काठमाडौं– छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग राख्दै अनशन गंगामाया अधिकारीले अनशन तोडेकी छिन्। दोस्रोपटक अनशन सुरु गरेको ३ सय ५७ औं दिन शनिबार राति उनले अनशन तोडेकी हुन्।
उनले उठाउँदै आएका पाँच माग पूरा गर्ने सहमति जनाउँदै कानुनमन्त्री नरहरि आचार्यले हर्लिक्स खुवाएर अनशन तोडाएका हुन् ।
मन्त्री आचार्यसहितको सरकारी टोलीले गंगामायाको सुरक्षासहित खानेबस्ने प्रबन्ध सरकारले गर्ने, उनको स्वास्थ्य उपचारको सबै खर्च सरकारले ब्यहोर्ने, नन्दप्रसादको अन्त्येष्टि सम्मान साथ गर्नेलगायत मागमा प्रतिबद्धता जनाएपछि उनले हर्लिक्स, ग्लुकोज र पानी खाएकी हुन्।
१० वर्षअघि मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाही माग गर्दै श्रीमान नन्दप्रसादसँगै उनी अनशनमा बसेकी थिइन्। अनशनकै क्रममा असोज ६ गते नन्दप्रसादको मृत्यु भएको थियो। उनको शव अझै शिक्षण अस्पतालमै छ।
गंगामायाले अनशन तोडेपछि कानुनमन्त्री आचार्यले अधिकारीको माग अनुसार सरकारले कृष्णप्रसादको हत्यामा संलग्न देखिएकालाई पक्राउ गर्न रेडकर्नर नोटिससमेत जारी गरिसकेको र सरकारले पक्राउ गरी अदालतसम्म बुझाउने बताए।
ग्लुकोज पानी खाएपछि गंगामायाले आफूले अहिले खाए पनि संघर्ष भने जारी राख्ने बताइन्।
'मैले अहिले खाए पनि मेरो संघर्ष जारी छ,' अस्पतालमा सञ्चारकर्मीमाझ उनले भनिन्, ' सरकारले सहमति पालना गरेन भने फेरि अनशन बस्छु।'
श्रीमान गुमाएको शोक र अनशनले उनको स्वास्थ्य अवस्था नाजुक भएको थियो। पछिल्लो समय ज्वरो आएर उनको अवस्था थप खस्किएपछि शनिबार मानवअधिकारकर्मीसहित सरकारी टोली उनलाई मनाउन अस्पताल पुगेको थियो।
सरकारी टोलीसँग उनले छोराको हत्यामा संलग्नमाथिको कारबाहीको पुनः प्रतिबद्धता मागेकी थिइन्। सरकारी टोली उनको मागप्रति राजी भएपछि कानुन मन्त्री आचार्यले हर्लिक्स खुवाएर उनको अनशन तोडाएका हुन्।
वीर अस्पतालका निर्देशक स्वयंप्रकाश पन्डितले लामो समय अनशनमा बसेकाले तत्काल उनले खाना खान सक्ने अवस्था नभएकाले ग्लुकोज, जीवनजल र दालको रसलगायत खाना दिने बताए। 'उहाँको स्वास्थ्य अवस्था अलि कमजोर नै छ,' उनले भने, 'विस्तारै खाना खुवाउँदै जान्छौं।'
२०६१ जेठ २४ मा एसएलसी परीक्षा दिएर हजुरबा–हजुरआमा भेट्न गोरखा, फुजेलबाट चितवन आएका १८ वर्षीय कृष्णप्रसादको हत्या भएको थियो। बेलुका ८ बजेतिर नम्बर खुल्न नसकेको मोटरसाइकलमा आएको ३ जनाले उनको अपहरण गरी गोली हानेर हत्या गरेका थिए।