काठमाडौं– आफ्नो कार्यस्थलभित्र महिला साथीलाई खराब नियतले त हेर्ने अथवा हातै हालेर जिस्क्याउनेलाई अब कानुनले दण्डित गर्ने भएको छ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार रोक्न संसदले कडा कानुन पारित गरेको छ। कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गरेको प्रमाणित भए, दुर्व्यवहार गर्ने कर्मचारीलाई अन्यत्रै सरुवा गर्ने व्यवस्था विधेयकमा छ।
संसदले आइतबार पारित गरेको विधेयकमा आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गर्न नपाइने उल्लेख छ। विधेयकमा यौनजन्य आशयले शरीरको कुनै अंग छोएमा वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, दृश्य, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा यौनजन्य दुर्व्यवहार मानिने उल्लेख छ। यसैगरी यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा, यौनजन्य आशयले जिस्क्याएमा वा हैरानी दिएमा, यौनजन्य कारणले अस्वभाविक व्यवहार प्रकट गरेमा यौनजन्य दुर्व्यवहार गरेरको मानिने विधेयकमा उल्लेख छ।
यौनजन्य दुर्व्यवहार गरेको ठहर भएमा त्यस्ता व्यक्तिलाई कसुरको प्रकृति हेरी तीन महिनासम्म कैद वा २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।