काठमाडौं– जेब्रा क्रसिङ प्रयोग नगरी जथाभावी बाटो काट्ने पैदल यात्रुलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ। सार्कलाई लक्षित गरी सडकबीच तयार पारिएको बगैंचा पैदल यात्रुले बिगार्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता यात्रुलाई दुई सय रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।
'जेब्रा क्रसिङ र ओभरहेड ब्रिजबाहेक अन्य ठाउँबाट बाटो काट्नेलाई अब कारबाही हुन्छ,' महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले नागरिकन्युजसँग भने, 'उनीहरूलाई दुई सय रुपैयाँ जरिवाना तिराउनुका साथै अनिवार्य ट्राफिक कक्षामा राखिनेछ।' लेन अनुशासन तोड्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेले झैं उनीहरूले पनि ट्राफिक कक्षामा सहभागी हुनुपर्ने अधिकारीले बताए।