काठमाडौं-मेडिकल कलेजहरूले मन्त्रिपरिषद तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्देशन मिच्दै यस वर्ष पनि मनपर्दी शुल्क लिएर भर्ना सुरु गरेका छन्।
विद्यार्थीसँग लिने शुल्कमा एकरूपता कायम गर्न मन्त्रिपरिषद तथा आयोगले मेडिकल कलेजलाई छुट्टाछुट्टै निर्देशन दिए पनि कलेजहरुले आफूखुसी एकमुष्ठ ५५ लाख रुपैयाँसम्म शुल्क लिएर भर्ना लिइरहेका छन्। बिहीबारयता उनीहरुले ठूलो संख्यामा भर्ना लिइसकेका छन्।
मेडिकल कलेजको शुल्क, सम्बन्धन र गुणस्तरसम्बन्धमा समीक्षा र पुनरावलोकन गर्न चार वर्षअघि गठित उच्चस्तरीय समितिले २०६८ चैतमा ३० लाख ४६ हजार ९ सय ५ रुपैयाँसम्म लिन सक्ने गरी शुल्क तोक्न सिफारिस गरेको थियो।
सुरुमा समितिले २५ लाख ३९ हजार तोक्न भनेकामा कलेजहरूले नपुग्ने अडान राखेपछि सबै हिसाबकिताब गरेर उक्त सिफारिस गरिएको हो।
यसै आधारमा मन्त्रिपरिषदले उक्त शुल्कमध्ये पहिलो वर्ष एकतिहाइ र बाँकी समानुपातिक रूपमा प्रत्येक वर्ष लिने व्यवस्था गर्न निर्देशन दिएको थियो। अख्तियारले पनि गत वैशाख २६ मा मेडिकल कलेजहरूलाई शुल्कमा एकरूपता कायम गर्न निर्देशन दिएको थियो।
अधिकांश कलेजले यी दुवै निर्देशन लत्याइरहेका छन्। सबैतिर एकमुष्ठ शुल्क बुझाउनेलाई नै प्राथमिकता दिने गरिएको छ।
मेडिकल कलेजहरूले कुन वर्ष कति विद्यार्थी भर्ना लिन पाउँछन् भन्ने कोटा मेडिकल काउन्सिलले तोक्ने गर्छ। यसका लागि काउन्सिलले आगामी बिहीबार फ्याकल्टी बोर्डको बैठक डाकेको छ। कलेजहरूले भने यसअघि नै भर्ना प्रक्रिया सुरु गरिसकेका छन्। मेडिकलतर्फ एमबिबिएस पढाइ सञ्चालन गर्ने त्रिभुवन (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतका सबै कलेजले भर्ना खुला गरेका छन्।
त्रिविअन्तर्गत कलेजका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले गत शनिबार लिएको प्रवेश परीक्षाको नतिजा बुधबार मात्रै प्रकाशित गरेको थियो। केयुले भदौ २८ गतेका लागि प्रवेश परीक्षा तोकेको छ।
यो शैक्षिक वर्षमा आइओएम, महाराजगन्जले विदेशी विद्यार्थीका लागि ६५ हजार अमेरिकी डलर र नेपालीतर्फ ३२ लाख रुपैयाँ शुल्क तोकेको छ। नेपाली विद्यार्थीका लागि तोकिएको शुल्क समितिको सिफारिस बराबर भए पनि आइओएम मातहतका कलेजको शुल्कमा भने एकरूपता छैन। आइओएमअन्तर्गतको नेपाल आर्मी मेडिकल कलेजले बाहिर शुल्क नखुलाई ४० लाखसम्म एकमुष्ठ लिइरहेको छ।
त्रिविअन्तर्गतकै चितवन मेडिकल कलेजले एकमुष्ट ४५ लाख र किस्ताबन्दीमा ५३ लाख शुल्क तोकेको छ। भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले एकमुष्ठ ४९ लाख र किस्ताबन्दीमा ५५ लाख लिइरहेको छ। पोखरास्थित गण्डकी मेडिकल कलेजले एकमुष्ठ ४९ लाख र किस्ताबन्दीमा ५५ लाख निर्धारण गरेको छ। त्यस्तै, किस्ट, जानकी, नेसनलले पनि ५५ लाखसम्म शुल्क तोकेका छन्।
प्रवेश परीक्षा नै भइनसकेको केयुअन्तर्गतका मणिपाल, नेपालगन्ज, भरतपुर, काठमाडौं, नेपाल मेडिकल, नोबल र लुम्बिनी मेडिकल कलेजले समेत ५५ लाखकै हाराहारी शुल्क लिइरहेका छन्। यी कलेजले सुरुमा २५ लाख धरौटी लिएर नाम लेखाउन सक्ने अफर दिएका छन्।
आइओएमका डिन डा. राकेश श्रीवास्तवले मन्त्रिपरिषद समितिका निर्णयबारे आफूलाई जानकारी नभएको बताए। उनले संस्थानले मातहतका कलेजलाई बढी शुल्क नलिन बारम्बार पत्राचार गरे पनि नटेरेको र कारबाही गर्ने अधिकार नभएको उल्लेख गरे। 'अख्तियार, विश्वविद्यालय, शिक्षा मन्त्रालय कोही, केही गर्न नसक्ने, अनि हामीलाई मात्र दोष दिने?,' उनले नागरिकसँग भने, 'हामी पुलिस हो र?'
