३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

युरोपमा 'क' बाट कछुवा

कोपनहेगन (डेनमार्क)- सप्ताहन्त (विकेन्ड) बिदा विद्यार्थीहरूका लागि घुमफिर एवं रमाइलोका लागि हो। कोपनहेगनका नेपाली केटाकेटी भने त्यो दिन पनि केही सिक्नै व्यस्त रहन्छन्। छुट्टीमा घुम्न जानुको सट्टा उनीहरु आफ्नो मातृभाषा सिक्न जुट्छन्- 'क' बाट कछुवा, 'ख' खरायो'। स्थानीय विद्यालयमा बिदाको दिन नेपाली बालबालिकालाई मातृभाषा सिकाउने कक्षा सञ्चालन हुन्छ।

आफ्नो मातृभाषा सिक्न बिदाका दिन जम्मा भएका केटाकेटीमा बेग्लै उत्साह हुन्छ। 
यहाँ करिब १ हजार ५ सय नेपाली परिवार बस्दै आएका छन्। उनीहरुका नानीहरू नेपाली भाषा सिकेर आमाबाबु, दाजुदिदीसँग बिस्तारै मातृभाषामा कुराकानी गर्न थालेका छन्। यसबाट अभिभावकमा खुसी छाएको छ।
भाषा कक्षामा उनीहरु नेपाली बोल्न र लेख्न मात्र होइन, रहनसहन, खानपिन, आदर–सम्मान गर्न पनि सिक्दैछन्। केटाकेटीलाई नेपालका विभिन्न ठाउँ, स्वदेशका चाडपर्व र परम्पराबारेसमेत सिकाइएको छ।
६ देखि १४ वर्ष उमेरका कोटाकेटीलाई बिहान र दिउँसो २ समूहमा बाँडेर पढाउन थालिएको छ। 
डेनिस सरकारको आर्थिक सहयोगमा ६ महिनाअघि कोपनहेगनमा सुरु भएको नेपालीभाषी विद्यालय युरोपकै पहिलो हो। 
कर्मथलो कोपनहेगन बनाएका नेपाली समुदायका छोराछोरी त्यहीँ जन्मिए, हुर्किए। बा–आमा, दिदी–दाइ नेपालीमा कुरा गर्छन्, साना नानीहरू ट्वाल्ल हेर्दै सुनी मात्र रहन्थे। डेनिस भाषामै परिवारसँग कुराकानी गर्थे। 
'आमा–बुबाले नेपाली बोलेको पहिले बुझ्न सकिन्नथ्यो। अहिले दोहोरो कुरा हुँदा खुब रमाइलो लागेको छ', एन टु (नेपाली २) मा अध्ययन गर्दै गरेकी लुभु मानन्धरले भनिन्। बुबा नम्रोत्तम मानन्धर पनि छोरीले नेपाली बोल्न सिकेकोमा निकै खुसी छन्। 'हामी बुबाआमा सधैँ काममा। नानीहरु पढ्ने डेनिस भाषामा। उनीहरुलाई नेपाली सिकाउने फुर्सदै नहुने, अहिले स्कुल खुलेकाले उनीहरू फरफर नेपाली बोल्न जान्ने भए।' यसले केटाकेटीमा आफ्ना संस्कृति, भाषा, परम्पराप्रति चासो बढाएको उनले सुनाए।
'डेनिस सरकारले यसअघि १३ वटा भाषामा विद्यालय सञ्चालन गर्ने स्वीकृति र आर्थिक सहयोग दिएको थियो। नेपाली भाषाको अहिले १४ औं भाषिक विद्यालय हो,' शिक्षक दीपक तिवारीले नागरिकसँग भने। यसअघि निजी लगानीमा युरोपका केही ठाउँमा नेपाली भाषा पढाइ सुरु गरिए पनि निरन्तरता पाउन नसकेको उनले सुनाए।
'सरकारी तहबाटै युरोपमा नेपाली विद्यालय खुलेकाले राम्रो प्रभाव परेको छ,' उनले भने।
नेपालमा लामो समय स्कुल पढाएका तिवारी यहाँको कक्षामा बेग्लै आनन्द पाएको बताउँछन्। 'नेपालमा वषर्ौं शिक्षण पेसा गर्दा नपाएको अनुभव र आनन्द यहाँ पाएँ,' उनले सुनाए, 'डेनिस मात्रै बोल्ने नानीहरूले तीन हप्तामै फरर नेपाली भाषा टिप्दा रमाइलो लाग्यो। उनीहरूमा नेपाली भाषाप्रति लगाव र चासो देख्दा नेपालको मायाले जहाँ गए पनि नछाड्ने रहेछ भन्ने अनुभव संगालेको छु।'
एन फोर (नेपाली कक्षा ४) मा अध्ययनरत संस्कृति बुढाथोकी अब यो कक्षा पूरा गरेपछि थप नेपाली विषय पढ्न चाहन्छिन्। 'बाबा–आमासँग यहाँ आएपछि नेपालका सबै कुरा भुलेका थियौँ। ६ महिनाअघि नेपाली पढ्न थालेपछि नेपाली पुस्तक र अरू कक्षा पनि पढ्न मन लागेको छ।'
एन वानदेखि फोरसम्म ५४ विद्यार्थी भर्ना भएका छन्। पढाइ नेपाली शिक्षणमाला अनुसार नै हुन्छ। 'सम्पूर्ण नेपाली समाजको पहलबाट नेपाली भाषाको विद्यालय सञ्चालनमा आएको हो,' गैरआवासीय नेपाली संघ, डेनमार्कका अध्यक्ष दीपक सापकोटाले भने, 'यसका लागि डेनिस सरकारलाई पनि धन्यवाद दिनैपर्छ।' 
युरोपका जुनसुकै देशमा आवासीय भए पनि मातृभाषा, संस्कृति, परम्परा बचाइराख्न नेपाली विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ। उक्त विद्यालयका लागि नेपाली पाठ्यक्रमअनुसारका पुस्तक उपलब्ध गराउन दूतावाससँग छलफल भइरहेको तिवारीले जानकारी दिए।
डेनमार्कमा बसोबास गर्ने २४ वटा देशका नागरिकले त्यहाँ सांस्कृतिक केन्द्र खोलिसकेका छन्। नेपालको पनि बेग्लै सांस्कृतिक केन्द्र खोल्न एनआरएनएको पहलमा कार्यदल गठन गरिएको उनले जानकारी दिए। '१२–१५ सय नेपाली भइसक्यौं। विवाह, छेवर, पास्नी, तिज, दसैं, ल्होछार, एनआरएन भेटघाट गर्ने ठाउँ अभाव छ,' उनले भने, 'पहिलो चरणमा विद्यालय बनायौं। अब एउटा हलसहितको भवनमा नेपाली सांस्कृतिक सेन्टर बनाउँदैछौं,' उनले भने।

प्रकाशित: २० आश्विन २०७१ २१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App