभ होस्, अस्पतालको आम्दानी बढोस् भनेर यस्तो योजना ल्याइएको हो,' डा. पण्डितले भने। उनले केही दिनभित्र जडान हुने सिटी स्क्यान र करिब तीन महिनाभित्र आइपुग्ने एमआरआई सेवा पनि विस्तारित सेवाअन्तर्गत दिइने बताए।
अस्पताल प्रशासनले नियमित रूपमा दिँदै आएको सेवा निकै सुलभ भए पनि विस्तारित सेवामा भने थप लाग्नेछ। 'कम्तीमा बिहान ७ बजेदेखि र साँझ ५ बजेपछि प्याथोलोजी, डाइग्नोस्टिक सेवा उपलब्ध हुन्छ,' उनले भने, 'त्यो सेवा निजी अस्पतालमा भन्दा निकै सस्तो हुन्छ।'
अहिले वीरमा रेडियोलोजी, प्रयोगशाला तथा पेटसम्बन्धी जाँचका लागि दुई दिनदेखि महिनौं लाग्ने गर्छ। वीरमा शल्यक्रिया सेवाका लागि पनि महिनौं कुर्नुपर्ने अवस्था छ। पित्तथैलीको पत्थरीको शल्यक्रियालाई समेत छ महिना कुर्नुपर्छ।
डा. पण्डितले वीरमा एकातिर सेवा नपाउँदा बिरामी फर्किनु परिरहेको र अर्कोतिर आय पनि घट्दै गएकाले यस्तो योजना अगाडि सारिएको बताए। अस्पताल प्रशासनले हाल पूर्ण निष्क्रिय रहेका कार्डियोथोरासिस र नाक, कान, घाँटीको शल्यक्रिया सेवालाई पनि विस्तार र पुनर्जागरण गर्ने अस्पताल प्रशासनले जनाएको छ।
हाल वीरमा दैनिक झन्डै १ हजार ५ सयले ओपिडी सेवा पाउँछन्। हाल ९ बजेदेखि टिकट काट्न सुरु हुन्छ। दिउँसो साढे ३ बजेसम्ममात्रै टिकट पाइन्छ।
वीरमा अधिकांश शैया, परीक्षण र अन्य सेवा निःशुल्क हुनाले आम्दानी न्यून छ। अस्पतालले प्रत्येक महिना करिब ४० देखि ५० लाख बराबरको सेवा निःशुल्क दिन्छ। ४ सय ६० शैयाको अस्पतालमा ३ सय ३१ शैया पूर्ण निःशुल्क छ। सशुल्क शैयाको पनि प्रतिदिन १ सय ५० रुपैयाँ मात्र लाग्छ।