इलाम– 'फलामे ढोका'को हाउगुजी बनाइएको एसएलसीमा असफल इलामकी एक किशोरीले पुरक परीक्षासमेत अनुत्तीर्ण भएपछि मृत्युको अप्रिय बाटो रोजेकी छन्। आइतबार प्रकाशित एसएलसी पुरक परीक्षाको नतिजामा अनुत्तीर्ण भएपछि इलाम–९, बाह्रवस्ती निवासी १९ बर्षीया लक्ष्मी कटुवालले घरमै सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
नतिजा सार्वजनिक हुनुअघिसम्म हाँसखेल गरिरहेकी र परिवार सदस्यसँग रमाइरहेकी उनी मोबाइलमार्फत अनुत्तीर्ण भएको थाहा पाउनसाथ निराश देखिएको परिवारजनलाई उद्धृत गर्दै प्रहरी निरीक्षक याम पौडलले बताए। 'हाँसीखुसी रहेकी उनी फेल भएको थाहा पाउनसाथ निराश भएर झुन्डिन पुगेको घरकैले बताए,' पौडेलले नागरिकलाई भने।
सामाजिक र गणित विषयमा पुरक परीक्षा दिएकी कटुवाल आइतबार बेलुकी ८.२० बजेतिर घरकै निदालमा सलको पासो लगाएर झुन्डिएको पौडेलले बताए। प्रहरीका अनुसार जन्मेको पाँच वर्षपछि आमाले दोस्रो बिहे गरेकाले बाह्रबस्ती आइपुगेकी उनी परिवारमा रमाएरै बसेकी थिइन्। 'झट्केलो बुवाको परिवारमा बसे पनि उनलाई अरु कुनै समस्या थिएन,' पौडेलले भने, 'एसएलसी फेलकै कारण मृत्युको बाटो राजेको देखिन्छ।'
अनुत्तीर्ण भएको खबरपछि खाना खाएर 'टेलिभिजन हेर्छु' भन्दै घरको तलामाथि चढेकी कटुवाललाई बुबाआमाले ९ बजेतिर झुन्डिएको अवस्थामा भेटेका हुन्। कक्षा ८ सम्म सदरमुकामकै आदर्श उच्च मावि अध्ययन गरेकी कटुवालले कक्षा ९ र १० मा नजिकैको अर्को संस्थागत विद्यालय ज्योति विद्या मन्दिर पढेकी थिइन्। नतिजाअनुसार कटुवालले सामाजिकमा ३८ र गणितमा २६ अंक ल्याएकी छन्।
कटुवालको शव सोमबार इलाम अस्पतालमा पोष्टमार्टम गरी माइखोलाको राजदुवालीमा अन्त्येष्टि गरिएको छ। उनको मलामीमा बाह्रबस्तीका मात्रै होइन गढी, बरभैया र पानीट्यांकीतिरका मानिस समेत ओइरिएका थिए। २०५२ साउन ६ गते जन्मिएकी कटुवालले ज्योति विद्याबाट गत चैतमा पहिलोपल्ट एसएलसी परीक्षा दिएकी थिइन्। त्यसमा असफल हुँदा साउन तेस्रो साता पुरक परीक्षा लेखेकी थिइन्।
जिल्ला शिक्षा कार्यालयका अनुसार, इलामबाट यसपल्ट एसएलसी पुरक परीक्षामा सहभागी एक हजार दुई सय ३० परीक्षार्थीमध्ये ७३ दशमलव ७० प्रतिशत उत्तीर्ण भएका छन्। पुरक परीक्षाअघिको नतिजामा भने १५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण थिए। 'एसएलसीको पुरकमा अनुत्तीर्ण भइहाल्दैमा मृत्युको बाटो रोज्नु दुःखद हो' कार्यालयका निर्मल ढुंगलले भने, 'पुनर्योग गर्न सकिन्थ्यो, त्यसमा असफल भए फेरि परीक्षा दिँदा हुन्थ्यो।'