पोखरा– अस्ट्रेलियामा बस्ने नेपाली युवाको टोलीले पोखरा १७ सीतापाइलास्थित वृद्धाश्रमलाई पाँच लाख पाँच सय रुपैयाँ सहयोग गरेको छ। असहाय र बेवारिस ज्येष्ठ नागरिकको संरक्षण र सेवा पुर्याउँदै आएको वृद्धाश्रमको निर्माणाधीन भवनलाई उक्त सहयोग प्रदान गरिएको हो।
वी टिम नामको संस्थामा आवद्ध युवाले अस्टे्रलियामा विभिन्न कार्यक्रम गरी उक्त रकम संकलन गरेका थिए। तिहारको अवसरमा आयोजित कार्यक्रमका बीच वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीलाई उक्त रकम वी टिमका प्रकाशमणि लामिछाने, पवन आचार्य, शिक्षासेवी जर्ज जोन र समाजसेवी राजेन्द्रमणि लामिछानेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
वी टिमका प्रतिनिधि प्रकाशमणि लामिछानेका अनुसार टिमले अस्टे्रलियामा प्रतिबिम्व नामको साँस्कृतिक कार्यक्रम गरी उक्त रकम संकलन गरेको हो। उक्त संस्थाले यसअघि पनि लेखनाथ नगरपालिकाका विभिन्न ठाउँमा व्यक्ति तथा संस्थालाई सहयोग गर्नुका साथै केही विद्यार्थीलाई पढाउँदै समेत आएको छ।
टिमले रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रमकै बीच आरभ रानाभाटको पहिलो जन्मदिनका अवसरमा हजुरआमा बेलकुमारी रानाभाटले २५ हजार र खडानन्द लामिछानेले छुट्टै १० हजार रुपैयाँ वृद्धाश्रमलाई सहयोग गरेका थिए। वृद्धाश्रमले दाताहरु वी टिमका अनन्त आचार्य, प्रकाशमणि लामिछाने, रानाभाट परिवारका सदस्य र खडानन्द लामिछानेलाई सम्मान गरेको थियो।
२०५३ सालमा स्थापित पोखरा वृद्धाश्रममा अहिले ५५ जना ज्येष्ठ नागरिक छन्। वृद्धाश्रममा झन्डै २ करोडको लागतमा २० कोठाका सुविधाजनक आवास भवन निर्माण भइरहेको छ। निर्माण कार्यका लागि सहयोग गर्न समेत पोखरा वृद्धाश्रमले जनसाधारणमा अनुरोध गरेको छ।