काठमाडौं- छोराका हत्यारालाई कारबाही माग गर्दै ३ सय ३० दिनदेखि आमरण अनशनरत गोरखा, फुजेलका नन्दप्रसाद अधिकारीको सोमबार साँझ वीर अस्पतालमा निधन भएको छ। ५४ वर्षीय अधिकारीको साँझ ५ बजे अनशनकै क्रममा निधन भएको हो।
वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले नन्दप्रसादको मृत्यु मुटु र फोक्सो फेल (कार्डियोपल्मोनरी फेलियर) का कारण भएको जानकारी दिए। चिकित्सकका अनुसार उनीसँगै अनशनमा रहेकी पत्नी गंगामायाको स्वास्थ्य अवस्था पनि कमजोर छ।
असोज २ गते बिहान ९ बजेबाट अर्धबेहोस नन्दप्रसादलाई चिकित्सकले दिँदै आएको 'जीवनदायी औषधि' र अक्सिजनले समेत काम गर्न छाडेको थियो। 'बिहानैदेखि अवस्था राम्रो थिएन, दिनभरजसो बचाउन विभिन्न प्रयास गर्यौं,' डा. पण्डितले भने, 'साँझ सबै खेर गयो।'
बिहान ९ बजे नियमित राउन्ड परीक्षणमा चिकित्सक टोली पुग्दा निकै कमजोर देखिएपछि तत्काल विशेष उपचार बढाइएको थियो। 'अक्सिजनको अवस्थामा कमजोर देखियो, इसिजी दोहोर्याएर हेर्दा मुटुको अवस्थामा परिवर्तन देखियो,' डा. पण्डितले भने, …खुट्टा चिसा भइसकेका थिए, मनतातो पानीको सहयोगले तताउन खोज्यौं।'
चिकित्सकहरूले शरीरका महŒवपूर्ण अंगको कार्यक्षमता घट्दै गएको पाएपछि मिर्गौलाको काम बढाउन डोपामिन र मुटुको काम बढाउन एग्जाडिनजस्ता जीवनदायी औषधि, पोषकतत्व टिप्रिलन, अतिरिक्त ग्लुकोज दिए पनि खासै सुधार आएन।
अधिकारीको अवस्था एकोहोरो हेर्ने, ज्यान चिसो हुँदै जाने र शरीर पहेँलो हुन थालेपछि चिकित्सक टोलीले मानवअधिकार आयोग एवं विभिन्न सरकारी निकायमा खबर गरेको थियो।
लगत्तै राष्ट्रिय मानवअधिकार आायोगमा सदस्य सिफारिस मानवअधिकारकर्मी सुदीप पाठक, कनकमणि दीक्षित, सुबोध प्याकुरेलसहित प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, स्वास्थ्य, गृहका अधिकारी पुगेर खाना खान आग्रह गरेका थिए।
'टोलीको आग्रहमा बोल्न नसके पनि अधिकारीले टाउको हल्लाएर नकारिरहेका थिए,' डा. पण्डितले थपे, 'अहँअहँ भन्ने आवाजसहित टाउको हल्लाएर नकारिरहेका थिए।'
मानवअधिकार एवं सरकारी प्रतिनिधिलाई चिकित्सकले उनको स्वास्थ्य अवस्थाबारे बताएपछि जीवनरक्षाका लागि सबै प्रयास गर्ने निष्कर्ष निकालेर अपराह्न ४ बजे अधिकारकर्मीको टोली फर्किएको थियो। अधिकारीको अवस्था निकै कमजोर भएकाले भेन्टिलेटरमा राख्न सक्ने अवस्था थिएन।
'हामी मोनिटरतिर हेर्दै थियो, समय–समयमा प्रेसर पूरै बन्द भइरहेको थियो,' उनले भने, 'एक्कासि मुटुको चाल देखाइरहेको मोनिटरको चिह्न सिधा (फ्याट) देखियो, हामी मुख ढाकिदिएर बाहिरियौं।'
चिकित्सकका अनुसार सोमबार अधिकारीको पिसाब पनि कम भएको थियो। सामान्य अवस्थामा १ हजार ६ सय हाराहारीमा हुनुपर्ने पिसाब ४ सय एमएल मात्रै भएको थियो। शरीर पहेँलो भएपछि चिकित्सकले उनलाई आइतबारै एक पिन्ट रगत दिएका थिए।
मानवअधिकारीवादीले सोमबार दिनभर नन्दप्रसाद र अनशनमै रहेकी उनकी पत्नी गंगामायालाई खाना खाएर जीवन बचाउन आग्रह गरेका थिए। मानवअधिकारकर्मी पाठकले गंगामायाको मुखमा सोमबार थोरै ग्लुकोज र पानीसमेत राखिदिएका थिए। नन्दप्रसादले भने त्यो पनि लिन मानेनन्।