केयुका उपकुलपति डा. रामकण्ठ माकाजुले आफू पूर्ण प्राज्ञिक काममा लागेकाले शुल्कजस्ता सानातिना विषयमा ध्यान दिन नभ्याएको बताए। 'म के विषय थप्ने, गुणस्तर कसरी कायम गर्ने भन्नेमा लागेको छु,' उनले भने। कलेजका प्रतिनिधिले भने काउन्सिलले सिट तोक्न बाँकी रहेको भन्दै औपचारिक प्रतिक्रिया दिन मानेनन्।
टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशनपछि गठित उच्चस्तरीय सुझाव समितिले शुल्क एकरूपतासँगै भर्ना प्रणालीलाई मेरिटमा आधारित गराउन सुझाव दिएको थियो। आइओएमले भने त्यसलाई बेवास्ता गरिरहेको छ।
उच्च माविमा प्रमुख विषयमा ५० अंकसहित ५० प्रतिशत ल्याउनेलाई विश्वविद्यालयको परीक्षामा ५० अंक कटाएपछि एमबिबिएस पढ्न योग्य मानिन्छ। यही नियमको फाइदा उठाउँदै आइओएमले नै सिट–संख्याभन्दा धेरै गुणा बढी विद्यार्थी पास गराएर भर्नामा बार्गेनिङ गर्ने र बढी पैसा तिर्नेले पढ्न पाउने अवस्था सिर्जना गरिदिएको छ।
आइओएमको प्रवेश परीक्षामा ९ हजार २४ जना सहभागी भएकामा ४ हजार ९ सय पास भए। जब कि गत वर्षजत्तिकै सिट पाए पनि ती कलेजमा ८ सय हाराहारी सिट हुन्छ। केयुले पनि पहिलो सूचीमा ५० प्रतिशतभन्दा बढी पास गराएर कलेजहरूले तोकेको शुल्कअनुसार विद्यार्थी नपाए पुनः दोस्रो सूचीसमेत निकाल्ने गरेको छ।
मनपर्दी शुल्क लिने प्रवृत्तिले डाक्टरको गुणस्तरमा ह्रास आएको गुनासो बढेपछि २०६७ असोज १२ गते मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य तीर्थ खनियाँको संयोजकत्वमा विभिन्न विश्वविद्यालय, वरिष्ठ चिकित्सक र मेडिकल कलेज सञ्चालकहरूको प्रतिनिधिसमेत रहेको समिति गठन गरेको थियो। समितिले प्रतिवेदन तयार पारेपछि सरकार परिवर्तन भए पनि तत्कालीन योजना आयोगका सदस्य डा. शिवकुमार राईले २०६८ पुस ११ मा ३२ लाख ४६ हजारबाट नबढ्ने गरी शुल्क निर्धारण गर्न मन्त्रिपरिषदलाई सुझावसहित प्रतिवेदन दिएको थियो।
डा. राईले त्यतिबेला प्रशस्त छलफलबाट निर्धारण गरिएको शुल्क पनि कलेजहरूले बेवास्ता गरेको बताए। 'यो देशकै बेथितिको उदाहरण हो,' उनले भने, 'विश्वविद्यालय लाचार बनेका छन्, कलेजहरू मनोमानी गर्दैछन्।'
मनपर्दी शुल्क लिएका कलेजहरूले मेडिकल काउन्सिलद्वारा तोकिएको मापदण्डसमेत पूरा गरेका छैनन्। विभिन्न प्रतिवेदनले ती कलेजमा भौतिक पूर्वाधार एवं फ्याकल्टी (पढाउने शिक्षक) संख्या कम भएको औंल्याएका छन्। कन्सल्ट्यान्ट र रजिस्ट्रारबाहेक प्राध्यापन गर्ने जनशक्ति १ सय २ हुनुपर्ने भनिए पनि अधिकांश कलेजमा मुश्किलले ६० जति मात्रै उपलब्ध छ।
त्रिविका सात, केयुका आठ, धुलिखेल मेडिकल कलेज र पाटन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी मुलुकभर १७ मेडिकल कलेज छन्। सबै कलेजमा एमबिबिएसतर्फ करिब १ हजार ९ सय र डेन्टलतर्फ करिब २ सय सिट छन्। छात्रवृत्तिमा पढेकाबाहेक अन्य विद्यार्थी महँगो शुल्क तिरेर पढ्न बाध्य छन्।