बैतडी– देहिमाडौं–गिरेगाडा सडकमा शनिबार साँझ जीप खस्दा दुई जनाको मृत्यु भएको छ। ग्वाल्लेक ७ का किसनदत्त जोशीको घटनास्थलमै र गिरेगाडा–८ की बसन्ती चन्दको आइतबार बैतडी जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्। शनिबार साँझ साढे ६ बजे देहिमाडौंबाट गिरेगाडा जाँदै गरेको से१ज ३०५ नम्बरकको जीप गिरेगाडा–८ छिडामोडमा सडकबाट ४ सय मिटर तल खसेको हो। घाइते हुनेमा दार्चुला सर्मोलीका उषाकिरण बोहरा, गिरेगाडाका कलावती चन्द, भगीरथ चन्द, शेरेराम कामी र सन्तोष चन्द छन्। उनीहरूलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि आइतबार साँझ भारतको पिथौरागढ र बरेली पठाइएको छ।