काठमाडौ-सरकारले चलाएको बृहत खोप अभियान प्रभावकारी बन्न नसक्दा जापानी इन्सेफ्लाइटिस (जेई) नेपालको पूर्वी क्षेत्रमा देखिन थालेको छ।
सरकारले खोप अभियान सञ्चालन गरिसकेकै मोरङ, झापा, सुनसरी र वरपरका जिल्लामा जापानी इन्सेफ्लाइटिसका ५० भन्दा बढी बिरामी भेटिएका छन्। तीमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु भएकामध्ये अधिकांश बालबालिका रहेको बालस्वास्थ्य महाशाखाले जनाएको छ।
अहिले जेई देखिएका जिल्लामा सरकारले १२ देखि २३ महिनाभित्रका सम्पूर्ण बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत त्यसविरुद्ध खोप दिँदै आएको छ।
महाशाखाका प्रमुख डा. श्यामराज उप्रेतीले खोपको कभरेज कमजोर हुनु, विशेष खोप अभियानले पनि सबैलाई समेट्न नसक्नुजस्ता कारणले पूर्वी नेपालमा बिरामी बढी भेटिन थालेको बताए। उनका अनुसार यो वर्ष झापामा १३, मोरङमा १४, सिरहामा ७ बिरामी भेटिएका थिए। त्यसैगरी नवलपरासी, पर्सा, धनुषा, सप्तरीमा पनि बिरामी भेटिएका छन्।
डा. उप्रेतीले पूर्वका जिल्लामा यसअघि जेई खास समस्याका रूपमा नहरेकाले नियमित विशेष अभियान र नियमित खोप कार्यक्रममा पनि धेरैले खोप नलिँदा ती जिल्लामा रोग फैलिएको हुन सक्ने बताए। उनले यो दरलाई रोकथाम गर्न तत्काल विशेष कार्यक्रम लानुपर्ने बताए।
सन् २००४/५ तिर पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायतका जिल्लामा जेईले महामारीको रुप लिने गरेको थियो। लगतै ती ठाउँमा खोप अभियान सञ्चालन गरिएपछि जेईका बिरामीको संख्या उल्लेख्य घटेको थियो। त्यसपछि सरकारले बढी बिरामी भेटिएका जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो।
नेपालमा पहिलो पटक १९७८ मा रुपन्देहीमा जेई भेटिएको थियो। त्यसपछि सरकारले सन् २००४ देखि निगरानी थालेको थियो। पहिलो वर्ष पश्चिम नेपालमा मात्रै ३ सय ७२ बिरामी भेटिएका थिए। सन् २००५ मा ती क्षेत्रमा ६ सय ६९ जना बिरामी भेटिएका थिए।
सरकारले सन् २००६ देखि बाँके, बर्दिया, रुपन्देही, कैलाली र कन्चरपुरका १ वर्षमाथिका सबैलाई खोप दिएको थियो। तर, त्यसपछि अधिकांश जिल्लामा १५ वर्षभन्दा कम उमेरका मानिसलाई मात्रै खोप दिइएको थियो।
सन् २००७ मा मोरङ, सुनसरी र धनुषामा तथा २००८ मा महोत्तरी, कपिलवस्तु, नवलपरासी, पर्सा, चितवन, भक्तपुर र ललितपुरमा विशेष रूपमा अभियान चलाइएको थियो। त्यसैगरी, २००९ मा सप्तरी, उदयपुर, बारा, रौतहट, सिरहा, काठमाडांै र २०११ मा सर्लाही, मकवानपुर, सिन्धुली, सुर्खेत, धादिङ, काभ्रे, कास्की र पाल्पामा अभियान सञ्चालन गरिएको थियो।
अभियान सञ्चालन भइसकेका ३१ जिल्लामा नियमित खोप कार्यक्रममार्फत १२ देखि २३ महिनाभित्रका बालबालिकालाई जेई खोप दिइरहेको महाशाखाले जनाएको छ। विज्ञहरूका अनुसार धेरैजसो अभिभावकमा बच्चालाई जन्मेदेखि ९ महिनासम्म खोप लगाउनुपर्छ भन्ने धारणा रहेको र जेई खोप १२ महिनापछि २३ महिनाभित्र लगाइने भएकाले पनि अधिकांश बालबालिका छुटिरहेका छन्। 'पश्चिममा जस्तो महामारीको अवस्था नरहेकाले पनि पूर्वमा अभियानका बेला धेरैले खोप लगाएनन्,' उप्रेतीले भने, 'जुन रोग फैलिने कारण बन्यो।'
प्रमुख उप्रेतीका अनुसार अभियान सञ्चालन गर्दा बाँके, बर्दियालगायतका पश्चिम नेपालका जिल्लामा १ वर्षमाथिका जनसंख्याको ९० प्रतिशतसम्म खोप कभरेज थियो। तर, पूर्वी नेपालमा अभियानमा १५ वर्षमुनिका ६० प्रतिशतले मात्रै खोप लिएका थिए। नियमित खोप अभियानमा पनि मुस्किलले ६० प्रतिशत कभरेज छ। 'केस बढी नदेखिएकाले खोप लगाउनुपर्छ भन्ने धारणा पनि पूर्वमा कम छ,' डा. उप्रेतीले भने, 'नियमित खोप अभियानमा पनि पश्चिममा जस्तो पूर्वमा कभरेज छैन।'
चिकित्सकहरूका अनुसार क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने जेईले सीधै मतिष्क प्रणालीमा असर गर्छ। खोप नै लगाएका पनि १० देखि १५ प्रतिशतमा रोगको जोखिम हुन्छ। इन्सेफ्लाइटिस ब्रेनको इन्फेक्सन हो। यसको संक्रमणपश्चात कडा ज्वरो आउने, टाउको दुख्ने, बरबराउने, काप्ने लक्षण देखा पर्छ। जेई लागेपछि उपयुक्त सघन उपचार पाए मृत्युबाट जोगाउन सकिन्छ, तर अपाङ्गता र मतिष्कजन्य दीर्घकालीन समस्याको सम्भावना बढी हुन्छ।
महाशाखाका अनुसार जलवायु परिवतनको असरसँगै उपत्यका लगायतका स्थानमा क्युलेक्स जातका जेई सार्ने लामखुट्टे वृद्धि भइरहेको छ। डा. उप्रेतीले पूर्वमा रोग फैलिने गति यसरी नै बढे विशेष खोप अभियान सञ्चालन गर्नुपर्ने बताए। खोप लगाउनेको सङ्ख्या बढाउन तत्काल चेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए।