ढाका (बंगलादेश)-भूपरिवेष्ठित नेपालबाट नजिकको समुद्र कुन् हो? उत्तर फरक—फरक हुन सक्छन्। तर, स्थलमार्गबाट जाँदा बंगलादेशको कक्स बजारले छुने 'लावोनी विच' नै सबैभन्दा नजिक हो, जुन समुद्र 'बंगालको खाडी' नामले संसारभर परिचित छ।











काकरभिट्टाबाट च्याङ्ग्राबन्ध—बुरिमारी नाका हुँदै ढाका आइपुग्न जसरी १४ घण्टा लाग्छ, ढाकाबाट चट्गाउं' (चितागोङ) जिल्ला अन्तर्गत पर्ने कक्स बजार पुग्न १० घण्टा मात्रै। अर्थात, नेपाली भूमिबाट बस यात्रामा २४ घण्टाभित्रै समुद्र।
नजिककै समुद्र नियाल्न नेपाली भने कमै आइपुग्छन्। बंगलादेशमै चिकित्सा विज्ञान अध्ययरत झण्डै दुई हजार विद्यार्थीमध्ये धेरैजसो एकपल्ट समुद्र किनार नघुमी स्वदेश फर्कंदैनन्। बंगलादेशमै बस्ने थोरै नेपाली छन्, उनीहरु पनि आइपुग्छन्।

संसारकै लामो सामुद्रिक किनार (१२० किलोमिटर) मानिएको यो ठाउँ घुमाउन धेरैभन्दा धेरै नेपाली ल्याए बंगलादेशी पनि उता जाने पर्यटन व्यवसायी बताउँछन्। स्थानीय व्यवसायी नुरआलम आजाद भन्छन् 'धेरै नेपालीलाई यति नजिकै समुद्र भएको थाहा नहुनसक्छ, थोरै मात्र आउँछन्।'

चटगाउँ को बन्दरगाहबाट एक सय ५१ किलोमिटर दक्षिणमा अवस्थित कक्स बजारमा अत्याधुनिक होटल छन्। नेपाली व्यवसायीले तीसँग समन्वय गरी 'टुर प्याकेज' चलाउनसक्दा दुबैतर्फको पर्यटन विकासमा टेवा पुग्ने आजादको अपेक्षा छ।

'लावोनी विच'सम्मै कालोपत्रे सडक, होटल र लजको पूर्वाधार विकास भए पनि यहाँ घुम्न आउने विदेशी कमै हुन्छन्। बंगलादेशी नागरिक नै बढी आइपुग्छन्। भारतीयको संख्या पनि सिजनमा निकै हुन्छ। समुद्र किनारमा बिहान र साँझ पर्यटकको घुईंचो लाग्छ।






