काठमााडौं– सरकारले मंसिर १० र ११ गते बागबजारस्थित पुरानो बसपार्क सञ्चालन गर्न नदिने भएको छ। बसपार्कसँगै जोडिएको राष्ट्रिय सभागृह हल (सिटी हल)मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलन आयोजना गरिने भएकोले सुरक्षा कारण दुई दिन त्यहाँ कुनै पनि सवारी साधन प्रवेश गर्न नदिइने भएको हो।
‘मंसिर १० र ११ गते सिटी हलमा सार्क शिखर सम्मेलन हुने हुँदा ती दुई दिन पुरानो बसपार्कमा कुनै पनि सवारी साधन प्रवेश गर्न दिइने छैन,' परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, ‘सार्क सम्मेलनमा सहभागी हुने ८ सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सुरक्षाका कारण त्यसो गर्न लागिएको हो।'
उनका अनुसार अनुसार सम्मेलन हुने दुई दिन रत्नपार्कबाट भद्रकालीतर्फ सार्वजनिक यातायात आउजाउ गर्न दिइने भए पनि सभागृहबाट पद्मोदय मोड निस्कने तेस्रो बाटोमा भने निजी तथा सार्वजनिक यातायातका साधनलाई प्रवेश गर्न दिइने छैन। दुई दिनका लागि सार्वजनिक यातायात पार्क गर्ने स्थल अन्यत्र व्यवस्था गरिने उनले जनाए। सम्मेलनमा सहभागी हुने भिभिआइपीका सवारी साधान भने पुलिस क्बल र भृकुटीमण्डपमा पार्क गरिने छ।