पहिलो अनशनपछि स्वास्थ्य सुधार नहुँदै दोस्रो अनशन थालेका अधिकारीलाई सर्वाेच्च अदालतले 'जीवनरक्षाका लागि जबर्जस्ती खुवाउनू' भनी ०७० भदौ १८ गते आदेश दिएको थियो। त्यसपछि अस्पतालले आवश्यक सबै पोष्टिक तŒव मिश्रित (टोटल प्यारेन्टल न्युटि्रसन) फ्लु दिन थालेको थियो।
अधिकारीले २०७१ जेठ २७ बाट पोषक तत्वसमेत लिन इन्कार गरेका थिए। त्यसबीच चिकित्सकले झुक्याएर, निदाएको समयमा पोषक तŒव खुवाउने प्रयास गरे पनि उनले धेरैपटक क्याथेटर नै थुतेर फालेका थिए। तीन सातायता अधिकारीले कुनै पनि औषधि लिन मानेका थिएनन्। असोज २ मा अचानक बेहोस भएपछि चिकित्सकले पुनः पोषक तŒव दिन थाले पनि शरीरले राम्ररी लिन सकेन।
नन्दप्रसाद बोल्न नसक्ने भएपछि पत्नी गंगामाया आइतबार जबर्जस्ती पतिको बेडछेउ पुगेकी थिइन्। …सानो छोरा मारे, ठूलो छोरा बेपत्ता पारे, गाउँमा गएर बस्दा चिर्पटले हानेर लखेटे, बा (श्रीमान) पनि कमजोर हुनुभयो, मलाई पनि चिन्नुभएन' भन्दै उनी आइतबार दिनभर नन्दप्रसादको छेउमा बसेर रोइकराइ गरिन्। सोमबार पतिको मृत्युको खबर सुन्नासाथ भक्कानिएकी गंगामायाको चित्कार थामिएको छैन।
नन्दप्रसादको शव मृत्युको एक घन्टाभित्रै प्रशासनले कडा सुरक्षाबीच मर्चरीमा राख्न महाराजगन्जस्थित टिचिङ अस्पताल पुर्याएको थियो।
चिकित्सकका अनुसार छोरा नुरप्रसाद करिब ८ महिनादेखि अस्पताल आएका छैनन्। अधिकारीको मृत्युपछि अस्पताल पुगेका मानवअधिकारवादी कनकमणि दीक्षितले अधिकारी दम्पतीको जीवन बचाउन सक्दो प्रयास गरिए पनि सफल नभएको प्रतिक्रिया दिए। उनले अधिकारीले न्यायका लागि लड्दालड्दै ज्यान गुमाएको भन्दै अबको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
'अबको चुनौती गंगामायाको जीवन रक्षा हो, उनको अवस्था पनि खस्किँदो छ,' उनले भने।
राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले न्यायका लागि लड्दालड्दै अधिकारीले ज्यान गुमाउनु दुखद भएको बताए। भट्टराईले यो द्वन्द्वकालको प्रतिनिधि घटना भएको भन्दै अनुसन्धान र न्याय ढिलो हुँदा यस्ता घटना पुनरावृत्ति हुनसक्ने औंल्याए।
'पछिल्लो समय सरकारले अधिकारीको जीवन रक्षाका लागि प्रयास गरेको देखिए पनि सुरुदेखि नै गम्भीर भएको भए अवस्था अर्कै हुन सक्थ्यो,' भट्टराईले भने, 'अब चिन्ता गंगामायाको स्वास्थ्य स्थिति हो।'
अधिकारी दम्पतीले थालेको न्याय प्राप्तिको लडाइँमा आयोगको समर्थन रहेको उनले जनाए। आयोग प्रतिनिधिले सोमबार दिउँसैदेखि अस्पतालमा खटिएर अनुगमन गरेकाले सोहीअनुसार विस्तृत धारणा सार्वजनिक गर्ने उनले बताए।
सरकारका प्रवक्ता मीनेन्द्र रिजालले घटना अत्यन्तै दुखद भएको बताए। सरकारले अधिकार दम्पतीलाई 'कन्भिन्स' गर्न सक्दो प्रयास गरे पनि सफल नभएको उनको भनाइ थियो। …न्याय दिलाउँछौं भनेर आश्वस्त गराउने प्रयास गर्यौं, प्रधानमन्त्रीले भेटेरै बाचा गर्नुभयो, तर उहाँहरू मान्नुभएन,' उनले भने।
