चितवन– गैंडा मारेर खाग बेचेको मुद्दामा सजाय सुनाइसकेपछि फरार अभियुक्तलाई चितवन निकुञ्जले समाएर बिहीबार भरतपुर कारागार चलान गरेको छ। मकवानपुर हाँडिखोला ४ ठाडोखोला बस्ने विजय लामा गोलेलाई निकुञ्ज टोलीले कात्तिक ५ गते पक्राउ गरेको थियो। उनीविरुद्ध निकुञ्जमा तीनवटा मुद्दा थिए।
निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टीकाराम पौडेलका अनुसार विजयका नाम पनि तीनथरी थिए। २९ वर्षीय विजयलाई माधव तमाङ लामा र मइते गोलेसमेत भन्ने गरिन्थ्यो। उनीविरुद्ध चलेका तीन मुद्दामा गत असार १७ गते फैसला भएको थियो। उनलाई एउटा मुद्दामा १५, एउटामा १४ र अर्कोमा १२ वर्ष कैद सजायको फैसला भएको थियो।
उनले ६५ साल कात्तिकमा पुरानो पदमपुरको घासे मैदानमा र ६६ सालको माघमा भवानीपुर पोस्टदेखि उत्तर घाँसे मैदानमा गैंडा मारेको आरोपसहित निकुञ्जले मुद्दा दायर गरेको थियो। गैंडा मारेर खाग झिकी गोलेले काठमाडौं जोरपाटीमा बस्ने हुम्ला सिमीकोटका छिरिङ पाल्देन लामालाई बेचेका थिए। पाल्देनले खाग चिनियाँ नागरिक हेनालाई बेचेको अनुसन्धानबाट खुलेको थियो।
निकुञ्जले पक्राउ गरेको मकवानपुर बसामाडीका शेरबहादुर खातीको बयानमा उनीहरूको संलग्नता खुलेको हो। विजयलाई ६६ सालमा गैंडा मारेको मुद्दामा १५ वर्ष कैद भए पनि ६५ सालमा गैंडा मारेको मुद्दामा १२ वर्ष कैदसहित एक लाख रुपैयाँ जरिवाना भएको छ। त्यस्तै थप अर्को मुद्दामा १४ वर्ष कैदसँगै ५० हजार रुपैयाँ जरिवाना पनि भएको हो।
फरार विजयलाई निकुञ्ज कार्यालयको चोरी सिकार प्रतिरोध इकाइले पक्राउ गरेको हो। ‘पक्राउ भएपछि हामीले उनको सनाखत गरेका थियौं। उनका एक नभएर तीनवटा नाम थिए। मुद्दा पनि तीनवटै थिए। तीनवटै मुद्दामा उनी नै संलग्न भएको सनाखत गरेपछि कैद पूरा गर्न भरतपुर कारागार पठाएका हौं,' सूचना अधिकारी पौडेलले भने।
दुर्लभ वन्यजन्तु गैंडा मार्नु अपराध हो। गैंडा मारेमा वा त्यसको नाकमाथि हुने सिंग जस्तो अंग खाग बेचबिखनमा संलग्न भएको अपराध प्रमाणित भएमा पाँचदेखि १५ वर्षसम्म कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा कैद र जरिवाना दुवै हुन सक्ने कानुनी व्यवस्था छ। गैंडा मुद्दामा अझै पनि दुई सय अपराधी फरार सूचीमा रहेको निकुञ्जले जनाएको छ।