पोखरा-नुन किन्न कुनै चाडपर्व आउनै पर्दैन। हरेक भान्छामा साँझैबिहान नुन चाहिन्छ। चिनी पनि दैनिकै नेपालीको भान्छामा हुने वस्तु हो। दसैंमा नेपालीले किन्ने वस्तु अरु नै हुन्।
सर्वसाधारणलाई पर्दागर्दा अत्यावश्यक वस्तुको अभाव नहोस् र सुपथ मूल्यमा उपलब्ध होस् भनेर सरकारले नै खोलेको व्यापारिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेशन भने दसैंलाई लक्ष्य गरी सुरु गरेको पसलमा भने नुन र चिनीबाहेक केही छैन।
किनमेल गर्ने सामानको सूचीमा सबैभन्दा पुछारतिरै पर्छन् नुन र चिनी। कर्पोरेसनले यी दुई वस्तु भने बजारमा भन्दा सस्तोमा टे्रडिङले उपलब्ध गराइरहेको छ। बजारमा अहिले चिनीको मूल्य ७२ रुपैयाँ किलो पर्ने चिनी ट्रेडिङले भने ६३ मा दिइरहेको छ। यसपालि ६३ रुपैयाँ किलोको चिनी पोहोर ६६ थियो। नुन अन्त किन्दा किलोको १५ रुपैयाँ पर्छ ट्रेडिङले भने १३ मै दिएको छ। यी दुवै वस्तु लिन टे्रडिङको पृथ्वीचोकस्थित क्षेत्रीय कार्यालयमा दिनहुँ सयौंजनाको भिड लागिरहेको छ। असोजको १ गतेबाट सुरु भएको पसलमा प्रत्येक दिन उपभोक्ता बढिरहेको ट्रेडिङका लेखापाल सागर शेरचनले जानकारी दिए।
टे्रडिङले एक उपभोक्तालाई ६ किलो नुन र ३ किलो चिनीमात्रै दिइरहेको छ। यस हिसाबले नै सहुलियत मूल्यमा बिक्री गर्दा पोहोर ७८ हजार किलो चिनी बिक्री भएको थियो। यसपालिका लागि पनि चाहिने जति चिनी र नुन स्टक रहेको शेरचनले जानकारी दिए। 'अहिले १७ हजार बोरा चिनी छ,' उनले भने।
टे्रडिङले अरुबेला नुन र चिनीबाहेक मैदा पनि बिक्री गर्छ। तर दसैंका बेलामा भने त्यो छैन। गोरखकाली टायर उसले बिक्री गर्ने अर्को सामग्री हो। 'वार्षिक २४/२५ करोडको कारोबार गर्छौ,' उनले भने। उनका अनुसार कर्पोरेशन पोखरा कार्यालयमा अरु सामग्री नभएकैले पसलमा राख्न नसकिएको हो। कर्पोरेशनले बजारका अरु व्यापारीहरुसँग प्रतिस्पर्धा गर्न नसकैले दैनिक उपभोग्य अन्य सामग्री ल्याउन नसकेको हो। चिनी भने उसले विदेशबाट सिधैं आयात गर्छ। शेरचनका अनुसार चिनीको भाउ पोहोरभन्दा घटेको छ।
कर्पोरेशनले पोखराबाहेक राजधानी काठमाडौं लगायत सहरमा पनि सुपथ मूल्य पसल सञ्चालन गरेको छ। कर्पोरेशन नबाहेक खाद्य संस्थानले काठमाडौंमा दसैंका लागि खसीबोका पनि सुपथ मूल्यमा उपलब्ध गराउँछ। आपूर्ति व्यवस्था समितिको हालै कास्कीमा बसेको बैठकले दसैंका बेला खाद्यान्न लगायत वस्तुको अभाव र कालोबजारी हुन नदिने जनाएको छ।