काठमाडौं- सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मलेन हुने दिन मंसिर १० र ११ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले दुई दिन सार्वजनिक बिदा र ७ देखि ११ गतेसम्म चार दिन काठमाडौं उपत्यकाका शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको हो।
सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालका अनुसार बैठकले सार्क शिखर सम्मेलनमा हुने सम्झौताको तयारीका लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई अख्तियारी दिने निर्णय गरेको छ। यस्तै, बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रामकृष्ण पोखरेल, नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यमा टीकाप्रसाद उप्रेती र भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशकमा जगतप्रसाद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ। राष्ट्रिय अनुसन्धान विभागको सह–अनुसन्धान निर्देशकहरू यदुलाल खरेल, राजकुमार अर्याल, यादवप्रसाद रेग्मी र यतिराज पङ्गेनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।