उनले गंगामायालाई अनशन तोड्न पनि आग्रह गरे। …सरकार न्याय दिलाउन प्रतिबद्ध छ, उहाँको जीवन परिवार र राष्ट्रकै लागि महत्वपूर्ण छ,' उनले भने, 'उहाँले बुझ्नुपर्यो यो तरिका ठिक हैन।'
गोरखा, फुजेलका नन्दप्रसादका १७ वर्षे कान्छा छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते चितवनमा हत्या भएको थियो। छोराका हत्याराविरुद्ध किटानी जाहेरी दिँदा पनि आरोपीलाई गिरफ्तार नगरेको भन्दै अधिकारी दम्पती प्रधानमन्त्रीलाई भेट्न काठमाडौं छिरेका थिए।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले भेटसमेत नदिएपछि अधिकारी दम्पतीले अनशन थालेका थिए। उनीहरूलाई सरकारले ०७० जेठ ३१ मा मानसिक अस्पताल लगेर भर्ना गराएको थियो। उक्त घटना बाहिर आएपछि अधिकारी दम्पती प्रधानमन्त्री निवास बालुवाटारअगाडि नै अनशन बसेको थियो। त्यसपछि उनीहरूलाई वीर अस्पताल ल्याइएको थियो।
यसअघि पनि वीर अस्पतालमा लामो समय अनशन बसेका अधिकारी दम्पतीलाई तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले अभियुक्तलाई पक्रिएर कारबाही गर्ने वचन दिएका थिए। त्यतिबेला अभियुक्त रामप्रसाद अधिकारीलाई गिरफ्तार गरेपछि उनले अनशन छाडेका थिए। तर प्रहरीले भदौ २० मा पक्राउ गरेका रामप्रसादलाई दुई दिनमै छाडेको थियो।
अघिल्लोपटक अनशन बसेको समयपछि गिरफ्तार भएका मुख्य अभियुक्तलाई समेत प्रमाण नपुगेको भन्दै चितवनका सरकारी वकिलले मुद्दा चलाउन इन्कार गरेपछि नन्दप्रसाद र गंगामाया पछिल्लोपटक कात्तिक ७ देखि अनशन बसेका थिए।
गंगामाया पनि गम्भीर
मृत्युको खबर नसुनाई चिकित्सकले पतिको मुख छोपिदिएपछि गंगामायाले आँखाबाट बरर्र आँसु झारेकी थिइन्। त्यसपछि उनको मुटुको गति, नाडी बढेको थियो। चिकित्सकले मृत्युको खबर नसुनाईकनै अधिकारीलाई बाहिर निकालेका थिए।
'गंगामाया रोइरहेकी छन्,' आइसियुमा कार्यरत एक नर्सले भनिन्, 'ए आमा हो, ए बा हो, अब म कहाँ जाने, के गर्ने भनेर रोइरहनुभएको छ, हामी सम्झाइरहेका छौं।'
केही समय स्वास्थ्य अवस्था गम्भीर भए पनि पछिल्ला दिन गंगामायाले सम्पूर्ण पोषक तत्व टि्रपलिनका साथमा एन्टिबायोटिक्स, सोडियम, पोटासियम लिइरहेकी छन्। मुखबाट नखाएकाले शरीरभित्र दिइएको खानाजत्तिकै अन्य पदार्थ निष्कासित भइरहेको चिकित्सकको भनाइ छ।
लास उठ्दैन : नुरप्रसाद
नन्दप्रसादका जेठा छोरा नुरप्रसादले अहिलेकै अवस्थामा कुनै पनि हालतमा आफ्ना बाबुको अन्तिम संस्कार नहुने बताए। …अब म नमर्दासम्म न पोस्टमार्टम हुन्छ, न लास जल्छ,' नुरप्रसादले नागरिकसँग भने, 'लास जल्छ भने मेरो र बाँकी आमा हुनुहुन्छ, उहाँको समेत एकैपटक जल्छ, मेरो अब केही बाँकी छैन।'
सरकारले आफूलाई वैशाख ५ गतेदेखि आफ्ना बाबुआमालाई भेट्न नदिएको दाबी गर्दै उनले आफू कुनै हालतमा शिक्षण अस्पताल नजाने बताए। 'आफन्तको भेषमा भाइको लास उठाउन गएजस्तै फेरि कोही जानसक्छ,' उनले भने, …त्यसो भएमा त्यो पनि मेरो दुश्मन हुनेछ।'